Sajhamanch Archive

बेसहारा भुटानी शरणार्थी बालबालिकालाई दशैंमा लुगा, जुत्ता र नगद सहयोग

Published: in राष्ट्रिय समाचार, लोकप्रिय, समाज by .

झापा । भुटानी शरणार्थी शिविर तथा आसपासको नेपाली समुदायका अभिभावकविहीन ३८ जना बालबालिकालाई दशैंमा नयाँ लुगा, जुत्ता र १० हजार रुपैयाँका दरले सहयोग प्रदान गरिएको छ । दमक नगरपालिका ३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा शनिबार एक कार्यक्रमको आयोजना गरी अशक्त, असहाय एवं अभिभावक नभएका बालबालिकालाई सहयोग वितरण गरिएको हो ।

बेलडाँगी शिविरमा रहेको फ्रेन्ड्स क्लब बीआरसीको पहलमा अमेरिका, अष्टेलियालगायत मुलुकमा पुनर्वास भएका भुटानी शरणार्थीको सहयोगमा उक्त सहयोग वितरण गरिएको थियो । दमकको बेलडागी र मोरङको पथरी शनिश्चरे नगरपालिकास्थित भुटानी शरणार्थी शिविरमा ३२ जना बालबालिका अभिभावक र घरबारबिहीन छन् । उनीहरुलाई शिविरभित्रकै शरणार्थीहरुले संरक्षण दिदै आएका छन् ।

भुटानी शरणार्थीलाई दातृ निकायहरुले सबैखाले सहयोग कटौती गरिसकेको छ । लामो बन्दाबन्दी र कोरोना कहरका कारण शरणार्थी शिविरमा पनि खाद्यन्न संकट देखिन थालेको बेलडागी शिविरका सचिव कृष्णप्रसाद लिङ्देनले बताएका छन् । नेपालीहरुको महान चाड बडादशैंमा अभिभावकविहीन बालबालिकाहरुले पनि नयाँ लुगा, जुत्ता लगाएर मीठो मसिनो खान पाउन् भन्ने उद्देश्यले फ्रेन्ड्स क्लबले उनीहरुको लागि सहयोगको पहल गरेको थियो ।

शरणार्थी शिविर बेलडागीका २१, पथरीका ११ र शिविर आसपासका ६ जना गरी ३८ जना अभिभावकबिहीन बालबालिकालाई दशैंको नयाँ लुगा (ट्रयाक सुट), गोल्डस्टार जुत्ता र नगद १०/१० हजार रुपैयाँका दरले वितरण गरेको फ्रेन्ड्स क्लबका अध्यक्ष युवराज साम्पाङ राईले जानकारी दिएका हुन् ।

३८ जना बालबालिकालाई जनही १०/१० हजार रुपैयाँ सहयोग वितरणका लागि अमेरिकामा रहेका अर्जुन सुवेदीको पहलमा नक्षत्र फाउण्डेशन तथा अमेरिकामै रहेका आइभोरी होम हेल्थ सर्भिस, इन्क होमल्याण्ड, होम केयर सर्भिस र एलएलसी फस्र्ट इम्पेरियल इन्सुरेन्स एजेन्सीले सहयोग गरेको बताइएको छ ।

त्यस्तै बालबालिकाको नयाँ लुगा र जुत्ताको लागि पूर्व शिविर सचिव टीकाराम रसाइलीको नेतृत्वमा अमेरिका, अष्टे«लियालगायत मुलुकमा रहेको ‘आशु पुछौं’ समूह, अमेरिकाको पेन्सिलभेनियामा रहेका मनकारीहरुले सहयोग गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *