एनएमसीद्वारा सदस्य मृत्यु राहत हस्तान्तरण
Published:
by .झापा । सहकारी संस्थाहरुले बचत तथा ऋणको कारोबार गर्दा कस्तो ब्याज लिन्छन् वा दिन्छन् भन्ने कुरालाई अब सदस्यहरुले गौण राख्न थालेका छन् । सदस्यहरुले संस्थाबाट के कस्तो सुविधा पाउँछन् भन्नेतर्फ यतिबेला सबैको ध्यान केन्द्रित हुन थालेको छ ।
शेयर सदस्यको परिवारमा नवजात शिशुको जन्मदेखि परिवारका जो कसैको मृत्युसम्मको सुख दुःमा सहकारीले कुनै न कुनै रुपमा साथ दिँदै आएका छन् । सदस्य परिवारमा सुत्केरीलाई पोषिलो खानासहित बधाई भेटघाट, नवजात शिशुको नाममा बालबचत खाता सञ्चालन र संस्थाको तर्फबाट निश्चित रकम जम्माबाट सहकारीको सम्बन्ध विकास हुँदै आएको छ ।
बालबालिकाको शिक्षामा सहयोग, सदस्य र तिनको परिवारमा उपचार सहयोग, दूर्घटना उपचार सहयोग, असाध्य प्रकृतिको रोग लागेको अवस्था जस्तै क्यान्सर, मुटुरोग, मिर्गौलामा समस्या, प्यारालाइसिस, पार्किन्सन्स आदि रोगहरुको उपचारका लागि ठूलो रकम उपचार सहयोग एवम् अस्पताल भर्ना भएर गरिने उपचार खर्च ब्यहोर्नेसम्मको सुविधा सदस्यहरुलाई सहकारीको तर्फबाट उपलब्ध हुन थालेको छ ।
सामाजिक क्षेत्रमा सहकारीको योगदानबाट पनि उसको पहिचान फराकिलो बन्ने गरेको छ । यही सन्दर्भमा नेपालकै उत्कृष्ट सहकारीमध्येको एक नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले शेयरमा योगदानका आधारमा सदस्य परिवारलाई मृत्यु राहत प्रदान गरिरहेको छ ।जिल्लाका ४० स्थानमा कार्यालय सञ्चालन गरिरहेको तथा ९० हजार हाराहारी सदस्य रहेको एनएमसीले केही वर्ष पहिलेदेखि सदस्य मृत्यु राहत दिन थालेको सञ्चालक सदस्य डम्बरबहादुर बस्नेत बताउँछन् ।
संस्थामा ५ हजार रुपैयाँ शेयर रहेको सदस्यको मृत्युमा २५ हजार, १० हजारभन्दा बढी शेयर भएको सदस्यको मृत्युमा ५० हजार तथा दम्पत्तीको सेयर १०–१० हजार रुपैयाँभन्दा बढी भएमा ७५ हजार रुपैयाँ काजकिरिया खर्च तथा मृत्यु राहत प्रदान गर्ने व्यवस्था रहेको सञ्चालक सदस्य बस्नेत बताउँछन् ।
यसैबीच, बिर्तामोड कार्यालयका सामुदायिक विभाग प्रमुख पवन खतिवडाका अनुसार गत साउन महिनादेखि कात्तिक १९ गतेसम्म सो कार्यालय अन्तरगतका चारजना सदस्यको मृत्यु भएकाले तिनको परिवारलाई मृत्यु राहत प्रदान गरिएको छ ।
संस्थाको सदस्य रहँदै मृत्यु भएका देवीमाया कट्टेल, डिल्लीप्रसाद गौतम र पुष्पलाल विष्टको परिवारलाई ५० हजारका दरले र टेकनाथ अधिकारीको परिवारलाई २५ हजार रुपैयाँ सदस्य मृत्यु राहत प्रदान गरिएको खतिवडाले जनाएका छन् ।
संस्थाका सञ्चालक सदस्य बस्नेतको नेतृत्वमा बुधबारमात्र अर्जुनधारा नगरपालिका वडा नं. ८ स्थित हात्तीकिल्ला पुगेर बिर्तामोड कार्यालयगत उपसमितिका सदस्य गोपाल काफ्लेसहित इकाइ नं. ११ का सदस्यहरुले डिल्लीप्रसाद गौतमको परिवारलाई राहत रकमसहित समवेदना हस्तान्तरण गरेका छन् ।
यसैगरी, बिर्तामोड ५ स्थित विष्ट निवासमा पुगेर बिर्तामोड कार्यालयगत उपसमितिका सदस्य पदमप्रसाद सुवेदीले पुष्पलाल विष्टका परिवारलाई राहत रकमसहित समवेदना हस्तान्तरण गरेका छन् ।
Comments