Sajhamanch Archive

दूधमा पानी मिसाउनेहरु आफैं पछुताउँछन्

Published: in मुख्य समाचार, विचार/ब्लग, समाज, सहकारी, by .

नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले डेरी उद्योगको स्थापना गरेपछिको एउटा राम्रो चुनौती थियो, उद्योगले पानी नमिसाएको दूधमात्र किसानबाट लिनु । यो कुरा शुरुमा धेरैका लागि असम्भवजस्तै थियो । तर हामीले प्रविधि बुझेका थियौं र शुद्ध (पानी नहालेको) एवम् स्वच्छ (फोहर नमिसिएको) दूध लिन सक्छौं भन्ने विश्वास थियो । चलेको चलन भनेको दूधमा थोरै भए पनि पानी हालेरै बेच्ने । यो चलनले सामाजिक मान्यतासमेत पाएको कारण शुद्ध दूधको चरित्र दूध किनेर खानेले बिर्सिएको अवस्था थियो । स्वच्छ दूधको बारेमा खासै चर्चा हुँदैन थियो । दूधमा गोबरको अंश, घाँस परालका टुक्रा भेटिनु सामान्य मान्ने चलन थियो । मसिनो जाली वा कपडाले छानेपछि नाङ्गो आँखाले देख्ने फोहर छानिन्थ्यो ।

पानी नमिसाएको दूध खान त बाछो वा पाडो भएर जन्मनुपर्छ सम्म भनेको सुनेको थिएँ । यहाँका अधिकांश किसानले वर्षौंदेखि दूध बेच्दा धेरथोर पानी हालेरै बेचेको परम्परा र चलन नै थियो । यस्तोमा दूध किन्ने र बेच्नेका बीचमा बेलाबेलामा झगडा परिरहन्थ्यो । यस्तो झगडालाई स्वाभाविक मानिन्थ्यो । किसानले हाकाहाकी दानाचोकरको भाउ बढ्यो अब दूधको भाउ बढाउँछौ कि म बढाउँ भन्थे भनेको सुनेको थिएँ । म बढाउँ भनेको पानी अझै बढाउँछु भनेको हो रे ! दूध किन्ने चुप लाग्यो भने पानी बढाउँदा हुन्छ भन्ने मान्थे रे ! आखिर जति नै बढी पैसा दिए पनि पानी मिसाउन छाड्ने होइनौ भन्ने बुझिन्थ्यो ।

दूधमा पानी मिसाउने गरेको बारेमा एकजना किसानले आफ्नो अनुभव यसरी सुनाएका थिएः एक दिन गाई दुहुँदादुहुँदै दूध लिने मान्छे आइपुगेछन् । उनकै अगाडि पानी थप्न मिलेनछ । उनले त्यो दिन शुद्ध दूध लिएर गएछन् । त्यो दिन दूध लाने मानिसलाई ती किसान र उनकी श्रीमतीले निकै पर पुगुञ्जेल हेरेर सराप्तै आज बाछाले खाने दूध लिएर गयो भनेर मन दुखाए अरे । उनले फेरि थपेः एनएमसीलाई दूध दिन थालेपछि पानी मिसाउनु परेन । अहिलेको अवस्था आउँछ भनेर त कल्पनै गरेको थिइँन । अहिले पानी नमिसाउँदा सन्तुष्ट छु ।

डेरी उद्योग शुरु गर्दा दूधमा पानी मिसाए नमिसाएको छुट्याउने मेशिन मिल्क एनालाइजर आइपुगेको थिएन । शुरुमा जस्तो आयो त्यस्तै दूध खरिद गर्नुको विकल्प भएन । दूध कमजोर गुणस्तरको भएको कारण हामीले बनाउने प्रोडक्ट पनि कमजोर नै भएका थिए । बजारमा शुरुमै समस्या भयो । यो समस्या समाधानका लागि दूधको गुणस्तर राम्रो बनाउनुको विकल्पै थिएन । त्यसैले दूधको क्वालिटी सुधार्न मेशिन चाँडै मगायौं र दूध जाँच्न शुरु गर्यौं । किसानले ल्याएको दूधमा पानी नमिसाएको भेट्टाउनै मुस्किल थियो । दशदेखि ३० प्रतिशत पानी मिसाएको पाइयो । किसानलाई यो कुरा बुझाउन एकदमै मुस्किल भयो ।

‘तपाईले ल्याएको दूधमा यति प्रतिशत पानी छ, भोलिदेखि सुधार गर्नु होला’ शुरु शुरुमा हामीले किटानीका साथ भनिदियौं । पानी हालेको छैन भन्थे । अर्को दिन तिनै किसानको दूधमा पानीको प्रतिशत कम हुन थाल्यो । अझै यति प्रतिशत पानी छ भन्न छाडेनौं । शुद्ध दूध दिँदा किसानले मूल्य कम पाउने सम्भावना देखेपछि हामीले तुरुन्तै दूधको मूल्य बढायौं । यसोगर्दा किसानले शुद्ध दुध दिँदा राम्रै मूल्य पाउँथे । तथापि लागेको बानी न हो, किसानले पानी हाल्न बल गरिरहे । पानी हालेकै छैन, मेशिन बिग्रेको होला भनेर जिद्धि गर्थे । यहीबीचमा केही किसानको दूधमा पानी शून्य देखिन थाल्यो । यसले हामीलाई सजिलो भयो । लाइनमा बसेका किसानकै दूधमा कसैको जिरो, कसैको १० र कसैको २० प्रतिशत देखाएपछि बुझाउन सजिलो हुँदै गएको थियो ।

एनएमसीले दूधको मूल्य बढाएपछि दूध दिन धेरै किसान आउन थाले । वैसाख–जेठ महिनामा अलि बढी नै दूध उत्पादन हुने समय रहेछ । हामीले पहिले दूधको नमूना ल्याउनु पर्ने, त्यसको जाँच गरेर मूल्य बताएपछि र दूधको गुणस्तर हेरेपछि मात्र लिने गरेका थियौं, छौं । एकदिन गाउँका भलादमी तीनजना मित्रहरुले दूधको नमूना (३–४ लिटर) लिएर आएका थिए । तीनैजना मेरा चिनजानका थिए । एक जनाकोमा पानी मिसाएको देखिएन, अर्का एक जनाकोमा १० र अर्काकोमा २० प्रतिशत पानी देखियो । पानी मिसाएको दूध ल्याउनेहरुको मुख लाजले रातो भयो । ‘पानी त हालेको थिएन त’ २० प्रतिशत वालाले भने । हामीले धेरै बोल्नै परेन यति भन्यौं खोई ! उहाँकोमा पानी देखाएन, तपाईहरुकोमा मात्रै देखायो । उनीहरु मुखामुख गरे, बिस्तारै साउती गरेको सुनियो ‘हैन यो मेशिनले पानी पत्ता लाउने रहेछ ।’ ती कसैले पनि फेरि डेरीमा बिक्रीका लागि दूध ल्याएनन् ।

अर्को एउटा घटना उल्लेख गर्न लायक छ । एकजना राजनीतिमा लागेका आफूलाई किसान नेताको रुपमा चिनाउने किसानले भैंसी पाल्नु भएको छ । उहाँले ल्याउने दुृधमा पानी देखिने गरेको थियो । सधै सम्झायौं । पानी किन हाल्ने, पानीको पैसा पाउनु हुन्न । दूधमात्रै खराब हुन्छ । शुद्ध दूध दिँदा पैसा बढी नै हुन्छ भन्यौं । पत्याएकै थिएनन् । उनले एकदिन अलि अनौठो काम गरे । दूध लिएर आए । दूधको जाँच भयो । शुद्ध थियो । पैसा जोडियो । त्यसपछि नरिसाउनु है, म प्रयोग गर्छु भनेर हाम्रै अगाडि डेरी उद्योगबाटै पानी ल्याएर मिसाए । अब फेरि दुध जाँचौ भने । जाँचियो । मूल्य निकालियो । उनले पानी मिसाउनुभन्दा पहिलेको मूल्यमा एक पैसा पनि थपिएन । त्यसपछि उनी ढुक्क भए । भने– ‘बेकारमा पानी बोकिएछ ।’ मज्जाले हाँसे । त्यसपछि उनले दूधमा पानी हाल्न छाडे ।

खुट्टीडाँगी संकलन केन्द्रमा २० जना जति किसानको दूध संकलन हुने गरेको थियो । केही किसानले दूधमा पानी मिसाउन छाडेका थिएनन् । जति सम्झाए पनि नमान्ने । पानी हालेकै छैनौ मात्रै भन्थे । हामी तीनजना नारायण कोइराला, श्याम मिश्र र म एक दिन बिहानै गाई दुहुनुभन्दा पहिला नै किसानका घरघरमा पुग्ने गरी गयौं । हामी तीनवटा घरमा बाँडियौं । सबैलाई हामीलाई देखाएर मात्रै गाई दुहुन भन्यौं । म जुन घुरमा पुगें त्यहाँ गोठ र घर निकै फोहर थियो । दुहुने भाँडा, थुनमा लाउने चिल्लो फोहर हुने नै भयो । यसमा सुधार गर्नुपर्छ भनें । ल गाई दुहुनु होस् भनें । उनलाई निकै अप्ठ्यारो महसुस भएको बुझिन्थ्यो ।

एकछिन आलटाल गरे । केही नलागे पछि दूध दुहुने ढुङ्ग्रो लिन भित्र गए । ढुङ्ग्रो लिएर गाई दुहुन पछाडिको बाटो भएर आए । जुन स्वभाविक थिएन । बाटो अगाडि नै थियो । दुहुन लाग्नै आँटेका थिए म नजिकै गएर ढुङ्ग्रो घोप्ट्याउन भनें । उनले झर्किएर घोप्ट्याए । ढुङ्ग्रोमा भएको पानी भुइँमा पोखियो । उनले त्यसको रिस गाई र बाछामा पोखे । दूध घरभित्र लान खोजे । भित्र नलानु यतैबाट लिएर जाउँ दूध जाँच गर्नुपर्छ । गाईमा पनि खराबी हुन सक्छ । तपाईको दूधमा सधैं पानी देखिएकाले जाँच्न घरमै आएका हौं भनें । यो तपाईको र दूधको होइन, गाईको जाँच हो भनें । उनी अँध्यारो मुख लगाएर दूध बोकेर मसँगै कलेक्सन केन्द्रमा आए । दूध जाँचियो । पानीको मात्रा शून्य देखियो । उनले पाउने मूल्य हिसाब गरेर देखाइयो । दूधको मूल्य बढेको थियो । अरुतिर पनि लगभग यस्तै भएको थियो ।

डेरीको कलेक्सन केन्द्रमा दूध ल्याउने किसान पनि थरिथरिका हुन्छन् । १०–१२ लिटर दूध बेच्न ल्याउने किसानले दुईवटा डिब्बामा दूध ल्याउने गर्थे । किन दुई दुईवटामा गर्नु भएको एउटैमा ल्याउनु सजिलो हुन्छ भनेको ठूलो भाँडो छैन भने । सधैं नै सानो डिब्बाबाट दूधको नमूना निकालेर जाँच गर्न दिने र सबै दूध घोप्ट्याउने गर्दा रहेछन् । एक दिन शंका लागेर हाम्रो कर्मचारी शेखरजीले आफैं नमूना लिने भनेछन् र ठूलो डिब्बाबाट नमूना लिएछन् । किसानले सानोबाट लिनु न भनेर निकै कर गरेछन् । शेखरले मान्ने कुरै थिएन । ठूलो डिब्बामा पानी मिसाएको दूध ल्याउने र सानो डिब्बामा शुद्ध दूध ल्याएर नमुना दिने गरिएको पत्ता लाग्यो ।

एकजना अलि ठूलै किसानको गोठबाट दूध उठाउने गरेका थियौं । ती किसानका गोठमा गाई भैंसी दुवै पालेका र दुहुना थिए । किसानले भैंसी र गाईको दूधको नमूना बेग्ला बेग्लै पठाउँथे । दूध संकलन गर्ने हाम्रो गाडीमा अरु ठाउँको पनि दूध ल्याउनु पर्ने भएकाले उनको दूध हाम्रो गाडीको ठूलो भाँडोमा मिसाएर ल्याउने गरेको थियो । ती किसानको गोठबाट दैनिक १५० लिटर जति दूध आउने गरेको थियो । भैंसीको ६० लिटर र अरु गाईको भनेर आउने गरेको थियो । एनएमसीका सदस्यले नै एकदिन खबर गरे कि उनकोमा त अहिले दुहुना भैंसी एक दुईवटा होलान् । दूध कसरी ६० लिटर आउँछ भनी जानकारी गराए । पहिला हामी गोठमा गएको बेला ८–१० वटा भैंसी बाँधेको देखेकाले पत्याएका थियौं । सूचना पाएपछि हामी म, नारायण कोइराला र श्याम मिश्र उनको गोठमा २ बजेतिर पुग्यौं । बस्यौं । केहीबेरमा गोठ मालिक किसान पनि आए । हामी गफ गरेर अलमल गरिरह्यौं ।

हामीले कतिवटा भैंसी दुहुन्छन् हेर्नु थियो । ३ बजेबाट गाई भैंसी दुहुन शुरु गर्थे । हाम्रो डेरी उद्योगको गाडी दूध संकलन गर्न साढे ४ बजेतिर जाने गथ्र्यो । उनकोमा जम्मा दुईवटा भैंसी दुहुना रहेछन् र एक साँझमा ७ लिटर जति हुँदोरहेछ । यस हिसाबले दैनिक १५ लिटरभन्दा बढी हुँदैन थियो । भैंसीको दूधमा फ्याट बढी हुने भएकाले मूल्य बढी हुन्थ्यो र गाईको दूधलाई भैंसीको भनेर पठाउने गरेको पत्ता लाग्यो । गोठ मालिक किसानलाई किन यस्तो काम गर्नुभयो भनेको खोइ म त त्यति हेर्दिनथेँ, केटाहरुले के के गरे भनेर तर्किए । डेरी उद्योगलाई दूधको अभाव नै थियो । तर यसरी ठगेको देखेपछि भोलिदेखि दूध लिन आउँदैनौं भन्यौं । उनले कुनै अप्ठ्यारो मानेनन् ।

यी केही उदाहरण हुन् । दूधमा पानी हाल्ने चलन बदल्न निकै मेहनत गर्यौं र यसमा सफल भयौं । अहिले एनएमसीलाई दूध बेच्ने हो भने पानी हाल्नु हुँदैन भन्ने मान्यता स्थापित भएको छ । तर अरुतिर बेचिने दूधमा अहिले पनि यो चलन बदलिएको जस्तो लागेको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *