यौनहिंसा र बलात्कार विरुद्ध युवा विद्यार्थीले गरे स्थानीय सरकारको ध्यानकर्षण
Published:
by .बिर्तामोड । झापाका विद्यार्थी नेतृले यौनहिंसा र बलात्कार विरुद्ध स्थानीय तहमा ध्यानाकर्षण गराएका छन् ।
अनेरास्ववियु र युवा संघको महिला विभागले आइतबार जिल्लाका चार स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाएको अनेरास्ववियु केन्द्रीय सदस्य निता घतानीले जानकारी दिइन् ।
बढ्दै गएको यौनहिंसा विरुद्ध सचेतना जगाउने उद्देश्यले ध्यानाकर्षण पत्र बुझाइएको उनको भनाई छ । दुई संगठनको महिला विभागले अर्जुनधारा, मेचीनगर, बिर्तामोड र कनकाई नगरपालिकालाई पहिलो चरणमा ध्यानाकर्षण पत्र बुझाएको निर्मला आचार्य (निरु)ले जानकारी दिइन् ।
ध्यानाकर्षण पत्र बुझाउँदै यौनहिंसामा संलग्न दोषीलाई कारवाहीका लागि कडा कानुन निर्माण गर्न, अनुसन्धानलाई द्रुत प्रणाली अपनाउन, महिला हिंसामुक्त स्थानीय तह घोषणा गर्न र महिला हिंसा सुनवाई डेक्स स्थापना गर्न माग गरिएको अनेरास्ववियु महिला विभाग प्रमुख तनुजा दुलालले बताइन् ।
अभियन्ताको ध्यानाकर्षण पत्र बुझ्दै अर्जुनधारा नगरपालिकाका उपप्रमुख कमला आचार्यले यौनहिंसामा संलग्न दोषीलाई कुनै हालतमा उन्मुक्ति नदिइने बताएकी छन् । उनले दोषीलाई सार्वजनिक गरेर कारबाहीको अभ्यासको थालनी गर्ने जानकारी दिइन् ।
यता सोही टोली बिर्तामोड नगरपालिका आएर नगरप्रमुख–उपप्रमुखसहित प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाएका छन् ।
अन्तराष्ट्रिय युवा दिवसमा जिल्लाका अगुवा युवा नेतृत्वले झापामा यौनहिंसा विरुद्ध अभियान सञ्चालन गरेर मनाएका छन् । यो अभियान जिल्लाको सबै स्थानीय तह पुर्याइने युवा संघ केन्द्रीय लेखा आयोग सदस्य अनिता कन्दङवाले बताइन् ।
Comments