Sajhamanch Archive

इस्टु–प्याब्सन वार्ता निश्कर्ष विहीन

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा, समाज by .

भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापा र प्याब्सन झापाबीच शिक्षक कर्मचारीको तलव विवाद समस्या हल गर्न आज भएको वार्ता निष्कर्ष विहीन भएको छ ।

२०७७ वैशाखदेखि भदौसम्मको शिक्षक कर्मचारीको तलब सम्बन्धमा भएको दुई पक्षीय वार्तामा प्याब्सनले निर्णय दिन नसकेपछि विना निष्कर्ष टुंगिएको हो । इस्टु झापाको तर्फबाट जिल्ला अध्यक्ष होमराज खतिवडाले २०७७ वैशाखदेखि भदौसम्मको तलव विवाद सम्बन्धमा प्याब्सनको धारणा माग गरेपछि प्याब्सन झापाका अध्यक्ष एलपी उप्रतीले ५ महिनाको तलबबारे निर्णय दिन नसक्ने भन्दै थप गृहकार्यको माग गरेका थिए ।

अध्यक्ष उप्रतीले २०७७ असोजयता शतप्रतिशत तलब दिन विद्यालय सञ्चालक तयार रहेको भन्दै अगाडिका ५ महिनाको तलवको विषय छाँयामा परेको बताएका छन् । वार्तामा इस्टु प्रदेश १ का अध्यक्ष यादवप्रसाद अधिकारीले कम्पनी ऐन तथा शिक्षा ऐनको परिधिमा रहेर विद्यालय सञ्चालन गर्न प्याब्सन तयार हुनुपर्ने भन्दै तलब दिन सकिँदैन वा दिन्नौ भन्ने अधिकार कुनै पनि विद्यालय सञ्चालकलाई नरहेको प्रष्ट पारेका छन् ।

२०७७ वैशाखयता आन्दोलनमा उत्रिएका शिक्षक कर्मचारीका माग सम्बन्धमा विद्यालय सञ्चालक सकारात्मक नहुँदा निजी विद्यालयमा कार्यरत शिक्षक कर्मचारी गर या मरको निर्णायक आन्दोलनको चरणमा पुगेका छन् ।

कम्पनी ऐन अनुसार सञ्चालनमा रहेका निजी विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूले ६ महिनायता नियमित पारिश्रमिक पाउन सकेका छैनन् भने शिक्षक कर्मचारीप्रति जिम्मेवार हुन नसकेका सञ्चालक तथा प्याब्सन, एन प्याब्सनका गतिविधि विरूद्ध आन्दोलित भएको युनियनले तलव भुक्तानी हुनुपर्ने एक सुत्रीय माग राखेर सडकमा उत्रिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *