सिम्रिकको १०औं साधारणसभा सम्पन्न, नयाँ नेतृत्वलाई सपथग्रहण
Published:
by .बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडको १०औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । साधारणसभाका प्रतिनिधिहरुबीच भौतिक दूरी कायम राख्दै यहाँस्थित अग्रसेन भवनमा कार्यक्रम सम्पन्न गरिएको हो । राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य तथा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभामा उद्घाटन मन्तब्य राख्दै प्रमुख अतिथि ढकालले सहकारीमा ऐन, नियामवली, कार्यविधिहरु क्रमशः कडा प्रकृतिका बन्दै गएका छन् भन्दै निर्देशिका त झन् कठोर बनेको बताए । आज असोज ३० गतेसम्म म्याद रहेको एक सदस्य एक प्रकृतिको सहकारी कार्यान्वयन नभएमा यिनै ऐन नियमले हामीहरुलाई सजायसम्म गर्ने प्रावधान भएकाले कार्यान्वयन महत्वपूर्ण रहेको ढकालले बताए ।
सिम्रिकले १० वर्षको अवधिमा उल्लेख्य प्रगति हासिल गरेको भन्दै जिल्ला संघका अध्यक्ष ढकालले अबको ५ वर्षभित्रमा यसको दोब्बर नगरेमा कमजोर संस्था हुनेतर्फ सचेत पनि गराए । साकोस भएकाले ऋण बचतमा मात्र सिमित रहनु पर्छ भन्ने छैन भनी सुझाउँदै प्रमुख अतिथि ढकालले सानो उद्यमतर्फ लगानी गर्न एवम् छिमेकी सहकारीहरुसँग सहकार्य थाल्न आवश्यक रहेको बताए ।
कार्यक्रममा बिर्तामोड नगरपालिकाका सहकारी तथा सामाजिक विकास अधिकृत डिल्ली दाहालले सिम्रिकको वित्तीय कारोबारको विश्लेषण गर्दै शेयरपूँजी बिस्तार, कर्जा लगानी र अनुपात, कोष वृद्धिको आंकडा केलाउँदा तोकिएको मापदण्ड भन्दा माथि नै रहेकाले राम्रो संकेत देखिएको बताए ।
सहकारीको अन्तर्राष्ट्रिय छैटौं सिद्धान्त समुदायप्रतिको चासोलाई सिम्रिकले आत्मसाथ गरेको तथा राज्यलाई समेत उल्लेखनीय कर तिरेर सहकारी क्षेत्रमा जिल्लाकै अग्रणी संस्था बनेकोमा सहकारी अधिकृत दाहालले बधाई पनि दिए ।
संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । कोरोना महामारीका कारण सरकारले भिडभिाड गर्न बन्देज लगाएकोले सहकारी विभागको साधारणसभा निर्देशिका बमोजिम कार्यक्रम आयोजना गरिएको अध्यक्ष बस्नेतले जानकारी दिए ।
साधारणसभामा आगामी चार वर्षे कार्यकालका लागि सर्वसम्मत निर्वाचित सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिलाई निर्वाचन अधिकृत डिल्ली दाहालले सपथ गराउँदै विजयी भएको प्रमाणपत्र प्रदान गरेका थिए ।
सिम्रिक साकोसको सञ्चालन अब सुवास भट्टराईको अध्यक्षमा हुनेछ भने निवर्तमान अध्यक्ष कमलबहादुर बस्नेतले संस्थाको प्रमुख कार्यकारी अधिकृत बनेर सिङ्गो ब्यवसायको नेतृत्व गर्ने तय भएको छ । नवनिर्वाचित अध्यक्ष भट्टराईले प्रतिवद्धता मन्तब्य राख्दै संस्थाको गरीमा र शाखलाई उँचो बनाउन कमल बस्नेतको नेतृत्वमा रहने कर्मचारी वर्ग र आफ्नो नेतृत्वको सञ्चालक समितिले काँधमा काँध मिलाएर काम गर्ने दृढता ब्यक्त गरे ।
Comments