सदस्यमैत्री कार्यमा अग्रसर हुने झापाको कर्णाली साकोसको उद्देश्य
Published:
by .बिर्तामोड । झापाको बिर्तामोडस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्थाले स्थापना दिवसको दिन पारेर भोलि पुष ४ गते आफ्नो वार्षिक साधारणसभा तय गरेको छ । झापा क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला खरेलको प्रमुख आतिथ्यमा स्थापना दिवस तथा साधारणसभा सम्पन्न गर्ने तय भएको जनाइएको छ ।
२०५७ सालमा स्थापित कर्णाली साकोसले २०औँ वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा आज पत्रकार भेटघाटको आयोजना गरी साधारणसभाका लागि तयार गरिएको प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । संस्थाका अध्यक्ष टसबहादुर प्रधान, उपाध्यक्ष ईश्वरीप्रसाद खरेल, कोषाध्यक्ष एकराज विष्ट, सञ्चालक सदस्यहरु गणेशप्रसाद पराजुली, गुञ्जन थापा, जानुका न्यौपाने ओली र निर्माला पाठक लुँइँटेलले संयुक्तरुपमा प्रतिवेदन अनावरण गरेका हुन् । संस्थका निमित्त कार्यकारी प्रमुख चिदानन्द सुवेदी, प्रबन्धक मनहरि निरौलासहित अधिकृत कर्मचारीहरुको सो कार्यमा सहभागिता रहेको थियो ।
पत्रकार भेटघाटमा संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठले आर्थिक वर्ष २०७६/०७७ को वित्तीय अवस्था तथा सामाजिक क्षेत्रमा गरिएको कामहरुबारे जानकारी गराए । कोरोना भाइरसको महामारीका कारण संस्थाले लिएको लक्ष्य पूर्णरुपमा प्राप्त गर्न नसके पनि निराशाजन नभएको अध्यक्ष श्रेष्ठको भनाई छ ।
कोरोनाको संकटका बेला संस्थाले नाफा कमाउने, सदस्य विस्तार गर्ने, लगानी बढाउनेभन्दा पनि सदस्यको पिरमर्कामा आफूहरुको ध्यान गएको उनको भनाई छ । “सदस्यालाई राहत, उपचार, सहयोग गर्ने कुरामा हामी केन्द्रित भयौँ” अध्यक्ष श्रेष्ठले भने “संकटका बेलामा सामाजिक कार्यलाई बढी प्राथमिकता दिएका छौँ ।”
संस्थाले गत चैत महिनादेखि असार मसान्तसम्म पाकेको ब्याजमात्र ४५ लाख रुपैयाँ ऋणि सदस्यलाई छुट दिएको जानकारी दिँदै अध्यक्ष श्रेष्ठले भने, ‘संस्थाले यो पुष महिनाभर कुनै पनि किसिमको हर्जाना र जरिवाना नलिने निर्णय गरिसकेको छ ।’ सोही निर्णयको प्रभावका कारण असार मसान्तमा साढे चार करोड बक्यौता रहेको भाका नाघेको कर्जा अशुली भई साढे दुई करोड हाराहारीमा पुर्याइएको उनले अवगत गराए ।
कोरोनाका कारण लकडाउन गरिएको समयमा सदस्यहरुलाई पाँच हजार रुपैयाँसम्म निब्र्याजी ऋण दिएको तथा १० हजारसम्म सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराइएको संस्थाले जनाएको छ । सदस्यले तिर्नुपर्ने ऋणको पुस मसान्तसम्ममा कुनै पनि हर्जना नलिने र सदस्यले क्षमताअनुसार किस्ता क्रमशः तिर्न सक्ने संस्थाले जनाएको छ ।
स्थानीय पालिकाहरुले स्थापना गरेको कोरोना राहत कोषमा ८ लाख रुपैयाँ दिएको संस्थाले झापामा जनस्तरबाट स्थापना गरिएको पीसीआर ल्याबका लागि १ लाख ११ हजार रुपैयाँ उपलब्ध गराएको छ । संस्थाले आव २०७६/०७७ मा सदस्यलाई ३३ लाख उपचार खर्च, २३ लाख ऋण मिनाह र ३१ लाख रुपैयाँ मृत्यू राहत प्रदान गरेको तथ्याङ्क प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कोरानाका कारण नयाँ कार्यक्रम गर्न/ल्याउन नसकिए पनि पुरानालाई प्रबर्धन गर्ने योजना संस्थाको रहेको जनाइएको छ । संस्थाले सञ्चालन गरेको लघुवित्त कार्यक्रममा १५ प्रतिशतसम्म ब्याज लिने, युवा उद्यमशील कर्जा १२ प्रतिशतमा लगानी गर्ने, स्थानीय तहसँगको सहकार्यमा उत्पादनमूलक र स्वरोगारमुखी कार्यक्रम सञ्चालन गर्ने, विशिष्टीकृत सहकारीमा लगानी गर्ने लगायतका कार्यक्रम अघि सारेको छ ।
आव २०७६/०७७ मा सदस्यलाई २ अर्ब बढी लगानी गरेको संस्थाले खुदनाफा ५ करोड ३८ लाख रुपैयाँ गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा २६.९६ प्रतिशतले वृद्धि भएको हो । ३३ हजार ९५९ जना शेयर सदस्य रहेको संस्थाको शेयरपुँजी २८ करोड ३ लाख ५१ हजार ५०० रहेको छ । संस्थाले गत आवमा तीन वटा सहकारी संस्थासँग एकीकरण गरेको कार्यक्रममा जानकारी दिइयो ।
Comments