यस्तो रह्यो राष्ट्रपति र प्रधानमन्त्रीको विजयादशमी
Published: (Updated: )
by .काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आमा मिथिला पाण्डेको हातबाट १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गरेकी छन् ।
राष्ट्रपति भण्डारीले छोरीज्वाइँहरु उषाकिरण, निशाकुसुम, उमेश थापा, अभिषेक यादव तथा दुई नातिनी लगायत उनका परिवारलाई टीका लगाइदिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
यसैगरी राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दसैँको टीका लगाइदिएकी छन् । सोमबार दिउँसो प्रधानमन्त्री ओली दसैँको टीका लगाउन राष्ट्रपति निवास शीतलनिवास गएका हुन् ।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई टीकासँगै जमराको माला पनि लगाइदिएकी छन् । प्रधानमन्त्रीसँगै पत्नी राधिका शाक्यले पनि राष्ट्रपतिको हातबाट टीका र जमराको माला ग्रहण गरेकी छन् ।
प्रधानमन्त्री ओलीका बुवा मोहनप्रसाद गृहजिल्ला झापामा नै रहेकाले यसपटक प्रधानमन्त्रीले बालुवाटारमा टीका लगाएनन् ।
प्रधानमन्त्री ओलीले विजयादशमीका अवसरमा धर्मपत्नी राधिका शाक्यलाई चाहिँ बालुवाटारमा नै टीका जमरा लगाइदिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा धार्मिक विधिपूर्वक धर्मपत्नी शाक्यलाई प्रधानमन्त्रीले टीका तथा जमरा लगाइदिएका हुन् ।
कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखी यो वर्ष राष्ट्रपति निवास र प्रधानमन्त्री निवासमा हुने ‘वडा दशैंको सार्वजनिक टीका कार्यक्रम’ राखिएन ।
Comments