Sajhamanch Archive

अमेरिकी राष्ट्रपतिमा कसले मार्ला बाजी !

Published: in राजनीति, विश्व समाचार by .

वासिङ्टन । विश्व शक्तिराष्ट्र अमेरिकामा आज मंगलबार नयाँ राष्ट्रपति चयनका लागि मतदान भइरहेको छ । अमेरिकाको न्यू ह्याम्सायरको डिक्सभील नोच र मिल्सफिल्डबाट मतदान सुरु गर्ने परम्परा अनुसार त्यस ठाउँमा मतदान भइसकेको हो ।

नेपाली समयअनुसार मंगलबार बेलुकाबाट मतदान सुरु हुने भएको हो । अमेरिकाको स्थानीय समयअनुसार मंगलबार बिहान स्थानअनुसार ६ बजेदेखि ८ बजेसम्ममा मतदान सुरु भएको छ ।

प्रत्यक्ष मतदान मंगलबार हुने भएपनि सोमबारसम्म अन्य माध्यमबाट झन्डै सात करोड अमेरिकी नागरिकहरुले मतदान गरिसकेको अधिकारीहरुले जनाएका छन् । चुनावको एक दिन बाँकी छँदा ६ दशमलव ९५ करोड अमेरिकीले हुलाकमार्फत् अथवा पहिल्यै मतदान गर्न पाउने व्यवस्थाअन्तर्गत् मत दिइसकेको अधिकारीहरुले जनाएका छन् । अमेरिकामा हरेक निर्वाचनमा हुलाकमार्फत् लाखौं मतदाताले मतदान गर्दछन् ।

सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा तीन करोड ३० लाख अमेरिकीले हुलाकमार्फत् मतदान गरेकोमा यसपटक कोरोनाभाइरस महामारीलाई लिएर आठ करोड २० लाख मानिसलाई हुलाकमार्फत् मतदान गर्न आग्रह गरिएको थियो ।

राष्ट्रपतिका लागि रिपब्लिकनका तर्फबाट वर्तमान राष्ट्रपति तथा डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका तर्फबाट पूर्वउपराष्ट्रपति जो बाइडेनका बीचमा कडा प्रतिस्पर्धा हुने बताइएको छ । प्रतिस्पर्धीमध्ये ट्रम्प ७४ वर्ष र बाइडेन ७८ वर्षका भएकाले अमेरिकाको जिम्मेवारी बुढा नेतालाई नै पर्ने भएको छ ।

बाइडेनले निकै सरलरूपमा चुनावी अभियान चलाउँदै ट्रम्पको कार्यकालमा भएका गल्ती र कोरोनाभाइरस रोकथाम र नियन्त्रणमा भएका कमजोरीलाई आफ्नो प्रमुख मुद्दा बनाएको जनइएको छ । ट्रम्पले आफूमाथि लागेको आरोपहरुको प्रतिवाद गर्दै आक्रामकरूपमा प्रस्तुत भएका जनाइएको छ ।

चुनावी सर्वेक्षणहरुमा डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेनलाई नै अगाडि देखाएको छ भने ट्रम्पप्रति धेरैको असन्तुष्टि रहेको र भरोसा टुटेको दाबी गरिएको छ ।

अमेरिकी राष्ट्रपतिको काम–कारबाहीबाट अमेरिका र विदेशमा रहेका धेरै मानिसको जीवनमा प्रत्यक्ष असर पर्ने भएकाले यस निर्वाचनलाई महत्वका साथ हेर्ने गरिन्छ ।

अमेरिकामा रिपब्लिकनहरूलाई परम्परावादी र डेमोक्र्याटहरुलाई उदारवादी धारको रुपमा लिने गरिन्छ । अमेरिकामा कुल ५३८ ओटा ‘इलेक्ट्रोरल कलेज’ मतमध्ये जुन उम्मेदवारले २७० भन्दा बढी मत प्राप्त गर्नसक्छ, उसैलाई विजयी भएको मानिन्छ ।

सामान्य मतदाताले राज्यस्तरीय प्रतिस्पर्धाका लागि मतदान गर्ने गर्छन् र उनीहरुले छानेको व्यक्तिले राष्ट्रपति चयन गर्नेछन् । यही व्यवस्थाका कारण कतिपय बेला देशव्यापीरूपमा सबैभन्दा धेरै मत ल्याउने उम्मेदवार पनि इलेक्ट्रोरल कलेजमा थोरै मत प्राप्त भएर पराजित हुने गरेका छन् ।

सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा पनि मतदानमा हिलरी क्लिन्टनले धेरै मत पाएपनि इलेक्ट्रोरल कलेजको मत डोनल्ड ट्रम्पले धेरै पाएर उनी राष्ट्रपतिमा निर्वाचित भएका थिए । त्यतिबेला अधिकांश सर्वेक्षण र सञ्चार माध्यमहरुले हिलारी विजयी हुने प्रक्षेपण गरेका थिए ।

अमेरिकामा हरेक चार चार वर्षको नोभेम्बरमा निर्वाचन हुने गर्दछ । त्यस निर्वाचनबाट निर्वाचित नयाँ राष्ट्रपतिले औपचारिक रूपमा जनवरी २० तारिखमा शपथग्रहण गर्दै ह्वाइटहाउस प्रवेश गर्ने परम्परा रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *