Sajhamanch Archive

संजिवनीको नाफा साढे ६६ लाख, न्यून प्रशासनिक खर्चमा उत्कृष्ट सेवाको दावी

Published: in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by .

बिर्तामोड । स्थापनाको तेह्रौं वर्षमा यात्रारत बिर्तामोडस्थित संजिवनी बचत तथा ऋण सहकारी संस्थाले कोरोना कहरका बीचमा पनि शेयर, निक्षेप, कोष तथा ऋण लगानीमा सकारात्मक परिणाम ल्याएको छ ।

१३औं वार्षिक साधारणसभाका लागि तयार गरिएको प्रतिवेदनका अनुसार गत आर्थिक वर्षभन्दा ११ दशमलव ८९ प्रतिशतले शेयर वृद्धि भई दुई करोड ४७ लाख ३० हजार ५०० रुपैयाँ पुर्याइएको छ । त्यस्तै, संस्थाको निक्षेपमा २१ दशमलव ०९ प्रतिशतले वृद्धि भई १८ करोड ५६ लाख ९८ हजार १४१ रुपैयाँ मौज्दात रहेको उल्लेख छ ।

गत आर्थिक वर्षमा लगानीमा रहिरहेको कर्जामा पनि २१ दशमलव ७८ प्रतिशतले वृद्धि भई २७ करोड दुई लाख ९० हजार ६७० पुर्याइएको छ भने कोषमा ४३ दशमलव ५१ प्रतिशतले वृद्धि भई एक करोड ९२ लाख ९४ हजार २५३ रुपैयाँ बनाइएको छ ।

सदस्य सेवामा सदैव समर्पित रहने प्रतिवद्धता गरेको संजिवनीले सदस्य उपचार कोष कार्यविधि २०७३ र २०७५ का आधारमा आफ्ना सदस्यहरुलाई उपचार खर्च सुविधा प्रदान गरेको छ । समीक्षा अवधिमा सदस्य उपचार कोष कार्यविधि २०७३ अन्तरगत २५ जनालाई एक लाख आठ हजार ३२५ रुपैयाँ र २०७५ अन्तरगत २० जनालाई पाँच लाख ६५ हजार ४८८ रुपैयाँ सुविधा प्रदान गरिएको प्रतिवेदनमा उल्लेख छ ।

गत आर्थिक वर्षको चैतबाट सरकारले लकडाउन गरेका कारण प्रस्तावित धेरै कार्यक्रमहरु सम्पादन गर्न नसकिएको अध्यक्ष यामकुमार चुडाल बताउँछन् । सहकारी शिक्षा कार्यक्रम, अवलोकन भ्रमण, रक्तदान कार्यक्रम एक–एकपटक गरिए तापनि थप कार्यक्रम गर्न नपाइएको उनले बताए ।

नेपाल सरकारले तोकेको भन्दा धेरै तलव तथा भत्ता दिएर कर्मचारीहरु खटाए पनि संस्थाको प्रशासनिक खर्च अन्य सहकारी संस्थाहरुको तुलनामा निक्कै कम हुने गरेको अध्यक्ष चुडालको भनाई छ । सदस्यहरुको विश्वास र संस्थाले कार्यान्वयनमा ल्याएको बचतका प्रोडक्टहरुलाई मन पराएकै कारण समीक्षा वर्षमा पनि शेयरधनीहरुले अपेक्षाकृत राम्रो शेयर बोनस पाउने उनले बताए । समीक्षा वर्षमा संजिवनीले ६६ लाख ५० हजार खुद नाफा कमाएको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ ।

संस्थाको १३औं वार्षिक साधारणसभाको प्रतिवेदन सबै सदस्यको हातहातमा पुगिसकेको र उहाँहरुबाट पनि केही रचनात्मक सुझाव आएको व्यवस्थापक कृष्णप्रसाद खरेलले जानकारी दिएका छन् । सदस्यहरुबाट आएका सुझावहरुलाई पनि कार्यान्वयन हुने गरी समेटेर यही कात्तिक १ गते साधारणसभा सम्पन्न गर्ने तयारी रहेको खरेलले बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *