Sajhamanch Archive

रेडक्रसकर्मी नेपालको निधनमा कांग्रेसले तीनदिन झण्डा झुकाउने

Published: in राजनीति, लोकप्रिय, समाज by .

बिर्तामोड । नेपाल रेडक्रस सोसाइटी झापाका पूर्व सभापति रेवतीरमण नेपालको निधनप्रति नेपाली काँग्रेस झापाले गहिरो दुःख व्यक्त गर्दै आजदेखि तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ ।

नेपाली काँग्रेस झापाका जिल्ला सदस्य, लोकतान्त्रिक आन्दोलनका योद्धा, हल्दिबारी माविका पूर्व शिक्षक तथा नेपाल शिक्षक संघ झापाका जिल्ला सदस्य नेपालको हिजो सोमबार राति कोभिड–१९ का कारण नोबेल मेडिकल कलेज बिराटनगरमा निधन भएको थियो ।

नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले मंगलबार शोक वक्तव्य जारी गर्दै नेपालको निधनले कांग्रेसलाई अपुरणीय क्षति भएको उल्लेख गरेका छन् । दुई कार्यकालसम्म सफलतापूर्वक रेडक्रसको नेतृत्व सम्हालेका नेपाल सामाजिक गतिविधिमा पनि उत्तिकै सक्रिय थिए ।

मेची प्रादेसिक अस्पताल भद्रपुरमा स्वाव परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएपछि गत कात्तिक १५ गते उपचारका लागि उनलाई नोवेल अस्पताल विराटनगर भर्ना गरिएको थियो ।

‘लोकतन्त्रको संस्थागत विकास, लोकतान्त्रिक संस्कार र पहिचानका लागि अहोरात्र क्रियाशील रेवतीरमण नेपाल गहिरो अध्ययन, परिणाममुखी तार्किक व्यक्तित्वका धनी भएको उल्लेख गर्दै शोक वक्तव्यमा सभापति थापाले लेखेका छन्, ‘भाषिक, शैक्षिक र सामाजिक क्षेत्रमा उहाँले पुर्याउनुभएको योगदान हाम्रा लागि सदा स्मरणीय रहनेछ ।’

स्वर्गीय नेपालको मंगलबार नै पवित्र कनकाई नदीमा हिन्दू विधिपूर्वक दाह संस्कार, अन्त्यष्ठी गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *