मेचीनगरका नगरप्रमुख आचार्यको स्वास्थ्यमा क्रमिक सुधार हुँदै
Published: (Updated: )
by .मेचीनगर । भारतको सिलीगुडीस्थित किन्स अस्पतालमा उपचाररत मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यको कोरोना संक्रमण परीक्षण रिपोर्ट नेगेटिभ आएको जनाइएको छ । नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले भरखरैमात्र आफ्नो फेसबुक टाइमलाइनमा नगरप्रमुख आचार्यको पछिल्लो स्वास्थ्य अवस्थाबारे उल्लेख गरेका हुन् ।
केही दिनअघि पीसीआर परीक्षणका लागि सो अस्पतालले थ्रोड स्वाबको नमूना संकलन गरेको थियो । आज प्राप्त रिपोर्ट नेगेटिभ आएको बताइएको हो । असोज २८ गते कोटीहोमस्थित पिसिआर ल्यावमा गरिएको परीक्षण रिपोर्टमा नगरप्रमुख आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
नगरप्रमुख आचार्यको फोक्सो र छातीको सिटी स्क्यान गरिएको र त्यसको रिपोर्टमा संक्रमण कम देखिएकोले क्रमशः सुधार हुँदै आएको अस्पतालले जनाएको छ ।
कोरोना पोजेटिभ पछि स्वास्थ्यमा संकट आएर विराटनगरस्थित नोवल मेडिकल कलेजमा उपचारार्थ भर्ना गरिएका आचार्यको स्वास्थ्यमा सुधार नआएपछि कात्तिक ११ गते सिलीगुडीस्थित किन्स अस्पतालमा भर्ना गरिएको छ ।
मेचीनगर नगरपालिका वडानम्वर ४ का वडाध्यक्ष नवीन बराल, नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेती, स्थानीय प्रशासन प्रमुखसहितको टोलीले आज अस्पताल पुगेर नगरप्रमुख आचार्यको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएको हो ।
‘अहिले मलाई धेरै राम्रो भएको छ, डक्टरले एक सातापछि डिस्चार्ज गर्ने संकेत गर्नुभएको छ’ नगरप्रमुख आचार्यको भनाई उल्लेख गर्दै प्रेस संयोजक उप्रेतीले लेखेका छन्, ‘अहिले छाती र फोक्सोमा संक्रमण रहेछ क्रमशः सुधार हुने चिकित्सकले बताएका छन् ।’
Comments