सिडिओलाई उपभोक्ता हित संरक्षण मञ्चको ज्ञापन
Published:
by .भद्रपुर । उपभोक्ता मारमा परेको ठहर गर्दै उपभोक्ता हित संरक्षण मञ्च नेपाल प्रदेश १ समिति र बिर्तामोड नगर समितिले जिल्ला प्रशासन कार्यालय झापालाई ध्यानार्कषण गराएको छ ।
प्रदेश समितिका सदस्य यमनाथ बिमली र बिर्तामोड नगर समितिका अध्यक्ष ओमभक्त सेढाईले १६ बुँदे ज्ञापनपत्र झापाका प्रमुख जिल्ला अधिकारी श्रावणकुमार तिमिल्सिनालाई बुझाएका हुन् ।
कोरोना कहरले बजारमा कृतिम अभाव, कृतिम मूल्य निर्धारण, गुणस्तरहीन वस्तु र सेवाको उत्पादन, नापतौलमा ठगी, तरकारी खाद्यान्न जस्ता वस्तुमा विषादी प्रयोग र अखाद्य वस्तुको बिक्री, सिन्डीकेट, कार्टेलिङ्ग, कालोबजारी, एकाधिकारपूर्ण व्यापारिक क्रियाकलापहरुले उपभोक्ता शिकार हुनु परेको मञ्चले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापनपत्रमा कोरोना महामारीले बजारमा कालोबजारी मौलाएकाले तत्काल बजार अनुगमनलाई प्रभावकारी बनाउनु पर्ने, चाडपर्व लक्षित नभई अन्य समयमा पनि बजार अनुगमन गर्नुपर्ने लगायत ध्यानकर्षण गराइएको छ ।
मुलुकका प्रतिष्ठित व्यापारी एवम् अवैतनिक व्यक्तिहरु समेत स्वास्थ्य सामग्रीको कालोबजारीमा सक्रिय रहनु, चिनीको आयातमा परिमाणात्मक बन्देजपछि एक्कासी चिनीको मूल्य बृद्धि हुनु, ३० देखि ३५ रुपैयाँमा बजारमा अहिले खुद्रामा बिक्री भइरहेको पानीको खुद्रा मूल्य ५० रुपैयाँ तोकिनुलाई मञ्चले असामान्य परिवर्तन बताएको छ ।
ज्ञापनपत्रमा बुझ्दै प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले स्थानीय तहसँगको सहकार्यमा अहिले बजार अनुगमनलाई तिब्रता दिएको जानकारी गराए ।
Comments