Sajhamanch Archive

एफएनसिसिआईको वरिष्ठ उपाध्यक्षमा ढकाल निर्वाचित

Published: in अर्थतन्त्र, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा आफ्ना प्रतिद्वन्दी किशोर प्रधानलाई पराजित गर्दै उनी वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् ।

अब आगामी कार्यकालका लागि ढकाल निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघको २०औं अध्यक्ष बन्ने निश्चित भएको छ । नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष ढकालले शेखर गोल्छापछि महासंघको नेतृत्व सम्हाल्नेछन् ।

३० प्रतिशत मत भार रहेको एशोसिएटमा चन्द्र ढकालले ५२२ र किशोर प्रधानले ३७५ मत ल्याएका छन् । २० प्रतिशत मत भार रहकेको वस्तुगतमा चन्द्र ढकालले ५९ किशोर प्रधानले ३९ मत ल्याए । ५० प्रतिशत मत भार रहेको जिल्ला–नगरतर्फ चन्द्र ढकालले ५२ र किशोर प्रधानले ५३ मत ल्याएका थिए ।

ढकालले वस्तुगगत तर्फ १२ दशमलव ०४ प्रतिशत, उद्योग वाणिज्य तर्फ २४ दशमलव ७६ प्रतिशत, एसोसिएट तर्फ १७ दशमलव ४६ प्रतिशत मतबाट कूल ५४ दशमलव २६ प्रतिशत मत प्राप्त गरेरे विजयी भएका हुन् । प्रधानले ४५ दशमलव ७४ प्रतिशत मात्रै मत पाउन सफल भए ।

शनिबार राति नै मत परिणाम आएको महासंघको वस्तुगततर्फको उपाध्यक्षमा प्रधान पक्षका अञ्जन श्रेष्ठ, जिल्ला नगरतर्फ पनि प्रधानपक्षकै दिनेश श्रेष्ठ र एसोसिएट्स तर्फ ढकाल पक्षका रामचन्द्र संघाइ विजयी भएका छन् ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था गरेकोले उपाध्यक्ष र सोभन्दा मुनिका विभिन्न पदमा शनिबार मतदान भएको थियो ।

नेपालमा प्रजातन्त्र प्राप्तिपछि सुरु भएको वाणिक मण्डलदेखि २००८÷००९ सालतिर खुलेको अखिल नेपाल व्यापार संघले पनि अहिलेको महासंघले जस्तै व्यापार र व्यापारीको हकहितमा काम गरेको थियो । वि.सं. २००९ सालमा नेपाल चेम्बर अफ कमर्स नामक आर्थिक संगठनको स्थापना भयो । त्यसैको विकास हुँदै वि सं. २०२२ सालमा तत्कालीन तदर्थ समितिका संयोजक लोकनाथ जोशीको नेतृत्वमा महासंघको स्थापना भएको थियो ।

उनले २ वर्षसम्म महासंघको नेतृत्व गरेपछि महासंघको अध्यक्षको जिम्मेवारी जुद्धबहादुर श्रेष्ठलाई दिइएको थियो । त्यसपछि निवर्तमान अध्यक्ष भवानी राणाको समयसम्म आइपुग्दा १८ जना अध्यक्षहरुले महासंघको नेतृत्व गरिसकेका छन् । १९ औं नेतृत्वको रुपमा अबको एक कार्यकाल शेखर गोल्छाले गर्नेछन् भने अहिले वरिष्ठ उपाध्यक्ष जितेका ढकालले महासंघको २०औं अध्यक्षको रुपमा आफ्नो जिम्मेवारी सम्हाल्नेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *