एसियन हाइवेको टच काँकरभिट्टामा, पूर्व–पश्चिम राजमार्गमा कहिले होला विस्तार
Published:
by .मेचीनगर । एसियाली राष्ट्रबीच सडक सञ्जाल विस्तार गर्ने सहमति अनुरूप ‘एसियन हाइवे’ केही महिना पहिले नेपालको पूर्वी सिमानासम्म आइपुगेको छ । भारतले पश्चिम बंगाल हुँदै नेपालको काँकडभिट्टा नाकासम्म उक्त हाइवे विस्तारको काम सम्पन्न गरेको हो ।
‘एसियन हाइवे’ सडक सञ्जालमा जोडिएसँगै नेपालको ग्रामीण स्तरको व्यवसायले पनि अन्तर्राष्ट्रिय बजारको सम्भावना बोक्ने आशा व्यवसायीको छ । एसिया उपक्षेत्रीय आर्थिक सहयोग–सडक सञ्जाल परियोजनाअन्तर्गत एसियाली विकास बैंकको सहयोगमा नेपालको पूर्वीद्वारस्थित मेची नदीमा चार लेनको ‘मितेरी पूल’ बनेको छ। मेची नदीमा चार लेनको पूल निर्माणसँगै ‘ए क्लास’ को एसियाली राजमार्गसँग नेपालको पहुँच जोडिएको सडक विभागका महानिर्देशक केशवकुमार शर्माको भनाई छ ।
करिब डेढ अर्ब भारतीय रुपैयाँ ऋण सहयोगमा भारतले ६ लेन सडकसहित नेपाल–भारत सीमास्थित मेची नदीमा ७९० मिटर लामो पूल बनाएको छ । २०७३ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच मेची नदीमा पूल निर्माण गर्ने सम्झौता भएको थियो ।
२०७४ फागुनबाट औपचारिक रूपमा पूल निर्माणको काम सुरु भएको थियो । नेपाल–भारत सीमाको मेची नदीमा चार लेनको पूल बनेसँगै काँकरभिट्टा बसपार्कसम्म चार लेनको फराकिलो सडक निर्माण भएको छ । जसलाई ‘एसियन हाइवे’को एप्रोच रोड भनिएको छ ।
उक्त सडकमा ढलसँगै विद्युतीय पोल राख्ने काम सम्पन्न भएकाले काँकरभिट्टामा साँझमा झन् आकर्षक र झलमल्ल देखिन्छ। भारतले सीमावर्ती पश्चिम बंगालमा दुई वर्षअघि मात्रै एसियन हाइवे निर्माण गरेको थियो । उक्त सडक बनेसँगै काँकरभिट्टाबाट २८ किलोमिटर दूरीमा पर्ने सिलगुडी सहजरूपमा आवतजावत गर्न सकिने भएको छ ।
नेपालका पूर्व–पश्चिम महेन्द्र राजमार्ग र अरनिको राजमार्ग ‘एसियन हाइवे’ अन्तर्गत पर्छन् । पूर्व–पश्चिम राजमार्गलाई पनि चार लेनमा विस्तार गर्ने काम सुरु भइसकेको छ । एसियन हाइवे थाइल्यान्डको बैंककबाट सुरु भई म्यान्मार, बंगलादेश, भारत हुँदै नेपालको काँकरभिट्टाबाट पूर्व–पश्चिम राजमार्ग भएर भारतको दिल्ली हुँदै पाकिस्तानको कराँचीसम्म पुग्नेछ ।
यद्यपी नेपालको करिब ११ सय किलोमिटर महेन्द्र राजमार्ग र अरनिको राजमार्ग कहिले एशियन हाइवेमा विस्तार हुन्छ भन्ने चाहिँ अहिलेसम्म प्रष्ट पारिएको छैन ।
Comments