Sajhamanch Archive

एनएमसीको २८औं वार्षिक साधारणसभा छरितोगरी शनिबार सम्पन्न

Published: (Updated: ) in मुख्य समाचार, समाज, सहकारी by .

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको २८औं वार्षिक साधारणसभा अन्तरगत माइन्युट प्रमाणित सभा मंसिर २७ गते सम्पन्न गरिएको छ । संस्थाका संस्थापक सदस्य, पूर्व सञ्चालक एवम् प्रदेशसभा सदस्य श्रीप्रसाद मैनालीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

संस्थाको दोस्रो व्यवसाय एनएमसी डेरीको परिसरमा सम्पन्न माइन्युट प्रमाणित साधारण सभामा ४० वटै कार्यालयबाट चुनिएर आएका प्रतिनिधिहरु, विभागीय समितिहरु, सञ्चालक समिति र लेखा समितिका सम्पूर्ण प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

साधारणसभाको उद्घाटन पछि मन्तब्य राख्दै प्रमुख आतिथि सांसद मैनालीले प्रदेश सरकारबाट एनएमसीलाई नमूना सहकारीको रुपमा घोषणा गराउने प्रयत्न भइरहेको बताए ।

एनएमसीमा आर्थिक पारदर्शिता, अनुशासन र नेतृत्वको निरन्तरताको कारण सफलता प्राप्त गरेको सुनाउँदै उनले देशकै ठूलो र नमूना सहकारीका रुपमा क्रियाशील बन्न सकेकोमा बधाई पनि दिएका छन् ।

प्रदेशसभा सदस्य मैनालीले संस्था स्थापनाको पृष्ठभूमि केलाउँदै २५ वर्षसम्म सञ्चालक समितिमा रहेर आफूले तोकिएका जिम्मेवारी पूरा गरेको स्मरण पनि गरेका थिए ।

साधारणसभाका विशेष अतिथि मेचीनगर नगरपालिकाका उपप्रमुख मिना पोखरेल उप्रेतीले सहकारीका सदस्यको मायाले नै आफूले उक्त पदमा विजय हासिल गरेको सुनाइन् ।

मेचीनगरको कार्यवाहक प्रमुखसमेत रहेकी उप्रेतीले एनएमसीले कृषिक्षेत्रमा अग्रसर भएकाले सहकार्यका लागि मार्ग खुलेको बताइन् ।

नगरपालिका स्थानीय सहकारीहरुबीच समन्वय गर्न मेचीनगरमा सहकारी समन्वय समितिसमेत बनाइएको जानकारी दिँदै उनले कृषि क्षेत्रलाई प्राथमिकता दिँदै समितिको सिफरिसमा ५० लाख रुपैयाँ सहयोग गर्ने गरी बजेट व्यवस्थापन गरिएको पनि जानकारी दिइन् ।

साधारणसभाका अर्का वक्ता नेफ्स्कुनका सञ्चालक घनश्याम अधिकारीले एनएमसीले सुरु गरेका कतिपय नीति, नियम तथा विधि र प्रक्रियाहरु सहकारीका ऐन, नियम बनाउँदा सहयोगी बन्दै आएको स्मरण गराए ।

एनएमसी सहकारी सिक्नेहरुका लागि उपयुक्त संस्था भएको भन्दै अधिकारीले झापाको सहकारी अभियानमा अग्रणी रहेको पनि बताए ।

सो कार्यक्रममा झापा जिल्ला सहकारी संघका सञ्चालक दुर्गा खतिवडाले सहकारी पसलले सुपथ मूल्यमा सामग्री उपलब्ध गराएकोमा सराहना व्यक्त गरिन् ।

धुलाबारी निवासी खतिवडाले घरायसी सामग्री खरिद गर्न चारआलीस्थित एनएमसी कोपसपमा पुग्नु परेको भन्दै धुलाबारीमा छिट्टै पसल खोल्न आग्रह पनि गरिन् ।

एनएमसी नमूना कृषि परियोजनाबाट उत्पादित सागसब्जीहरु सोझै उपभोक्ताको हातमा पुग्ने व्यवस्था मिलाउन उनको सुझाव छ । नत्र अन्य साग सब्जीसँग मिसाएर बजारमा बेच्न राख्दा सो को भ्यालु घट्ने अवस्था पनि उनले अथ्र्याइन् ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले सञ्चालन गरेको साधारणसभा समारोहमा संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै लेखा सुपरीवेक्षण समितिका संयोजक विष्णु गौतमले आफ्नो प्रतिवेदन सुनाए ।

उक्त प्रतिवेदन माथि संस्थाका छवटा क्षेत्रीय समितिका संयोजकहरुले ४० वटै कार्यालयको तर्फबाट संकलित प्रतिक्रिया तथा सुझावहरु बुँदागतरुपमा प्रस्तुत गरेका थिए । शिवसताक्षी क्षेत्रबाट गुरुप्रसाद पाठक, कनकाई क्षेत्रबाट मीनकुमार प्रधान र अर्जुनधारा क्षेत्रबाट धर्मानन्द गुरागाईले प्रतिवेदनमाथि टिप्पणी तथा सुझावहरु प्रस्तुत गरेका थिए ।

यसरी नै, बिर्तामोड क्षेत्रबाट शान्ता रोका, भद्रपुर क्षेत्रबाट यामनाथ शिवाकोटी र मेचीनगर क्षेत्रबाट कनकबहादुर कार्कीले कार्यालयगत साधाराणसभाबाट प्रस्तुत गरिएका सुझाव एवम् प्रतिक्रियाहरु सुनाएका थिए ।

उक्त बुँदाहरुमाथि संस्थाका अध्यक्ष उप्रेतीले संस्थाको धारणा तथा कार्यान्वयनको सम्भावना प्रस्तुत गरेका थिए ।

यस्तै लेखा सुपरीवेक्षण समितिका संयोजक विष्णु गौतमले पनि आफ्नो प्रतिवेदनमाथि उत्पन्न प्रतिक्रिया र सुझावहरु कार्यान्वयन गर्न सञ्चालक समितिलाई झक्झकाउने प्रष्ट पारे ।

साधारणसभा उद्घाटन समारोहमा सञ्चालक समिति सदस्य ठाकुरप्रसाद सिवाकोटीले सभाको प्रक्रिया, सहकारी ऐन नियम एवम् विभागले जारी गरेको परिपत्रबारे सभालाई अवगत गराएका थिए । साधारणसभामा उपस्थितहरुलाई वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद कोइरालाले शब्द स्वागत गरेका थिए ।

साधारणसभाको अवसरमा संस्थाका ४ जना कर्मचारीहरु सम्मानित तथा पुरस्कृत भएका छन् । संस्थाले वर्ष उत्कृष्ट कर्मचारीका रुपमा आलेप विभागका सुबोध बुढाथोकीलाई पुरस्कृत गरेको छ ।

यस्तै वर्ष उत्कृष्ट कार्यालय प्रमुखमा चारआलीका प्रकाश पौडेल, उत्कृष्ट बजार प्रतिनिधि काँकरभिट्टाका यादव थापा र दीर्घसेवा पुरस्कार सगरमाथा कार्यालयका पूर्वप्रमुख कृष्ण पौडेललाई प्रदान गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *