स्वर्गीय सुकमतिका परिवारलाई सिम्रिकको साथः १० लाखभन्दा बढी राहत सहयोग
Published:
by .बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्थामा बजार प्रतिनिधिका रुपमा कार्यरत रहँदै निधन भएकी सुकमती राजवंशीको परिवारलाई संस्थाले ६ लाख २९ हजार ५०० रुपैयाँ कर्जा मिनाहा गरिदिएको छ ।
मेचीनगरको इटाभट्टास्थित राजवंशीको घरमा पुगेर परिवारजनमा समवेदना व्यक्त गर्दै सिम्रिक साकोसले सुकमतिको काजकिरिया खर्चका लागि ३० हजार रुपैयाँ राहत सुविधा पनि प्रदान गरेको छ । सुकमतिले संस्थाबाट लिएको कर्जा १० लाख २९ हजार मध्ये संस्थामा रहेको बचत एवम् सुविधाहरु कटाएर ६ लाख २९ हजार ५०० रुपैयाँ कर्जा मिनाहा घोषणा गरेको हो ।
मेची सेवा केन्द्र काँकरभिट्टाका बजार प्रतिनिधि सुकमतिको यही असोज १४ गते २९ वर्षको उमेरमा असामयिक निधन भएको थियो । संस्थाका सचिव सुवास भट्टराईले श्रद्धाञ्जली सभाको सहजीकरण गर्दै सिम्रिकमा काम गर्दागर्दै असामयिक निधन भएकी सुकमतिका छोराछोरीलाई कक्षा १२ सम्म अध्ययन गर्न संस्थाले तीन लाख रुपैयाँ मुद्धति बचत गरिदिने घोषणा गरेका छन् । सोबाट प्रत्येक वर्ष प्राप्त हुने ३३ हजार रुपैयाँ ब्याजले नानीहरुको पढाइमा भरथेग गर्ने संस्थाको विश्वास रहेको भट्टराईको भनाई छ ।
यसरी नै बच्चाहरु साबालक भएपछि उक्त रकम फिर्ता दिइने तथा स्नातक तह अध्ययन गर्न सहजताका लागि मासिक दुई हजार रुपैयाँका दरले बचत गरिदिने घोषणा गरिएको छ । वार्षिक २४ हजारका दरले १५ वर्षसम्म बचत गरिदिने संस्थाको निर्णय सुनाउँदै भट्टराईले सहकारीमा काम गर्ने कोही कसैको परिवारमा संकट आउँदा सिम्रिकले पूर्ण अभिभावकत्व लिने गरेको प्रष्ट पारे ।
संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतले सुकमतिका परिवारलाई काजकिरिया खर्च र समवेदनापत्र हस्तान्तरण गर्दै राजवंशी परिवारको साथमा सिम्रिक रहेकोले धैर्य गर्न आग्रह गरे । जसरी राजवंशी परिवारमा सुकमतिको अभाव खड्किएको छ, त्यसरी नै सिम्रिक परिवारमा पनि अभाव भयो, यो अपुरणनीय क्षतिमा सबैको मन रोएको अध्यक्ष बस्नेतले बताए ।
‘सुकमतिको नाममा संस्थाबाट लिइएको कर्जा अझै बाँकी रहने हो भने उनको आत्माले कहिल्यै शान्ति पाउँदैन, सधैभरि ऋणमा डुवाएर मरी भन्ने टिप्पणी भइरहने हुन्छ । त्यसैले सिम्रिक साकोसले ऋणि सदस्यको नाममा रहेको उक्त रकम कर्जा मिनाहा गरिदिएको हो, ताकि राजवंशी परिवारलाई भोलिका दिनमा कर्जा तिर्न नसकेर अर्को समस्या नआओस्’ अध्यक्ष बस्नेतले ऋण मिनाहाको अन्तर्य खुलाए ।
Comments