Sajhamanch Archive

सहारा नेपालले कोरोनाको उपचारमा तीन लाख रुपैयाँसम्म सदस्यलाई सहयोग गर्ने

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, सहकारी by .

झापा । नेपालकै उत्कृष्ट, धेरै सदस्य भएको एवम् ठूलो वित्तीय कारोबार गर्ने सहकारीको उपमा पाउँदै आएको सहारा नेपाल साकोसले अस्पताल भर्ना भएर कोभिड–१९ को उपचार गर्नुपर्ने भए, आइसियुमा बस्नुपर्ने भए, प्लाज्मा थेरापी गर्नुपर्ने भएमा आफ्ना सदस्यलाई तीन लाख रुपैयाँसम्म उपचार सहयोग प्रदान गर्ने नीति बनाएको छ ।

२४औं वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा आज नवनिर्मित प्रधान कार्यालय भवनमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले यस्तो जानकारी दिएका हुन् । पत्रकार सम्मेलनमाझ संस्थाका पदाधिकारीहरुद्वारा वार्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक गरिएको हो । संस्थाको कोभिड सहायता कार्यक्रम अन्तर्गत शेयर सदस्यमा कोभिड पोजिटिभ देखिए घरमै वा आइसोलेशनमा बस्नुपर्ने भए १४ दिनसम्म दैनिक ५०० रुपैयाँका दरले कोरोना भत्ता उपलब्ध गराउनेसमेत तयारी भएको गिरीले बताएका छन् ।

कोरोना महामारी बढ्दै गएकोले शेयर सदस्यहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै २५ बेडको आइसोलेशन राख्न पहल गरिएको समेत गिरीले बताए । सहाराले सञ्चालन गरिआएको स्वास्थ्य कार्यक्रम अन्तरगत सिनियर सिटिजन केयर, वेलनेस सेन्टर स्थापना र अनलाइन फार्मेसी सेवा सञ्चालन गर्ने तयारी भएको छ ।

सहारा नेपालले आफ्नो कार्यक्षेत्र थप ५ जिल्लामा बिस्तार पनि गरेको जनाइएको छ । ताप्लेजुङ, तेह्रथुम, खोटाङ, धनकुटा र ओखलढुङ्गा जिल्लाका २–२ वटा पालिकामा संस्थाको कार्यक्षेत्र विस्तार गरिएको हो । योभन्दा पहिले झापा, इलाम, पाँचथर, मोरङ, सुनसरी र उदयपुर जिल्लालाई संस्थाले कार्यक्षेत्र बनाएको थियो । चालू वर्षदेखि संस्थाको कार्यक्षेत्र ११ जिल्लाका ८० वटा पालिकामा पुगेको छ । आगामी वर्ष प्रदेशका सवै जिल्लामा कार्यक्षेत्र बिस्तार गर्ने संस्थाको लक्ष्य रहेको बताइएको छ ।

संस्थामा गत असार मसान्तमा एक लाख ४३ हजार ९८३ जना शेयर सदस्य रहेका कार्यकारी प्रमुख गिरीले बताए । संस्थाको वित्तीय अवस्था अत्यन्तै मजबुद रहेको बताउँदै उनले संस्थाको शेयर पूँजी एक अर्ब ३४ करोड ९१ लाख, जगेडा तथा अन्य कोषमा एक अर्ब २१ करोड ५८ लाख, बचततर्फ ६ अर्ब १० करोड ९४ लाख, भौतिक सम्पत्तीतर्फ ३४ करोड ५१ लाख र बाह्य ऋण ९८ करोड ९९ लाख रहेको जानकारी दिए । कोरोना कहरले वित्त बजारमा आएको शिथिलताका बीचमा पनि सहाराले २५ करोड ९ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको कार्यकारी प्रमुख गिरीले जानकारी गराएका छन् ।

कोरोना महामारीको त्रासमा सरकारले गरेको लामो लकडाउन तथा वित्तीय कारोबारमा आएको गिरावटका कारण सदस्यहरुमा परेको संकटलाई टार्न सहाराले शेयर सदस्यहरुलाई सहयोग र कर्जामा ब्याज मिनाहन गरेको जनाइएको छ । कोभिडका कारण ब्यापार व्यवसाय चलाउन गाह्रो भएर साँवा व्याज तिर्न नसकेको अवस्थामा कुनै पनि हर्जना जरिवाना नलिइएको, असार मसान्तसम्म ऋणमा पाकेको ब्याजको १० प्रतिशत ब्याज मिनाहा गर्दा ३ करोड ४५ लाख छुट दिएको समेत जानकारी गराइएको छ ।

संस्थाका उपाध्यक्ष उपेन्द्रप्रसाद ओलीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा उपस्थित तथा आमन्त्रितहरुलाई महिला उपाध्यक्ष पवित्रा सुब्बाले स्वागत गरेकी थिइन् भने सहसचिव ज्ञाननाथ मैनालीले उपस्थित सबैलाई धन्यवाद दिएका दिए ।

यसैबीच, यो वर्षको सहारा पत्रकारिता पुरस्कार इन्द्रजीत मुखियालाई प्रदान गरिने भएको छ । २४औं वार्षिक साधारणसभामा मुखियालाई सहारा पत्रकारिता पुरस्कार प्रदान गरिने कार्यकारी अधिकृत गिरीले पत्रकार माझ सुनाए । मुखिया नेपाल टेलिभिजनका झापा सम्वाददाता तथा इक्सा मिडिया ग्रुपका सम्पादक हुन् । उनी नेपाल पत्रकार महासंघ झापाका सहसचिव हुन् ।

२५ वर्ष अघिबाट नेपाल टेलिभिजनमा समाचारदाताको रुपमा काम गर्दै आएका मुखिया टेलिभिजनबाट उत्कृष्ट सम्वाददाताको रुपमा पुरस्कृत भइसकेका छन् । उनी आदिवासी जनजाति पत्रकार महासंघ झापाका पूर्वअध्यक्ष पनि हुन् । टेलिभिजन समाचारमा पोख्त रहेका मुखिया मिजासिला र कुशल भिडियो ग्राफर पनि हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *