‘इन्द्र सचिव’लाई बाह्रदशी गाउँपालिकाको सम्मान
Published:
by .बिर्तामोड । समाजसेवी इन्द्रप्रसाद अधिकारीलाई आज सम्मान गरिएको छ । बाह्रदशी गाउँपालिकाले ‘इन्द्र सचिव’का नामले परिचित अधिकारीलाई नगद ५१ हजार ५ रुपैयाँसहित सम्मान गरेको हो ।
सम्मानित अधिकारी तत्कालीन राजगढ गाविसका सचिव थिए । सचिव रहँदा राजगढको विकासका लागि पुर्याएको योगदानको स्मरण गर्दै सम्मान गरिएको बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीले जानकारी दिएका छन् ।
केही समयदेखि बिरामी भएर स्वास्थ्य लाभ गरिहेका अधिकारीलाई गाउँपालिका परिवारले अधिकारी कै निवासमा पुगेर सम्मान गरेको हो । उनी हाल बिर्तामोड १ मा बसोवास गर्दै आएका छन् ।
सम्मानित अधिकारीलाई गाउँपालिकाका अध्यक्ष राजवंशीसहित उपाध्यक्ष रत्नाकुमारी राजवंशी, प्रमुख प्रशासकीय अधिकृत चित्रप्रसाद गुरागाईसहित वडाध्यक्ष एवम् कर्मचारीहरुले स्वास्थ्य लाभको कामना गर्दै सम्मानपत्र र नगद प्रदान गरेका हुन् ।
समाजसेवी अधिकारीले गरेका सामाजिक कामको स्मरण गर्दै बाह्रदशी गाउँपालिका अध्यक्ष राजवंशीले इन्द्र सविचका नामले परिचित अधिकारी सिङ्गो आदिवासीको संरक्षकसमेत भएको बताए ।
आफ्ना बुवा मोटापानी राजवंशी २०१८ सालमा राजगढको प्रधानपञ्च भएको समयमा अधिकारीकै पहलमा पशुपति माविको जग्गा व्यवस्थापन, प्रहरी चौकी राजगढ र सामुदायिक अध्ययन केन्द्रका लागि १५ कठ्ठा जमिन आफ्ना वुवाले दिएको स्मरण गरे ।
‘इन्द्र सचिवले त्यस बेला आफ्ना बुवालाई जग्गा दिन प्रेरित नगरेको भए अहिलेको राजगढ त्यस्तो हुने थिएन’ गाउँपालिकाका अध्यक्ष राजवंशीले भनेका छन् ‘मेरो बुवा मोटापानीलाई त्यो समयमा हात उठाएर प्रधानपञ्च बनाउनसमेत सचिवको भूमिका अहम थियो ।’
इन्द्र सचिवका नामले परिचित अधिकारीकै पहलमा पशुपति मावि राजगढसहित तीन वटा विद्यालयलाई उतिबेला १०५ विगाह जग्गा व्यवस्थापन गरेको अध्यक्ष राजवंशीले स्मरण गरे । अधिकारीकै पहलमा पशुपति माविको नाममा मात्रै अहिले ९४ विगाह जमिन रहेको बताइएको छ ।
Comments