हाम्रो नेपाल र कान्तिपुर साकोसबीच एकीकरणसहित आठौं वार्षिक साधारणसभा सम्पन्न
Published:
by .बिर्तामोड । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारणसभा तथा दमकस्थित कान्तिपुर साकोससँगको एकीकरण सभा आज बिर्तामोडमा सम्पन्न भएको छ ।
झापा जिल्ला सहकारी संघका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य गणेश ढकालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कोरोना महामारीका कारण संक्रमण फैलनबाट जोगिन ठूलो संख्यामा हुने उपस्थितिलाई घटाएर सानो आकारमा साधारणसभा सम्पन्न गरिएको थियो ।
उपसमितिस्तर सम्मको प्रतिनिधित्व तथा इकाइस्तरबाट चुनिएर आएका सदस्यहरुले माइन्युट प्रमाणीकरण गर्ने नीति अनुरुप साधारणसभा सम्पन्न गरिएको जनाइएको छ ।
हाम्रो नेपालका अध्यक्ष भवानीप्रसाद दंगाल र कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष वासुदेव भट्टराईको संयुक्त अध्यक्षतामा सम्पन्न साधारणसभामा दंगालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले संस्थाले चालू आर्थिक वर्षका लागि तयार गरेको कार्यक्रमहरु हल समक्ष प्रस्ताव गर्दै गत आर्थिक वर्षको कार्यप्रगति विवरण सुनाएका थिए ।
हाम्रो नेपालका सदस्यहरुले जन्मदेखि मृत्युसम्म संस्थाको अभिभावकत्व पाउनेछन् भन्ने ‘थिम’मा सेवा प्रवाह गर्दै आएकोले सामाजिक सुरक्षामा मोटो रकम खर्च गर्न थालिएको अध्यक्ष दंगालले सुनाए । सुत्केरी पोषण भत्ता, नवजात शिशु सुविधादेखि शिक्षा, स्वास्थ्य उपचार, काजकिरिया खर्च प्रदान, ऋण मिनाहालगायत धेरै शीर्षकमा सदस्यले सेवा पाउँदै गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
संस्था विकासको चरणमा रहेकाले यो अवधिमा सिङ्गो परिवार प्रतिवद्ध भएर लाग्नुको विकल्प नरहेकाले कोरोना महामारीले आर्थिक मन्दी सुरु भइसके पनि आफ्नो संस्थाले सदस्यहरुले पाउने प्रतिफलमा कन्जुस्याईं नगरेको उनको भनाई छ ।
कार्यक्रमका प्रमुख अतिथि ढकालले हाम्रो नेपाल साकोसलाई जिल्लाकै अग्रणी संस्थाको संज्ञा दिँदै कोरोना कहरको बीचमा पनि संस्थाले गरेको प्रगतिलाई मूल्याङ्कन गर्दा कोरोना परास्त गरेको भनी प्रशंशा गरे । जिल्लामा १० अर्बको वासलात भएका संस्थासँग एक अर्ब वासलात भएको हाम्रो नेपालले प्रतिष्पर्धा गर्नुपर्ने बाध्यता भए पनि सेवामा गुणस्तरीयताबाट यो सम्भव हुने उनको भनाई छ ।
सेवा केन्द्र १५ बाट ३० बनाउने कुरा स्वागतयोग्य भएपनि हरेक शाखाको कारोबार १० करोडभन्दा कम्ती भएमा अरुसँग प्रतिष्पर्धा गर्न नसकिने भएकाले गुणस्तरीयतातर्फ ध्यान दिन सञ्चालकहरुलाई आग्रह गरे । अब बचत तथा ऋणको कारोबारले मात्र सहकारी चल्न सक्ने अवस्था नरहेकाले सदस्यलाई सहज ऋण प्रवाह गरी व्यवसायिक प्रवर्धनमा ध्यान दिन उनको आग्रह छ ।
साधारणसभामा मन्तब्य राख्दै नेफ्स्कुनका सञ्चालक एवम् झापा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष घनश्याम अधिकारीले आफ्नो संस्थाको हालैको बैठकले संस्था एकीकरणकर्ताहरुलाई प्रोत्साहनको व्यवस्था गर्ने निर्णय भएको जनाए । नेफ्स्कुनको बैठकले एकीकरणका लागि प्रोत्साहन गर्दै सरकारको तर्फबाट पनि ऋणमा सहुलियतको व्यवस्था गर्न आग्रह गरेको उनको भनाई छ ।
कोरोना कहरले सहकारीलाई पनि अत्यन्त धेरै अप्ठ्यारो पारेको भन्दै आफ्नो छाता संस्थाले तीन चरणमा असर पर्ने भनी वर्गीकरण गरेर सो को न्यूनिकरणमा लागेको अधिकारीले जिकिर गरे ।
कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं. ४ का वडाध्यक्ष कूलप्रसाद संग्रौलाले सदस्यहरुको कोरोना बीमा गरिदिने जिल्लाकै पहिलो सहकारी संस्था भएकोमा हाम्रो नेपाल साकोसलाई धन्यवाद दिँदै भुक्तानीका लागि आउने सिफरिसमा कुनै विलम्व हुन नदिने प्रतिवद्धता जनाए । यस्तै राष्ट्रिय सहकारी बैंक बिर्तामोड शाखाका प्रमुख मुना घिमिरेले हाम्रो नेपाल साकोस निरन्तर सफलता उन्मुख रहेकाले सञ्चालक समिति एवम् सदस्यहरुको सक्रियताका लागि बधाई दिइन् ।
साधारणसभा तथा एकीकरण सभाका अर्का अध्यक्ष वासुदेव घिमिरेले कार्यक्रममा आमन्त्रितहरुलाई धन्यवाद दिँदै दुई संस्थाबीचको एकीकरणमा कुनै विमति नभएको स्पष्ट पारे । दमकमा हाम्रो नेपालको कान्तिपुर सेवा केन्द्र सञ्चालन हुनेगरी सोही बमोजिक नीति विधि र विनियममा चल्ने प्रतिवद्धता व्यक्त गरे ।
साधारणसभाकै बीचमा कान्तिपुर साकोसका सबै समिति उपसमितिका पदाधिकारीहरुलाई सम्मानपत्रसहित विदाई गरिएको छ ।
Comments