अर्जुनधारा धामका २०० भन्दा बढी माछा मरे
Published:
by .अर्जुनधारा । अर्जुनधारा जलेश्वर धाममा साउनको अन्तिम सोमबार आएका भक्तजनले दिएको खानेकुरा खाएर पोखरीका दुईसय वटाभन्दा बढी माछा मरेका छन् ।
साउन २८ गते सोमबार विभिन्न स्थानबाट जलेश्वर धाममा जल चढाउन आउनेले ल्याएका सामग्रीहरु पोखरीमा पसेपछि फुड पोइजनका कारण माछाहरु मरेको समितिको अनुमान छ ।
समितिका महासचिव विष्णु निरौलाले बताएअनुसार भक्तजनहरुलाई आफूले चढाउन ल्याएको सामग्री पोखरीमा नलगाउन अनुरोध गरिए तापनि जबरजस्ती र अटेर गरेर पोखरीमा त्यस्ता वस्तु हालिएका कारण माछाहरुमा फुड पोइजन भई मरेका हुन् ।
अन्य थुप्रै माछाहरु बिरामी परेको धाम समितिका महासचिव निरौलाले जानकारी दिए । पोखरीमा विभिन्न प्रजातिका माछाहरु रहेका छन् ।
हाल मरेका माछाबाट स्थानीय बासिन्दामा कुनै संक्रमण फैलन नपाओस् भनेर निश्चित स्थानमा खाडल खनी पुर्न तथा पोखरीको पानीलाई पूरै निकाली फटकिरी पोटास लगाएर सफा गर्न समितिलाई सल्लाह दिइएको अर्जुनधारा वडा नं. ७ का वडाध्यक्ष नवराम ढुंगाना नविनले बताएका छन् ।
समितिका अध्यक्ष नवीन गट्टानीका अनुसार यस्तो समस्या पहिला पनि आएको र यसपटक पनि माछामा समस्या आएकोले अबका दिनमा पोखरीमा फूलपाती तिल, जौ लगायतका सामान नपस्ने गरी तारजाली लगाउने र आउँदा दिनमा यस्तो समस्या दोहोरिन नदिने गरी माछाको संरक्षण गरिने बताएका छन् ।
Comments