उच्च सम्मान ती वैदेशिक रोजगारदातालाई
Published:
by .ती श्रमजीवीहरुप्रति मेरो सम्मान छ । जसले स्वदेशमा गरिखाने कुनै आधार नहुँदा बाध्य भई विदेशमा गएर १० नङ्ग्रा खियाएर पौरखी पाखुरीका भरमा ज्यानलाई जोखिम मै राखेर भए पनि आफ्नो परिवार र मुलुकको अन्तरङ्मा गतिलो टेवा पुर्याइरहेछन् । विशेषतः खाडी राष्ट्रहरु मलेसिया, कतार, दुबई, बहाराइन, कुवेतलगायतका मुसलमानी मुलुकहरुमा गएर कठोर श्रम गरेरै भए पनि थुप्रै विदेशी मुद्रा आर्जन गरिरहेछन् । आफ्ना वृद्ध आमाबुबा, जवान श्रीमती र कलिला छोराछोरीलाई छाडेर परदेशमा गई श्रम गरेर पारिवारिक उत्तरदायित्व निभाएका छन् । तन्नेरी युवा जोस जाँगर आफ्नो देश बनाउने इच्छा हुँदाहुँदै पनि आफ्नो राज्य छोडेर स्वदेशमा रोजगारी पाउन नसकेपछि खाडी राष्ट्रहरुमा तातो घाममा मरुभूमिको भावर बालुवा मैदानी पसिनासँग रुपैयाँ साटेर स्वदेश पठाई परिवार पालिरहेछन् । विदेशी राष्ट्रमा समेत असल, सहनशिल, मेहेनती र परिश्रमी राम्रा कामदारको छवि बनाएर देशको अर्थतन्त्रलाई रेमिट्यान्स मार्फत् बलिया बनाउन सहयोग गरिरहन्छन् । यस्ता मेरा श्रमजीवी दाजु भाइ दिदी बहिनीहरु प्रति मलाई असीम श्रद्धा र अपार माया अनि उच्च सम्मान गर्न मन छ ।
हाम्रा वीर नेपाली दाजुभाइको पुरानो चिनारी अहिले फेरि कठोर श्रमिक र अनुशासित मजदुरको परिचय संसारमाझ दिइरहेछन् । काम गरिखाने र पसिनाको मूल्य बुझेका वैदेशिक रोजगारमा गएका हाम्रा दाजुभाइलाई राज्यले सम्मान गर्नैपर्ने छ । अर्बौंको विदेशी मुद्रा आर्जन गरेर उनीहरुले स्वदेश पठाइरहेका छन् ।
तर हाम्रो नालायक निकाम्मा सरकार राज्य व्यवसायीलाई पेवा झै बनाएर हाली मुहाली गरी स्वार्थ पूर्ती गर्ने सत्ता सञ्चालकहरु नेता भनाउँदा लोभीपापी आफ्ना जनताप्रति सम्मान दर्साउन त परै जाआोस्, उल्टै उनीहरुका पैसामा कमिसन खान्छन् । सरकारी संयन्त्र वैदेशिक रोजगार विभागका कर्मचारीहरुलाई सात पुस्ता खान पुग्ने बनाउन तिनै हाम्रा गरीब दुखी दाजुभाइहरुको पैसामा होली खेलिरहेका छन् ।
भोज भतेर खाइरहेछन् उच्च तहका सरकारी अधिकारीहरु, धिक्कार छ, तिनलाई लाज लाग्नु पर्ने हो । यस्ता गरीब दुःखी नेपालीले कति कष्टका साथ कमाएको थोरै सम्पत्तीमा पनि कर र कमिसन खोज्ने हाम्रो राज्य व्यवस्थालाई थुक्क थुकिदिन मन लाग्छ ।
रोजीरोटीको खाोजीमा स्वदेशमा कुनै उपाय नभए पछि आफ्नै देशको राष्ट्र निर्माण कार्यका सहभागी बन्न नपाए पछि दुःखीमय तर दह्रो आँट र कठिन कामलाई पनि चुनौती दिँदै हरेक दिन हजारौंको संख्यामा हाम्रा युवायुवती विदेशिइरहेछन् । कठै के गरुन् बाहिरतिर बीस लाख युवाले आफ्नै देश बनाउन र यहीँ श्रम रोपेर रगत पसिनाले मलजम गरेर आफ्नो देश सिंगार्न पाउने यस्तो वातावरण सरकारले जुटाइदिए हाम्रो माटो लछप्पै भिजाएर सिंचाइ गर्न र नयाँ नेपाल निर्माणको महायज्ञमा आहुती दिन पाएर कति खुसी हुन्थ्यो ! तिनको मन आफ्नै गाउँ ठाउँमा बसेर परिवारसँगै रहेर स्वदेश मै गरिखाने रहर कसलाई हुँदैन र ? उर्लंदो जवानी अनि बलिया बैंशालु हात पाखुराले आफ्नै देश बनाउन पाए धेरै दिन लाग्ने थिएन । धिक्कार छ देश चलाउने ठेक्का लिएर बसेका लाछी मुखुण्डालाई र उच्च सम्मान एवम्र प्रशंसाका साथ अभिनन्दन गर्दछु, ती मेरा श्रमजीवी दाजुभाइहरुलाई ।
Comments