सपना–विपनामा कृषिः करोडौंको ब्यावसाय गर्दै मागुरमाडीका उप्रेती
Published: (Updated: )
by .मेचीनगर । परिवारसँगै बसेर रमाउने रहर कसलाई हुँदैन ? पैसा कमाउँछु र परिवारलाई सुखसँग राख्छु भन्ने सपना बोकेर हजारौं युवा विदेश पलायन हुनेक्रम कायमै रहेको छ । सोचेजस्तो कहाँ हुँदो रहेछ र ! अर्काको भूमिमा गएर पैसा कमाउन । मेचीनगर नगरपालिका वडा नं.९ मागुरमाडीका डिल्लीराज उप्रेती पनि होटेल म्यानेन्जमेन्ट विषय पढ्दा पढ्दै स्कूल त्यागेर खाडी मुलुकमा गई पसिना बेच्न बाध्य हुनुपर्यो ।
उनी जुन सोचले विदेश भासिएका थिए, सो अनुरुप कमाउन सकेनन् । कतारमा आठ वर्ष लामो आफ्नो श्रम बेचेरे पनि कमाउन नसकेका उप्रेती नेपालमा आएर आफ्नै भूमिमा कर्म गरेर छोटो समयमा नै सफल व्यवसायीका रुपमा परिचय बनाउन सफल भएका छन् । वि. स. २०६९ सालमा डी एण्ड डी बायोप्लान्टेक फर्म स्थापना गरेर सुरुमा उनले नर्सरी सम्बन्धी काम गरे । वन प्रजातिका विरुवाहरु उत्पादन गाह्रो भए पनि बजारमा महङ्गो मूल्यमा बिक्री भइरहेको थियो । आफूले पनि महङ्गो मूल्यमा खरिद गर्न सकिँदैन भनेर भारतबाट जराहरु मगाएर ४०/५० हजारको लागतमा नर्सरी स्थापना गरी नर्सरी व्यवसाय सुरु गरेको उनले बताए ।
उप्रेती भन्छन्, व्यवसाय सुरु भयो, बिरुवा पनि बिक्री भयो तर यसमा नयाँ केही भएन । जीवन उक्सिहाल्ने हामीले केही देखेनौं । त्यसपछि कागती खेती, मेवा खेती हुँदै सबैले खोलाको बगरमा मात्र फलेको देखेको खरबुजा माटोमा पनि फलाएर देखायौं । ‘विगत चार वर्षदेखि खरबुजाको ट्रायल सुरु गरेका हामीले सोचेको भन्दा बढी उत्पादन गर्न सफल भएका छौँ’ उप्रेती बताउँछन् ।
उनी भन्छन्, हामी वार्षिक रुपमा एक डेढ लाख खरबुजाका बिरुवाहरु बेच्दै आएका छौँ । बजारमा पाइने विषादी प्रयोग गरेका खरबुजाको तुलनामा हामीले जैविक मल प्रयोग गरेर उत्पादन गरेको खरबुजाको मूल्य केही धेरै पर्छ तर स्वाद र स्वास्थ्यको दृष्टिकोणले कयौं गुणा उत्कृष्ट छन् । अस्ति लकडाउनको अवधिमा खरबुजा बेचेर आफ्नो फर्मले लाखौं आम्दानी गरेको उप्रेती सुनाउँछन् ।
यो वर्ष करिब २ बिगाहा क्षेत्रफलमा सयपत्री फूलको खेती लगाएको जानकारी दिँदै उनले भने पानी झरीले ३०–३५ प्रतिशत बिरुवाहरु नष्ट गरेपनि यो वर्ष १० देखि १२ लाख रुपैयाँ बराबरको सयपत्री फूल बेच्ने लक्ष्य लिएका छौं । डी एण्ड डी बायोप्लान्टेक फर्ममा कागती, ड्रागन फ्रुट, स्याउ, आँप, लिची, अनार, काजु लगायतका बिरुवाहरु उत्पादन गर्ने गरिएको छ ।
मौषम अनुसारका लालुपाते, गोदाबारी, सयपत्रीका बिरुवाहरु उत्पादन गर्ने उप्रेतीको भनाई छ । कृषकलाई कृषिमा प्रेरित गरेर अग्र्यानिक हब बनाउने योजनासहित अघि बढिरहेको उनले बताए । रोचक कुरो चाहिँ के छ भने हामीले उत्पादन गरेका वस्तु धेरैमात्रमा किसानको हातमा जान्छ भने केही मात्र नर्सरी व्यवसायीमा पुग्ने गरेको छ । हाम्रो माग बजारमा जति आइरहेको छ, त्यस अनुरुप हामीले उत्पादन गर्न सकेका छैनौं । त्यसैले हाम्रो उत्पादन बिक्री हुँदैन कि भन्ने डर चाहिँ नभएको उप्रेतीको विश्वास छ ।
अहिले एक विगाहामा नर्सरी र साढे तीन विगाहामा फार्मिङ गरिरखेको जानकारी दिँदै फार्मका सञ्चालक उप्रेतीले नर्सरी ग्रो हाउस, गिफ्ट सफ, डिस्प्ले एरिया, तालिम हल, कम्पोस्ट मल उत्पादन गर्ने ठाउँको अलग अलग व्यवस्थापन गरिएको देखाए । आफ्नो विगत सम्झिँदै उप्रेती भन्छन्ः आफूले गरेको व्यवसायमा गर्व गर्नुपर्छ । हिजोसम्म तिनै मान्छे हुन्, जसले यी उप्रेती परिवारले कृषि व्यवसाय गरेर केही गर्न सक्दैनन् भन्थे । तर आज मेरो प्रशंसा गरेर अरुलाई कृषि व्यवसाय गर्न प्रेरित गर्ने गरेका छन् । हामीले आफ्नो उत्पादन कति नष्ट भएभन्दा पनि कति चाहिँ उत्पादन भयो भनेर जहिले पनि सकारात्मक सोच राख्नु पर्दो रहेछ अनि एकदिन अवश्य सफल भइँदो रहेछ ।
सुरुका दिनमा साइकलमा आफ्ना उत्पादन बिक्रीगर्न बजार बजार हिडिरहँदा म धकाइँन अनि लजाइँन पनि । किनकि म अरुभन्दा फरक छु अनि फरक काम गरेको महसुस गर्थे । त्यसैले त आज सफलताको स्वाद चाख्न पाएको छु । उप्रेती भन्छन्, संसारको सबैभन्दा सुख र सन्तुष्टि भएको व्यवसाय नै कृषि हो । एउटा बोटमा फल लाग्दा हेर्नुको मज्जा कसले देखेको छ र ? अरु व्यवसायमा स्वतन्त्रताको आनन्द कहाँ देख्नु भएको छ ? घरपरिवारका सबै सदस्यहरु एक ठाउँमा बसेर काम गर्नु भएको कहीँ देख्नु भएको छ ? उल्टो प्रश्न गर्छन् ।
दुई चारजना मानिसले दुःख छ, गोबर गनाउँछ भनेर चित्रण गरेर अफवाह फैलाई दिए भने यसको पछाडि कुद्ने होइन, आनन्द लिने हो । म अरु व्यवसायमा धेरै जोखिम देख्छु तर कृषि व्यवसायबाट उत्पादन गरेको प्रयोग नगरी हामी एक छाक टार्न सक्दैनौं । उप्रेतीले स्थानीय स्तरदेखि लिएर विभिन्न क्षेत्रमा कृषि तालिम पनि दिँदै आएका छन् ।
वार्षिक १५ देखि २० लाख आम्दानी लिने सो फर्ममा फागुनदेखि जेठ महिनासम्म प्रत्यक्ष रुपमा १० जनालाई रोजगारी पाउने गर्दछन् । अरु महिनामा ७ जना कर्मचारीले व्यवसाय चलाउँछन् । आउँदो वर्षदेखि व्यवसायलाई अझ विस्तार गर्दै आफ्नो टोललाई अग्र्यानिक हवको रुपमा परिचित गराउँदै लैजाने लक्ष्य रहेको उप्रेतीले सुनाए । उनले हालसम्म आफ्नो फर्ममा एक करोड रुपैयाँभन्दा बढीको लगानी रहेको जनाएका छन् ।
विदेश जान चाहने युवालाई के सुझाव दिनुहुन्छ भन्ने हाम्रो प्रश्नमा उनले यसरी सटिक जवाफ दिएका छन्ः ‘काम नलाग्ने मानिसहरु जो यहाँ केही हुँदैन भन्ने सोच राख्नु भएको छ भने विदेश नै जानुस् । यहाँ बसेर विदेशको सपना देख्नेहरुलाई स्वदेशमा पसिना खर्चन जाँगर चल्दैन । एकपटक अर्काको देशमा पसिना खर्चेपछि थाहा हुन्छ श्रमको मूल्य कति हुन्छ भन्ने ! कमाउन विदेश गएर संघर्ष गर्नुभन्दा आफ्नै भूमिमा एक छाकमात्र खाएर पनि आम्दानी गर्नुको मज्जा नै बेग्लै हुँदोरहेछ ।’
Comments