Sajhamanch Archive

सहकारीमा साधारणसभाको सिजन शुरु, भद्रपुरको साना किसान सहकारी यो वर्ष पहिलो

Published: in सहकारी by .

भद्रपुर । नयाँ सहकारी ऐनअनुसार आर्थिक वर्ष सुरु भएको ६ महिनाभित्र सहकारी संघ–संस्थाहरुले वार्षिक साधारणसभा गरिसक्नुपर्ने प्रावधान छ । सोहीअनुसार नयाँ आर्थिक वर्षको सुरुवातसँगै सहकारी संस्थाहरुमा साधारणसभाको माहोल शुरु भएको छ ।

साविक चन्द्रगढी गाविसलाई कार्यक्षेत्र बनाई २०७२ सालमा स्थापना गरिएको साना किसान कृषि सहकारी संस्था भद्रपुर १० ले आफ्नो तेस्रो साधारणसभा साउन २७ गते सम्पन्न गरेको छ । झापामा यो वर्षको पहिलो साधारणसभा यही संस्थाले गरेको हो ।

जिल्ला समन्वय समिति झापाको सभाहलमा संस्थाका अध्यक्ष देवीमाया अधिकारीको अध्यक्षतामा सम्पन्न साधारणसभाको प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले थिए ।

संस्थाका कर्मचारी प्रविण खतिवडाको सञ्चालन र उपाध्यक्ष भीमा लम्सालले स्वागत गरेको कार्यक्रममा अध्यक्ष अधिकारीले २०७४/०७५ को संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरिन् ।

प्रतिवेदन अनुसार संस्थाले आ. व. २०७४/०७५ मा १ लाख ५३ हजार ७९२ रुपैयाँ खुद नाफा गरेको छ । ९८ समूहमार्फत ५५९ सदस्य माझ सेवा प्रवाह गर्दै आएको संस्थाले आ. व. ०७४/०७५ मा १९ लाख ६७ हजार ३१६ रुपैयाँ आम्दानी गरेको छ भने १८ लाख ४४ हजार ४१५ रुपैयाँ खर्च भएको उल्लेख छ ।

संस्थाको शेयर पूँजी १९ लाख ५१ हजार ७०० पुगेको छ भने निक्षेप ५० लाख ६५ हजार ५४९ रुपैयाँ र लगानी रकम एक करोड ४५ लाख ५६९ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।

९७ समूहमा ५५३ महिला आबद्ध छन् भने एउटा समूहमा ६ जना पुरुष आबद्ध छन् ।
महारानीझोडा साना किसान सहकारी संस्थाको अनुशरण गर्दै शुरु भएको संस्थाले विभिन्न समयमा रक्तदान, स्वास्थ्य शिविर, विपद्बाट पीडितलाई राहत वितरणजस्ता सामाजिक रचनात्मक गतिविधि पनि सञ्चालन गर्दै आइरहेको अध्यक्ष अधिकारीले जानकारी दिइन् ।

तेस्रो साधारणसभाको अवसरमा संस्थाले एक अन्तरसमूह र पाँचचना सदस्यलाई उत्कृष्ट छनोट गरी सम्मान पनि गरेको छ । उत्कृष्ट ऋणी सुभद्रा अधिकारी, उत्कृष्ट बाल बचत आशिका फुयाँल र सर्जिन निरौला, उत्कृष्ट अन्तर समूह ६ नं अन्तरसमूह र ज्येष्ठ सदस्यका रुपमा महिलातर्फ धनकुमारी अधिकारी र पुरुषतर्फ हरिप्रसाद गौतमलाई सम्मान गरिएको हो ।

प्रमुख अतिथि नगरप्रमुख श्रेष्ठ, विशिष्ट अतिथि जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका अध्यक्ष घनश्याम अधिकारी, झापा जिल्ला सहकारी संघ ३ नं क्षेत्रीय संयोजक खडानन्द गुरागाईंलगायतले उत्कृष्टहरुलाई सम्मानपत्र हस्तारतरण गरेका थिए ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि श्रेष्ठले नेपालमा कृषिमार्फत नै समृद्धि हासिल गर्न सकिने भन्दै सहकारीहरुले कृषि क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *