बिर्तामोडको फोहोर ब्यवस्थापनमा सहकारीले काम गरे आफ्नो पनि साथ रहने : सांसद निरौला
Published:
by .बिर्तामोड । कर्णाली बचत तथा ऋण सहकारी संस्थाको २०औं वार्षिक साधारणसभा आज शनिबार सम्पन्न भएको छ । संस्थाले आफ्नो २१औं स्थापना दिवसको दिन पारेर आज वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
झापा क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला खरेलको प्रमुख आतिथ्यमा स्थापना दिवस तथा साधारणसभा सम्पन्न भएको छ । साधारणसभा उद्घाटन पछि मन्तब्य राख्दै सांसद निरौलाले समाज रुपान्तरण गर्न तथा राज्यका निकायहरुलाई ठिक ट्र्याकमा लैजान सहकारी अभियानको उल्लेखनीय भूमिका रहेको बताइन् ।
सहकारीहरुले वित्तीय कारोबारमात्र नगरी उत्पादन तथा बजारीकरणका क्षेत्रमा काम गर्न सके सदस्यहरु धेरै लाभान्वित हुने सांसद निरौलाले सुझाव दिइन् । बिर्तामोड सहरमा उत्पादन भइरहेको फोहोरको व्यवस्थापनमा साथ पुग्ने गरी वैकल्पिक उर्जा उत्पादन गर्न सकिने प्लान्टहरु स्थापना भइरहेको स्मरण गराउँदै सांसद निरौलाले फोहोरबाट मोहोर बनाउन सहकारीहरुले अग्रसरता देखाए आफ्नो ठाउँबाट पनि सहयोग रहने आश्वासन दिइन् ।
२०५७ सालमा स्थापित कर्णाली साकोसले २०औँ वार्षिक साधारणसभामा प्रतिवेदन पेश गर्दै संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठले आर्थिक वर्ष २०७६/०७७ को वित्तीय अवस्था तथा सामाजिक क्षेत्रमा गरिएको कामहरुबारे सभालाई अवगत गराए । कोरोना महामारीका कारण संस्थाले लिएको लक्ष्य पूर्णरुपमा प्राप्त गर्न नसके पनि निराशाजन नभएको अध्यक्ष श्रेष्ठको भनाई छ ।
कोरोनाको संकटका बेला संस्थाले नाफा कमाउने, सदस्य विस्तार गर्ने, लगानी बढाउनेभन्दा पनि सदस्यको पिरमर्कामा आफूहरुको ध्यान गएको उनको भनाई छ । “सदस्यालाई राहत, उपचार, सहयोग गर्ने कुरामा हामी केन्द्रित भयौँ” अध्यक्ष श्रेष्ठले भने “संकटका बेलामा सामाजिक कार्यलाई बढी प्राथमिकता दिएका छौँ ।”
संस्थाले गत चैत महिनादेखि असार मसान्तसम्म पाकेको ब्याजमात्र ४५ लाख रुपैयाँ ऋणि सदस्यलाई छुट दिएको जानकारी दिँदै अध्यक्ष श्रेष्ठले भने, ‘संस्थाले यो पुष महिनाभर कुनै पनि किसिमको हर्जाना र जरिवाना नलिने निर्णय गरिसकेको छ ।’ सोही निर्णयको प्रभावका कारण असार मसान्तमा साढे चार करोड बक्यौता रहेको भाका नाघेको कर्जा अशुली भई साढे दुई करोड हाराहारीमा पुर्याइएको उनले अवगत गराए । कोरोनाका कारण लकडाउन गरिएको समयमा सदस्यहरुलाई पाँच हजार रुपैयाँसम्म निब्र्याजी ऋण दिएको तथा १० हजारसम्म सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराइएको साधारणसभामा अध्यक्ष श्रेष्ठले सुनाए ।
साधारणसभाको उद्घाटन समारोहमा मन्तब्य राख्दै झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले सहकारीहरुले खुलेर व्यवसाय गर्न नसक्ने गरी मुलुकका ३६ वटा कानून बाधक रहेको बताए । ‘सहकारीलाई उत्पादनमा लाग्न सबैको सल्लाह हुन्छ तर कानूनहरु नै बाधक बनेको अवस्थामा हामीले चाहेर पनि केही गर्न सकिरहेका छैनौं’ राष्ट्रिय सहकारी महासंघका सञ्चालकसमेत रहेका ढकालको कथन छ ।
नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले ठाउँठाउँमा सहकारी पसल खोलेर उपभोक्तालाई सहुलियत दरमा उपभोग्य वस्तु उपलब्ध गराएको तथा आसपास क्षेत्रमा मूल्य नियन्त्रण गरेको स्मरण गराउँदै जिल्ला संघका अध्यक्ष ढकालले कर्णाली साकोसलाई पनि उत्पादन र बजारीकरणमा लाग्न सल्लाह दिए ।
सहकारीले मुलुकको २५ प्रतिशत वित्तीय क्षेत्र ओगटेको र कूल ग्रार्हस्थ उत्पादनमा लगभग ५ प्रतिशत योगदान गर्नुका साथै रोजगारी सिर्जनामा उल्लेखनीय योगदान गरिरहेको अध्यक्ष ढकालको भनाई छ ।
साधारणसभाको अवसरमा गतवर्ष नै घोषणा गरेर पनि हस्तान्तरण गर्न बाँकी रहेको सम्मान, पुरस्कार र छात्रवृत्ति आज प्रदान गरिएको छ । जसअनुसार जनही ५० हजार रुपैयाँ राशिको छात्रवृत्ति पुरस्कार कनकाई नपा ७ का सारांश शिवाकोटी र बिर्तामोड ३ का संस्कार खड्कालाई प्रदान गरिएको छ ।
संस्थाका शेयर सदस्यका छोरोछोरी मध्ये १० जोड दुई उत्तीर्ण गर्दा प्राप्त गरेको जिपिएका आधारमा पुरस्कृत गरिएको हो । संस्कारले ३ दशमलव ६८ र सारांशले ३ दशमलव ६१ जिपिए प्राप्त गरेका थिए । उक्त पुरस्कार सांसद निरौला र जिल्ला संघका अध्यक्ष ढकालले हस्तान्तरण गरेका हुन् ।
यसैगरी अपाङ्ता सहयोग अन्तरगत बिर्तामोड स्वावलम्बन केन्द्रलाई २० हजार रुपैयाँ हस्तान्तरण गरिएको छ । बिर्तामोड ४ का वडाध्यक्ष कूलप्रसाद संग्रौलाले उक्त रकम हस्तान्तरण गरेका हुन् ।
साधारणसभामा आफ्नो मन्तब्य राख्दै वडाध्यक्ष संग्रौलाले रोजगारी सिर्जना गर्न तथा समाज रुपान्तरण गर्न सहकारीहरुको उच्च योगदान रहेको बताउँदै स्थानीय सरकारको तर्फबाट रचनात्मक कार्यमा सदैव साथ रहने जानकारी गराए ।
संस्थाका कोषाध्यक्ष एकराज विष्टले सञ्चालन गरेको साधारणसभामा आमन्त्रित अतिथि तथा प्रतिनिधिहरुलाई उपाध्यक्ष ईश्वरीप्रसाद खरेलले शाब्दिक स्वागत गरेका थिए । संस्थाका ३३ हजार ९५९ सदस्यहरुको प्रतिनिधित्व गर्दै ७ वटा इकाईबाट ३२ जनाले साधारणसभामा माइन्युट प्रमाणिकरणका लागि सहभागिता जनाएका थिए ।
आव २०७६/०७७ मा सदस्यलाई २ अर्ब बढी लगानी गरेको संस्थाले ५ करोड ३८ लाख रुपैयाँ खुदनाफा गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा २६ दशमलव ९६ प्रतिशतले वृद्धि भएको हो । संस्थाको शेयर पुँजी २८ करोड ३ लाख ५१ हजार ५०० रहेको छ । संस्थाले गत आवमा तीन वटा सहकारी संस्थासँग एकीकरण गरेको थियो ।
Comments