जनशक्ति सहकारीको नाफा ४ लाख २५ हजार
Published:
by .बिर्तामोड । झापाको बिर्तामोड–४ स्थित जनशक्ति बचत तथा ऋण सहकारी संस्थाले आ. व. २०७६/०७७ मा ४ लाख २५ हजार १५३ रुपैयाँ मुनाफा गरेको छ ।
विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण पाँच महिना अर्थतन्त्र ठप्पप्रायः भएको अवस्थाका बीच पनि संस्थाले नाफा कमाउन सफल भएको हो ।
शनिबार संक्षिप्त उपस्थितिमा सम्पन्न छैठौ साधारणसभाको उद्घाटन समारोहमा संस्थाका अध्यक्ष हिमालयप्रकाश कन्दङवाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कोरोना कहरका बीच पनि संस्थाले सन्तोषजनक कारोबार गरेको उल्लेख गरे । कोभिड १९ को जोखिम कायमै रहेकोले न्यून उपस्थितिमा साधारणसभा सम्पन्न गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकालले कोरोनाको त्रासका बीच पनि सहकारीहरुले सदस्यका वित्तीय तथा सामाजिक आवश्यकताहरु पूरा गरेको भन्दै यसले सहकारीको महत्व अझ बढाएको बताए । उनले अब सहकारीलाई उत्पादनसँग जोडेर व्यावसायिकतातिर लैजानुपर्नेमा जोड दिए ।
संस्थाका सचिव मणिराज दंगालले सञ्चालन गरेको कार्यक्रममा प्रस्तुत प्रगति प्रतिवेदन अनुसार आ. व. २०७६/०७७ को अन्त्यसम्ममा संस्थाले एक करोड ५१ लाख शेयर पूँजी पुर्याएको उल्लेख छ । यसैगरी, ५ करोड ४ लाख ४६ हजार ८३२ रुपैयाँ निक्षेप संकलन र ५ करोड ५३ लाख ५५ हजार ४४८ रुपैयाँ ऋण लगानी गरेको छ । त्यो वर्ष संस्थाले १ करोड १४ लाख ७ हजार ३०० आम्दानी गरेको छ भने १ करोड ९ लाख ८२ हजार १४६ रुपैयाँ खर्च भएको प्रतिवेदनमा जनाइएको छ ।
साधारणसभाको अवसरमा संस्थाले एक–एक जना उत्कृष्ट बचतकर्ता, ऋणी र कर्मचारीलाई नगदसहित सम्मान गरेको छ । उत्कृष्ट बचतकर्तातर्फ लेखनाथ गुरागाईं, उत्कृष्ट ऋणी रुपा तामाङ र उत्कृष्ट कर्मचारी तारादेवी अधिकारीलाई सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला, कर्णाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टसबहादुर प्रधानलगायतले शुभकामना व्यक्त गरेका थिए । संस्थाका सञ्चालक सदस्य विष्णुप्रसाद योङहाङले आमन्त्रितहरुलाई शब्दद्वारा स्वागत गरेका थिए ।
Comments