दाहाल परिवारको एक्लो चिराग बचाई दिन अपील
Published:
by .पाँचथर । जिल्लाको याङवरक गाउँपालिका वडा नं ४ थर्पु निवासी २२ वर्षीय विकास दाहाल विश्वका थोरैमात्र मानिसलाई लाग्ने घातक रोग Guillain Barre syndrome 2017 बाट पिडीत भई जीवन मरणको दोसाँधमा पुगेका छन् ।
गएको असार अन्तिम साता राति सुतिरहेको अवस्थामा देब्रे पाटो नचलेपछि उनलाई उपचारका लागि बिर्तामोडको विर्ता सिटी अस्पताल पुर्याइएको थियो । सो अस्पतालमा उपचार होइन, रोगको नामसमेत पत्ता नलागे पछि बिराटनगरको नोवेल अस्पताल लगिएको परिवारले जनाएको छ ।
सो अस्पतालका नसा विशेषज्ञ डा. डिल्लीराम काफ्लेले रोग पत्ता लगाई १९ दिनसम्म उपचार गरी केही सुधार भएपछि डिस्चार्ज गरिएको थियो । तर डिस्चार्ज गरेको भोलिपल्टैदेखि समस्या भएपछि पुनः नोवेल अस्पताल नै पुर्याइएको थियो ।
त्यहाँका चिकित्सकले सो अस्पतालमा उपचार सम्भव नहुने बताएपछि उनलाई काठमाडौंको नर्भिक अस्पताल रिफर गरिएको छ ।
हाल नर्भिक अस्पतालको आईसियु कक्षमा राखेर विकासको उपचार भइरहेको सो रोगका विशेषज्ञ डा. पंकज जलनले दावी गरेका छन् ।
सो अस्पतालमा दैनिक ५५ हजार रुपैयाँ खर्चेर विकासको उपचार गरिरहेको उनकी आमा सितादेवी दाहालले बताएकी छन् । सामान्य आर्थिक हैसियत भएका विकासको परिवारका लागि यति महङ्गो उपचार खर्च व्यहोर्न हम्मे हम्मे परिरहेको छ ।
अहिलेसम्ममा ३५ लाख रुपैयाँ सकिइसकेको विकासका भिनाजु राजकुमार न्यौपानेले बताएका छन् ।
चिकित्सकले पैसा खर्च गर्न सक्नेभए उपचार सम्भव छ भनेकोले विकासको सिङ्गो परिवारलाई यतिबेला मोटो रकम जुटाउनु पर्ने दायित्व पनि थपिएको छ । लगभग ६० लाख रुपैयाँ खर्च हुने चिकित्सकको भनाई सम्झेर सिङ्गो परिवार उक्त मोटो रकम कसरी जुटाउने भन्ने मानसिक तनावमा पनि परेको जनाइएको छ ।
विकासको उपचारमा संलग्न चिकित्सक डा. पंकजकुमार जलनले सोही अस्पतालमा उपचार गरेर एकजनाको जीवन बचाएको दावी गरेका छन् । उनले विकासलाई पनि सक्दो प्रयास गरेर उपचार गर्ने विश्वास पनि दिलाएका छन् । विकासको जीवन बचाउन सकिएमा दुई वर्षपछि उनी सामान्य अवस्थामा आउने पनि चिकित्सक जलनको दावी छ ।
चिकित्सकको यस्तो ढाडसले पनि विकासको उपचारका लागि अब सहयोगी मनहरु जुट्न आवश्यक भइसकेको छ । याङवरक गाउँपालिका वडा नं ४ थर्पुले विकासको उपचारका लागि आर्थिक सहयोग गरिदिन सर्बसाधारण समेतलाई आग्रह गरेर सिफारिस पनि दिएको छ । सोही सिफारिसका आधारमा केही सहयोगी मनहरु अग्रसर भएका छन् ।
उनको परिवारले यथासक्य सहयोग गरिदिन सबैमा अपील पनि गरेको छ । परिवारको एक्लो छोरो विकासका बाबुआमा यतिखेर आफ्नो छोरोलाई एक–एक रुपैयाँ सहयोग गरेर बचाइदिन आग्रह गरिरहेका छन् ।
आर्थिक सहयोगका गर्नका लागि विकासका भिनाजु रमेश सुवेदीको नाममा रहेको लक्ष्मी विकास बैंकको खाता नम्बर ०७५४८०१०३०६ र राजकुमार न्यौपानेको एनआईसी एशिया बैंकको खाता नम्बर ८५८७९७४७१४३८२४०१ मार्फत् रकम पठाई दिन आग्रह गरिएको छ ।
भिनाजु राजकुमार न्यौपानेको मोबाइल नम्बर ९८४२६२४७३१ मा सम्पर्क गरेर विकासको स्वास्थ्य अवस्था बारे जानकारी लिन सकिने पनि परिवारले आग्रह गरेका छन् ।
Comments