Sajhamanch Archive

मोरङमा १० बिघा १४ कट्ठामा ज्येष्ठ नागरिक ग्राम बनाइँदै

Published: in प्रदेश तह, समाज by .

विराटनगर । हेरचाहविहीन वृद्धवृद्धा र असहायको संरक्षणका लागि प्रदेश १ सरकारको लगानीमा मोरङमा ज्येष्ठ नागरिक ग्राम बन्ने भएको छ। मोरङको ग्रामथानमा १० बिघा १४ कट्ठा क्षेत्रफल जग्गामा ग्राम बन्ने भएको हो।

निर्माण सुरु गर्न लागिएको ज्येष्ठ नागरिक ग्रामको आज प्रदेशका मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री जीवन घिमिरेले शिलान्यास गर्दैछन्। ग्राम निर्माणका लागि सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्षका लागि तीन करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालका अनुसार वहुवर्षीय योजनाअन्तर्गत ग्राम बन्न लागेको हो। शिलान्यास कार्यक्रममा पूर्व मिस नेपाल तथा ज्येष्ठ नागरिक ग्रामकी डिजाइनर शृखंला खतिवडा, सामाजिक अभियान्ता रमेश प्रसाई, मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी लगायतको उपस्थिति रहने बरालको भनाइ छ। योजनाअन्तर्गत ७२ वटा घर निर्माण हुने छन्।

सामाजिक विकास मन्त्रालयले यसअघि गुरुयोजनाबारे सरोकारवालासँग र ज्येष्ठ नागरिक ग्रामबारे जनप्रतिनिधि तथा स्थानीयवासीसँग छलफल गरिसकेको छ। छलफलमा आएका सुझावसहित समेटेर गुरु योजनालाई अन्तिम रुप दिइएको खतिवडाले बताइन्। मन्त्रालयले मानव सेवा आश्रमसँगको सहकार्यमा ज्येष्ठ नागरिक र मानव सेवाग्राम निर्माण गर्ने भएको छ।

शिलान्यासपछि ज्येष्ठ नागरिक ग्राम निर्माणले गति लिने सामाजिक विकास मन्त्री घिमिरेले बताए। उनले परियोजना सम्पन्न भएपछि अहिले सञ्चालनमा रहेका आश्रमहरु भन्दा ज्येष्ठ नागरिक ग्राम स्तरीय बन्ने बताए। ज्येष्ठ नागरिक ग्राम बेसहराहरुका लागि भन्दा पनि सम्मानजनक रुपमा बस्न सकिन्छ भन्ने अवधारणाबाट सुरु गरिएको मन्त्री घिमिरेले बताए। उनले ज्येष्ठ नागरिक ग्राममा चिल्ड्रेन पार्क पनि निर्माण गरिने बताए। चिल्ड्रेन पार्कलाई नलेज पार्कका रुपमा विकास गरिने उनको भनाइ छ।
साभार

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *