पार्टीलाई विधिसम्मत चलाउन खबरदारी गर्न पुष्पलाल मित्रता केन्द्रको गठन : महासचिव कोइराला
Published:
by .झापा । झापामा पुष्पलाल मित्रता केन्द्रको गठन भएको छ । आज शुक्रबार बिर्तामोडमा पुराना र वैचारिक कम्युनिष्टहरुको सम्पन्न भेलाले मणि भण्डारीको अध्यक्षतामा ८५ सदस्यीय मित्रता केन्द्र गठन गरेको हो ।
अध्यक्ष भण्डारीका अनुसार जिल्ला समितिको आगामी बैठकले अन्य पदाधिकारीहरु चयन गर्ने तथा जिम्मेवारी बाँडफाँड गर्दै पुष्पलालको विचारलाई कार्यकर्ताहरुमाझ प्रवाह गर्ने विषयमा निर्णय लिनेछ । समितिको सचिवमा भानु दंगाललाई जिम्मेवारी दिइएको छ ।
कार्यक्रमका प्रमुख अतिथि पुष्पलाल मित्रता केन्द्रका महासचिव तथा नेकपाका केन्द्रीय सदस्य रविन कोइरालाले पार्टीलाई विधि र विधान बमोजिम चालाउने कुराको खबरदारीको लागि समिति गठन गरिएको बताए । नेता कोइरालाले नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलिले एकलौटी रुपमा विधि विपरित पार्टी र सरकार चलाएकोले समस्या बढेको अरोप पनि लगाए ।
नेता कोइरालाले केन्द्र गठनको मूल उद्धेश्य पार्टीभित्र पुष्पलालको विचारलाई अघि बढाउने भएकोले तमाम नेकपाका कार्यकर्ताहरुलाई आवद्ध हुन आह्वानसमेत गरेका छन् । प्रधानमन्त्री ओलीले एकलौटीरुपमा सरकार सञ्चालन गरेको, पार्टीको विधि प्रकृयालाई वेवास्ता गरिरहेको भन्ने चर्को आरोपका बीच जिल्ला तहमा नेता कार्यकर्ताहरु पनि समूह समूहमा बाँडिएका छन् ।
पार्टी अध्यक्ष ओलीले पार्टी कमिटीका निर्णयहरुलाई वेवास्ता गर्दै अघि बढेको निष्कर्ष सो समूहले निकालेको छ । ओलीलाई शैली सच्याएर अघि बढ्न दबाब दिने उद्देश्यले पनि सो समूह ओलीको गृह जिल्ला झापामा सक्रिय भएको बताइएको छ ।
Comments