Sajhamanch Archive

सिंगापुरको योजना कोभिड–१९ ले बेरोजगार भएको भए सन्तान जन्माउ, पैसा लैजाउ

Published: in मिडियाबाट साभार, मुख्य समाचार, विश्व समाचार by .

सिंगापुर । कोरोना भाइरस (कोभिड– १९) महामारीले धेरै क्षेत्रमा संकट थपेको छ । मानव जीवनले सम्भवतः इतिहासमै पहिलोपटक यति ठूलो संकटको सामना गरिरहेको छ । तर एसियाकै एउटा देश सिंगापुरले भने यही संकटको फाइदा उठाउने योजना बनाएको छ । विश्वमै न्यून जन्मदरको समस्या झेल्दै आइरहेको सिंगापुरले कोरोना महामारीको समयमा जन्मदर बढाउन आफ्ना नागरिकलाई प्रेरित गर्ने भएको छ ।

यसका लागि सिंगापुर सरकारले ‘पान्डेमिक बेबी बोनस’को योजना सार्वजनिक गरेको छ । जसअन्तर्गत नवजात शिशुका अभिभावकलाई दिइने रकम चाँडै सार्वजनिक गर्ने सिंगापुर सरकारले जनाएको छ । सिंगापुरमा नागरिकहरू आर्थिक व्यवस्थापनका लागि लामो समयसँग काम गर्ने गर्छन् । यसले गर्दा उनीहरूले सन्तान जन्माउने र हुर्काउने समय नै पाउँदैनन् । यही कारण न्यून जन्मदरको समस्या देखिएको हो ।

कोरोना महामारी सुरु भएपछि आर्थिक रूपमा धेरैको अवस्था अझ दयनीय बनेको छ । यो अवधिमा धेरैले जागिर गुमाएका छन् । यसले गर्दा उनीहरू आर्थिक रूपमा थप समस्यामा त परेका छन् नै, साथै फुर्सदिला पनि बनेका छन् । सिंगापुर सरकारले उनीहरूको यही फुर्सदिलो समय सदुपयोग गरेर जन्मदर वृद्धि गर्ने प्रयासस्वरूप आफ्ना नागरिकका लागि आर्थिक सहायतासहितको बेबी बोनस घोषणा गरेको हो ।

‘कोरोना संक्रमणका कारण केही अभिभावकले बच्चा जन्माउने आफ्नो योजना अहिलेलाई थाती राख्ने निर्णय गरेको सूचनाहरू हामीले पाएका छौँ’ सिंगापुरका उपप्रधानमन्त्री हेङ स्वी किटले सोमबार योजना सार्वजनिक गर्दै भनेका छन्, ‘उनीहरूको आर्थिक अवस्था उकास्न सहयोग गर्दै अभिभावक बन्ने योजनामा सहयोग पुर्याउने निर्णय भएको छ । यसले देशले लामो समयदेखि व्यहोर्दै आएको न्यून जन्मदर समस्या समाधान हुनेछ ।’

उपप्रधानमन्त्री हेङले त्यस्ता अभिभावकलाई दिइने रकम चाँडै सार्वजनिक गरिने जनाएका छन् । सिंगापुर विश्वमै कम जन्मदर भएको देश हो । सिंगापुरले दशकदेखि यो समस्या समाधानका लागि प्रयास गरिरहे पनि सफलता हात पार्न सकेको छैन ।

सिंगापुरको अहिलेको व्यवस्थाअनुसार बच्चा जन्मिएपछि अभिभावकले १० हजार सिंगापुर डलर प्राप्त गर्छन् । सरकारले घोषणा नगरे पनि नयाँ योजनामा रकम योभन्दा धेरै नै हुने अनुमान गरिएको छ । सन् २०१८ मा सिंगापुरको जन्मदर घटेर पछिल्लो आठ वर्षयताकै कम बनेको थियो । सो तथ्यांकअनुसार सिंगापुरमा प्रतिमहिला १।१४ मात्रै जन्मदर देखिएको थियो । सुरुवातबाटै झेल्दै आएको यो समस्या कोरोना भाइरस संकटको समयमा अझ बढ्ने देखिएको छ ।

न्यून जन्मदरको समस्या भोगिरहेको अर्को एसियन राष्ट्र जापानले पनि युवायुवतीलाई विवाहप्रति आकर्षित गर्ने उद्देश्यले आर्थिक सहायताको योजना ल्याएको छ । अर्को एसियन राष्ट्र चीन पनि न्यून जन्मदरको समस्यासँग जुध्दै आइरहेको छ ।

इन्डोनेसिया र फिलिपिन्समा जन्मदर बढ्ने चिन्ता

सिंगापुरसँगै जापानले पनि न्यून जन्मदरको समस्या व्यहोर्दै गर्दा इन्डोनेसिया, फिलिपिन्सजस्ता देशमा भने जन्मदर ठूलो अन्तरमा बढिरहेको छ । यी दुई देशमा कोरोना भाइरस संक्रमण र त्यसका कारण धेरै मान्छे घरभित्रै बस्नुपरेको अवस्थामा जन्मदर वृद्धि अझ बढ्ने अनुमान गरिएको छ ।

चीन पनि न्यून जन्मदरको चिन्तामा

यो वर्षको सुरुवातमा चीनमा ७० वर्षअघि पिपुल्स रिपब्लिक अफ चाइना गठन भएदेखि यताकै सबैभन्दा न्यून जन्मदर देखिएको थियो । चीनले धेरै नै आलोचना भएको एक सन्तान नीतिलाई रद्द गरिसकेको छ । त्यसका बाबजुद पनि जन्मदर बढ्न सकिरहेको छैन ।

फिलिपिन्सको फरक समस्या

सिंगापुरका केही छिमेकी देशले भने यसको ठीक विपरीत समस्या भोग्दै आइरहेका छन् । फिलिपिन्समा यो वर्षको अन्त्यसम्म हिँडडुलमा बाधा भइरहने हो भने अनिच्छुक गर्भाधानको घटना २६ लाखसम्म पुग्ने अनुमान संयुक्त राष्ट्रसंघ जनसंख्या कोषले गरेको छ । फिलिपिन्सस्थित संयुक्त राष्ट्रसंघ जनसंख्या कोषका प्रवक्ता एइमी सान्तोस भन्छिन्, ‘यो संख्या आफैँमा महासंकट हो ।’

फिलिपिन्स दक्षिणपूर्वी एसियाकै धेरै जनसंख्या हुने दोस्रो देश हो । संक्रमण चाँडै नियन्त्रणभित्र आउने सम्भावना पनि देखिएको छैन ।

‘महिला र बालबालिका यी समस्या संकटमा अदृश्य नै रहन्छन् । यसले पछि ठूलो समस्या निम्त्याउन पनि सक्छ । त्यसैले अहिले उनीहरूको यो समस्या अघि ल्याउने समय पनि हो,’ फिलिपिन्सका सांसद रिसा होन्तिभेरोस बताउँछिन् ।

नयाँपत्रिकाबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *