बितेको तीन महिनाम सहारा नेपालका सदस्यलाई सामाजिक सुरक्षा वापत ७४ लाख हस्तान्तरण
Published: (Updated: )
by .झापा । नेपालको अग्रणी सहकारी संस्था सहारा नेपाल साकोसले शेयर सदस्यहरुका लागि चालू आर्थिक वर्षको पहिलो ४ महिनामा सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत ७३ लाख ७६ हजार रुपैयाँ वितरण गरेको छ ।
संस्थाले परिवार राहत कार्यक्रम अन्तरगत आजमात्र १२ जनालाई २० लाख रुपैयाँ प्रदान गरेको छ । ज्येष्ठ नागरिक पोषण भत्ता वापत ६ जनालाई जनही एक लाख रुपैयाँका दरले ६ लाख रुपैयाँ र परिवार राहत कार्यक्रम अन्तरगत आज ६ जनालाई १४ लाख रुपैयाँ प्रदान गरिएको हो ।
७५ वर्ष पूरा गरेका संस्थाका ज्येष्ठ सदस्यहरुका लागि पोषण भत्ता वापत जनही एकलाख रुपैयाँ प्रदान गर्ने नीति अनुसार चालू वर्ष ६ जनालाई उक्त रकम प्रदान गरिएको अनुगमन कार्यालय बिर्तामोडका प्रमुख घनश्याम रायाले जानकारी दिएका छन् । बिर्तामोड २ का प्रभुलाल राजवंशी, रामप्रसाद पोखरेल र अर्जुनधरा ५ का खड्गबहादुर पुरीलाई आज उहाँहरुको घरदैलोमा गएर उक्त रकम प्रदान गरिएको हो ।
यसरी नै, संस्थामा शेयर सदस्यको योगदानको आधारमा निजको मृत्यु पछि प्रदान गरिने परिवार राहत कार्यक्रम अन्तरगत पनि आज ६ जनालाई १४ लाख रुपैयाँ प्रदान गरिएको छ । रायाका अनुसार अर्जुनधारा ५ का सिता बनलाई पाँच लाख, बिर्तामोड २ का राजेन्द्र बराइलीलाई तीन लाख, प्रेमप्रसाद फुयाँललाई एक लाख र रामप्रसाद पोखरेललाई एक लाख रुपैयाँ प्रदान गरिएको हो ।
घरदैलोमा नभेटिएका वा कार्यक्षेत्र बाहिर गएका सबै लाभग्राहीको सुविधा रकम बचत खातामा जम्मा गरिएको चारपाने सेवा केन्द्र प्रमुख जगत कार्कीले बताएका छन् । समुदायमा आधारित तथा सदस्य केन्द्रित कार्यक्रमहरु गरेकै कारण सहारा नेपालमा सदस्य बन्न कार्यक्षेत्रका बासिन्दाहरु लालयित बन्ने गरेको सो अवसरमा जानकारी दिइएको छ ।
संस्थामा सदस्य रहेका एकल महिला, एकल पुरुष, अशक्त, अपाङ्ग तथा ज्येष्ठ नागरिकहरु ६९५ जनालाई सामाजिक सुरक्षा भत्तावापत चालू आर्थिक वर्षमा मात्र ५३ लाख ७६ हजार रुपैयाँ प्रदान गरिएको अनुगमन कार्यालय बिर्तामोडका प्रमुख रायाले बताएका छन् । उनका अनुसार ५१० जना एकल महिलालाई आठ हजार रुपैयाँका दरले ४० लाख ८० हजार, ५८ वर्ष नाघेका छ जना एकल पुरुषलाई छ हजारका दरले ३६ हजार र अशक्त अपाङ्ग २ जनालाई १० हजार रुपैयाँका दरले २० हजार प्रदान गरिएको छ ।
यसरी नै, ६५ वर्ष नाघेका ज्येष्ठ नागरिक ९८ जनालाई छ हजारका दरले पाँच लाख ८८ हजार, ७० वर्ष नाघेका ज्येष्ठ नागरिक ६९ जनालाई आठ हजारका दरले पाँच लाख ५२ हजार र ८१ वर्ष नाघेका १० जना ज्येष्ठ नागरिकलाई १० हजारका दरले एक लाख रुपैयाँ प्रदान गरिएको जनाइएको छ ।
सामाजिक सुरक्षा तथा परिवार राहत वितरण कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका प्रशासकीय अधिकृत देवराज कार्कीले सहारा नेपालले सामाजिक रुपान्तरणमा उल्लेखनीय योगदान गरिरहेको बताए । बिर्तामोड नगरपालिकासहित विभिन्न स्थानीय तहसँगको सहकार्यमा सहारा नेपालले हजारौं विपन्न परिवारको घर बनाइदिएको, आफ्ना सदस्यहरुको स्वास्थ्य उपचारमा महत्वपूर्ण योगदान गरेकोले नै यो संस्था नामजस्तै चम्किरहेको बताए ।
सहारा नेपाल साकोस अन्तरगत सामाजिक सुरक्षा उपसमितिका संयोजक डिल्लीप्रसाद सिटौलाको अध्यक्षतामा चारपानेमा आज आयोजित संक्षिप्त कार्यक्रममा ज्येष्ठ लाभग्राही सदस्य खड्गबहादुर पुरीले बालकदेखि वृद्धसम्मको हेरदेखमा संस्थाले सहारा दिइरहेको बताए ।
Comments