Sajhamanch Archive

बिर्तामोडमा देउसी भैलो पूर्णतया बन्द, राष्ट्रिय परिचयपत्रको फोटो खिचाउने कार्य स्थगन हुनसक्ने

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by .

झापा । बिर्तामोड नगरपालिकाले कोरोना संक्रमणको बढ्दो दर अनि दिन प्रतिदिन भइरहेको मानवीय क्षतिको विश्लेषण गर्दै आसन्न तिहारमा नगरक्षेत्रमा देउसी भैलो पूर्णतया बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना संक्रमण रोकथाम तथा राहत व्यवस्थापन नगर समन्वय समितिका संयोजक नगर प्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले योसहित ११ बुँदे निर्णय गरेको हो ।

दीपावली, छठ, नेपाल सम्वतजस्ता सांस्कृतिक पर्वहरुमा भेला हुने, देउसी भैलो खेल्ने, नाचगान गर्नेजस्ता सबै क्रियाकलापहरु बन्द गर्ने निर्णय भएको नगरपालिकाका प्रेस संयोजक तीर्थ सिग्देलले जानकारी दिएका छन् ।

कोरोना रोकथाम समन्वय समितिले गत शुक्रबार गरेको निर्णय आइतबार इमेलमार्फत् सञ्चार माध्यमलाई उपलब्ध गराउँदै सबै पक्षसँग समन्वय गरी चाडवाडलाई एकाघरमा मात्र सिमित गरी मनाउने निर्णय भएको जनाइएको हो । बैठकले नगरभित्र सञ्चालित होटल, रेष्टुरेन्टहरु राति ८ बजेपछि बन्द गर्ने निर्णय भएको जनाइएको छ ।

अबदेखि नगरपालिकाबाट दिइने सेवालाई आलोपलो मिलाई हरेक दिन दुईवटा वडाकोमात्र सेवा प्रवाह गर्ने व्यवस्था मिलाइने भएको छ । जसअनुसार आइतबार वडा नं. १ र २, सोमबार वडा नं. ३ र ४, मंगलबार वडा नं. ५ र ६, बुधबार वडा नं. ७ र ८ तथा बिहीबार वडा नं. ९ र १० का सेवाग्राहीले सेवा लिन पाउनेछन् ।

नगरपालिकाले कोरोना कहरलाई दृष्टिगत गरी राष्ट्रिय परिचयपत्रको लागि फोटो खिचाउने कार्य स्थगन गर्न जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने निर्णय भएको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *