Sajhamanch Archive

बिर्तामोडस्थित उदयशील महिला सहकारीको शेयर पूँजी २२ प्रतिशतले वृद्धि

Published: in मुख्य समाचार, सहकारी by .

बिर्तामोड । झापाको बिर्तामोड– ४ मा मुख्य कार्यालय रहेको उदयशील महिला बचत तथा ऋण सहकारी संस्थाले कोरोना महामारीका बीच आफ्नो १३औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

नवगठित प्रदेश १ सहकारी संघका सचिव तथा झापा जिल्ला सहकारी संघका सहसचिव भवानीप्रसाद दंगालको प्रमुख आतिथ्यमा संस्थाका अध्यक्ष्य राधा राईको अध्यक्षतामा संस्थाले वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

२५ जना शेयर सदस्यहरुबाट संस्था दर्ता गरी सहकारी सञ्चालन गरेको उदयशीलमा हाल २ हजार १९४ जना शेयर सदस्य रहेको बताइएको छ । ६१ लाख ७० हजार ९०० रुपैयाँ शेयर पूँजी रहेको सहकारीमा गत आर्थिक वर्ष २०७६/२०७७ असार मसान्तमा २२ दशमलव ४७ प्रतिशतले शेयर रकम वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

एक करोड सात लाख १७ हजार ६७ रुपैयाँ निक्षेप मौज्दात रहेको उदयशील सहकारीमा अघिल्लो आर्थिक वर्ष ६ लाख ५९ हजार ६५२ रुपैयाँ वृद्धि भई संस्थाको निक्षेप एक करोड १३ लाख ७६ हजार ७१९ रुपैयाँ पुगेको संस्थाका अध्यक्ष राईले बताइन् ।

संस्थाको कोष ३३ लाख ६९ हजार ४२५ रुपैयाँको रहेको छ भने जगेडा कोषमा १२ लाख २७ हजार २४३ रुपैयाँ, जोखिम कोषमा ५ लाख १९ हजार ७५४ रुपैयाँ र अन्य कोषमा १६ लाख २२ हजार ४२८ रुपौयाँ ५१ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले आर्थिक वर्ष २०७७/०७८ मा शेयर पूँजी वृद्धि गर्दै एक करोड रुपैयाँ पुर्याउने लक्ष्य लिएको अध्यक्ष राईको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाका उपाध्यक्ष भीमकुमारी लिङ्देनले स्वागत गरेको कार्यक्रममा साधारणसभाका प्रमुख अतिथि दंगालले सहकारी क्षेत्रमा महिलाको उपस्थिति धेरै भए पनि नेतृत्व तहमा थोरैमात्र महिला पुगेको बताए । उनले महिलालाई नेतृत्व दिन्छु भन्दा पनि थोरै महिला मात्रै अग्रसर हुने बताउँदै उदयशील महिला सहकारीमा महिलाको सक्रियता उल्लेख्य रहेकोप्रति प्रशंसा गरे ।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव कल्पना अधिकारीले गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *