अर्जुनधाराका रिमाल बन्धुहरुले खोले जयचन्द्र प्रतिष्ठान
Published:
by .अर्जुनधारा । इलाम जिल्लाको नामसालिङमा जन्मी हुर्की त्यही स्थानलाई कर्मथलो बनाएका जयधर्म र चन्द्रकला रिमालका सन्तानले उहाँहरुको स्मृतिमा जयचन्द्र प्रतिष्ठान गठन गरेका छन् । हाल झापाको अर्जुनधारा ६ मा बसोबास गर्ने रिमाल बन्धुहरुले आफ्ना हजुरबुवा हजुरआमाको नाममा जयचन्द्र प्रतिष्ठान २०६८ सालमा स्थापना गरिएको हो ।
प्राविधिक तथा प्रशासनिक प्रक्रिया पूरा गर्न ढिलाई हुँदा यसको औपचारिक उद्घाटन आज गरिएको हो । नामसालिङ नै गएर आज एक कार्यक्रमका बीच प्रतिष्ठानको ब्यानर अनावरण गरेर तथा टी–सर्ट वितरण गरी प्रतिष्ठानको उद्घाटन गरिएको संस्थापक मध्येका एक बसन्त रिमालले जानकारी दिए ।
उनका अनुसार हजुरबुवा जयधर्म रिमाल र हजुरआमा चन्द्रकला रिमालको जन्मथलो र कर्मथलो अर्थात् आफूहरुको पुर्खौली ठाउँको संरक्षण एवम् प्रवर्धनका लागि प्रतिष्ठान स्थापना गरिएको हो । आफ्ना पितापुर्खाले पसिना बगाएर साँची दिएका पुर्खौली ठाउँ खण्डहर बनाएर शहर केन्द्रित हुने प्रवृत्तिले आउँदा पुस्ताहरु समेतलाई अन्याय हुने ठहर गरी यस्तो कदम चालिएको बसन्तले जानकारी दिए ।
‘सबै सन्ततिले पुर्खौली ठाउँलाई उजाड बनाउँदै शहर छिर्ने हो भने एकदिन आफ्ना पुर्खा कहाँ थिए र आफ्नो परिवारको उद्गम थलो कहाँ हो भनी अबका पिढीले थाहा नपाउने भयले कम्तीमा जयधर्म र चन्द्रकला रिमालका सन्तानले यो समस्या नभोगुन्’ भनेर प्रतिष्ठान शुरु गरेको बसन्तको भनाई छ ।
प्रतिष्ठानले जयचन्द्र अक्षयकोष खडा गरिसकेको बताइएको छ । सो कोषको सहायताबाट पुर्खौली ठाउँको संरक्षण गर्ने, दिनदुःखीको सेवा गर्ने, सामाजिक धार्मिक एवम् मानव सेवा गर्ने प्रतिष्ठानको लक्ष्य छ । नामसालिङका मठमन्दिर, विद्यालय, पाटी–पौवाको निर्माण तथा संरक्षणमा प्रतिष्ठानले काम गर्ने जनाइएको छ । योसँगै हजुरबुवा र हजुरआमाको नाममा देशैभर सेवा गर्ने अठोट लिएको बसन्तले जानकारी गराएका छन् ।
प्रतिष्ठानका सभापति भक्तिप्रसाद रिमालको सभापतित्वमा ईन्द्रप्रसाद रिमालको प्रमुख आतिथ्यमा आज ब्यानर अनावरण तथा टी–सर्ट वितरण गरिएको हो । सो कार्यक्रममा प्रतिष्ठानको आवश्यकता, औचित्य एवम् भावी लक्ष्यहरुका बारेमा प्रतिष्ठानका सदस्यहरु बालकृष्ण, राजु र प्रबिण रिमालले आ–आफ्ना भनाइ राखेका थिए ।
Comments