Sajhamanch Archive

झापामा बालबालिका, शिक्षा र सञ्चार जोड्ने क्लब गठन

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा, समाज, स्थानीय तह by .

झापा । झापामा बालबालिका तथा शिक्षा सञ्चार मञ्च नेपाल नामक संस्था गठन गरिएको छ । पालिकाहरुले बालबालिकाका लागि के गरिरहेको छ अनि तिनको शिक्षाको उचित प्रबन्ध गर्न कस्तो व्यवस्था मिलाएको छ भनी खोजमुलक समाचार प्रवाह गर्न स्थानीय तहसँग हातेमालो गरी अघि बढ्ने उद्दश्यले संस्था गठन गरिएको हो ।

बिर्तामोड नगरपालिकाको सभाहलमा आज सम्पन्न अन्तरसम्वाद कार्यक्रमका बीच बालअधिकारकर्मी तथा सञ्चारकर्मी सरोज पौडेलको संयोजकत्वमा १६ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । समितिमा १५ वटै पालिकाबाट कम्तिमा १–१ जना पत्रकार सदस्य रहने गरी तदर्थ समिति गठन गरिएको हो ।

कार्यसमितिमा अर्जुनधाराबाट शुष्मा त्रिखत्री र पुष्पा लिम्बू, मेचीनगरबाट प्रकाश पौडेल, बुद्धशान्तिबाट आयुष निरौला, भद्रपुरबाट द्रोण अधिकारी, गौरीगञ्जबाट आत्माराम राजवंशी, हल्दिबारीबाट नेत्र बिमली, गौरादहबाट सृजन घिमिरे, कचनकबलबाट घनश्याम अर्याल, कनकाईबाट चन्द्र बस्नेत, कमलबाट उमानाथ भण्डारी, झापाबाट केशव चापागाई लगायत रहेका छन् । आगामी कार्तिक १ गते बिर्तामोडमा बस्ने मञ्चको पहिलो बैठकले समितिलाई पूर्णता प्रदान दिने बताइएको छ ।

बिर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उनले सडक बालबालिकाको व्यवस्थापन र उनीहरुलाई उचित शिक्षाको पहुँचमा पुर्याउन स्थानीय सरकारले प्रभावकारी रुपमा काम गरिरहेको जिकिर गरेका छन् । नवगठित बालबालिका तथा शिक्षा सञ्चार मञ्च नेपालले बालबालिका र शिक्षाको क्षेत्रमा स्थानीय तहसँग पूलको काम गर्नुपर्ने सुझावसमेत प्रदान गरेका छन् ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाई, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, पत्रकारहरु गोपाल काफ्ले र तीर्थ सिग्देलले क्लबको कार्य सफलताको शुभकामना दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *