हाम्रो नेपाल साकोसको साताव्यापी साधारणसभा भोलिदेखि
Published:
by .बिर्तामोड । झापा जिल्लाभर कार्यक्षेत्र रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले पाँचवटा ईकाइ बनाएर भोलिदेखि साताव्यापी साधारणसभा सञ्चालन गर्ने भएको छ ।
संस्थाले आठौँ साधारणसभाको पूर्वसन्ध्यामा आज आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै भोलिदेखि २५ गतेसम्म ईकाइस्तरमा सदस्यहरुले साधारणसभाको प्रतिवेदन बुझ्न र सुझाव प्रदान गर्न भनिएको छ । आज एक कार्यक्रमको आयोजना गरी संस्थाका अध्यक्ष भवानीप्रसाद दंगाल र सल्लाहकार संयोजक भगिरथ आले ‘मामा’ले प्रगति प्रतिवेदन अनावरण गरेका हुन् ।
संस्थाले आर्थिक वर्ष २०७६/०७७ को असार मसान्तमा मा ७७ करोड ५६ लाख २ हजार ९१८ रुपैयाँको वासलात बनाएको थियो भने चालू आर्थिक वर्षको असोज मसान्तमा एक अर्बभन्दा बढी पुर्याइएको जनाइएको छ । संस्थाका अध्यक्ष दंगालले प्रतिवेदन प्रस्तुत गर्दै समीक्षा अवधिमा ४९ लाख ४ हजार ४२१ रुपैयाँ नाफा गरेको जनाए ।
हाम्रो नेपाल साकोसले १५ वटा सेवा केन्द्रमार्फत् सेवा प्रदान गर्दै आएको छ भने चालू आर्थिक वर्षमा ६ वटा सेवा केन्द्र विस्तारको लक्ष्य लिएको छ ।
३७ जना सेयर सदस्यबाट सुरु भएको संस्थामा हाल १० हजार ९६२ जना सेयर सदस्य रहेका छन् । जसमध्ये ५ हजार ९०२ जना महिला र ५ हजार ६० जना पुरुष सदस्य रहेका छन् । हालै दमकस्थित कान्तिपुर साकोससँग एकीकरण गरेको हाम्रो नेपालमा १५७ जना कर्मचारी रहेका छन् ।
गत आर्थिक वर्षको असार मसान्तमा संस्थामा सात करोड ४२ लाख आठ हजार ५०० रुपैयाँ शेयर पूँजी, ४२ करोड ४८ लाख ७० हजार ५३२ रुपैयाँ निक्षेप संकलन तथा ६० करोड ३४ लाख ८२ हजार रुपैयाँ कर्जा लगानीमा रहिरहेको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाले शेयर सदस्यहरुलाई १० प्रतिशत हाराहारी बोनस वितरण गर्ने बताइएको छ । संस्थाले शेयर बोनसका लागि २४ लाख ५० हजार व्यवस्था गरिएको छ भने संरक्षित पूँजी फिर्ता कोषमा सात लाख रुपैयाँ व्यवस्थापन गरिएको जनाइएको छ ।
हाम्रो नेपालले संस्थाका उत्कृष्ट एवम् नियमित कारोबारीहरु दुई हजार ५८७ जना सदस्यहरुको कोरोना बीमा गरिदिएको छ । संस्थाले बढ्दो कोरोना भाइरसको महामारीको खतराबाट संस्थाका कर्मचारी, समिति–उपसमिति तथा सदस्यहरुलाई राहत दिन कोरोना बीमा गरिदिएको अध्यक्ष दंगालले बताएका छन् । युनाइटेड इन्स्योरेन्स कम्पनीमा संस्थाले ८ लाख ६१ हजार ६२० रुपैयाँ प्रिमियम बुझाएको अध्यक्ष दंगालको भनाई छ ।
त्यस्तै, संस्थाले बन्दाबन्दी (लकडाउन)को अवधिमा सदस्यलाई हर्जना र ब्याजसमेत मिनहा गरेको छ । संस्थाले लकडाउनको अवधिमा १२ लाख १४ हजार हर्जना र १७ लाख २७ हजार ब्याज मिनाह गरेको अध्यक्ष दंगालले जानकारी दिए ।
संस्थाले आफ्नो कार्यक्षेत्र भित्रका स्थानीय सरकारको कोरोना कोषमा ६ लाख ३० हजार रुपैयाँ सहयोग गरेको छ भने एकका लागि एक अभियान अन्तरगत स्थापना भएको पीसीआर परीक्षण प्रयोगशालामा एक लाख एक हजार रुपैयाँ प्रदान गरेको छ ।
संस्थाका सचिव विपि लामिछानेले सञ्चालन गरेको प्रतिवेदन सार्वजनिक कार्यक्रममा आमन्त्रितहरुलाई उपाध्यक्ष पृथ्वी ओलीले स्वागत गरेका थिए । कोरोना भाइरसको प्रभावका कारण सहकारी विभागले तोकेको ढाँचामा साधारणसभा सञ्चालन गर्दै हाम्रो नेपालले कात्तिक २७ गते माइन्युट प्रमाणितसहितको कार्यक्रम गरी साधारणसभा सम्पन्न गर्ने कार्यक्रम तय गरेको छ ।
Comments