कोरोना संक्रमणको त्रास झेल्दै शिक्षण संस्थाहरु सञ्चालनमा
Published: (Updated: )
by .झापा । कोभिड १९ संक्रमण बढे पनि झापाका अधिकांश स्कूल तथा क्याम्पसहरु भौतिक उपस्थितिमा सञ्चालनमा आउन थालेका छन् ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण ६ चैत २०७६ देखि बन्द रहेका स्कूल तथा कलेजहरु सञ्चालनमा आएका हुन् ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा मंसीर ९ देखि १६ गतेसम्म सञ्चालन गर्दा विद्यार्थीहरुको बाक्लो उपस्थिति थियो ।
यस्तो समयमा कुनै विद्यार्थीमा संक्रमण नभएको महसुस गरी विद्यालय तथा क्याम्पसहरु सञ्चालनमा ल्याउन सकिने निश्कर्ष निकालिको थियो ।
परीक्षा सञ्चालन गर्दा हेल्थ डेक्स स्थापना गरेर विद्यार्थीहरुकोज्वरो नापेपछि परीक्षा हलमा पठाइएको र त्यहाँ पनि विद्यार्थीहरुमा भौतिक दूरी कायम गरी परीक्षा लिइएको थियो । सेनिटाइजरको प्रयोग गर्दै उपस्थित विद्यार्थीहरुको स्वास्थ्य जाँच गरी सावधानीपूर्वक सञ्चालन गरिएकोले विद्यार्थीहरुमा संक्रमण फैलन नपाएको मनकामना कलेजका एजुकेशनल कोअर्डिनेटर कुमार थपलिया बताउँछन् ।
मनकामनामा मात्र होइन, होम सेन्टर भएकाले सबैजसो विद्यालयले यही तरिकाबाट परीक्षा लिने व्यवस्था मिलाएका थिए । परीक्षा सकिएको केही दिन पछि नै विद्यालयहरु धमाधम खुल्न थालेकाले के कोरोनाको सन्त्रास अब घटेकै हो ? महामारी सकिएकै हो ? भन्ने प्रश्न उत्पन्न भएको छ ।
यस्तो वातावरण देखिए पछि हामीले केही विद्यालय र क्याम्पसका जिम्मेवार व्यक्तिहरुलाई तपाईंको विद्यालयमा अब सबै तहका कक्षाहरु नियमित रुपमा सञ्चालन हुन सक्छन् ? भन्ने प्रश्न गरेका थियौं । हाम्रो प्रश्नमा कोहेड कलेजका एजुकेशनल कोअर्डिनेटर केशव प्रसाईले भने, विद्यार्थीहरुमा भौतिक दूरी कायम गरी दुई सिफ्टमा नियमित पठनपाठन शुरु गरेका छौं ।
मनकामना कलेजका एजुकेशनल कोअर्डिनेटर कुमार थपलियाले चाहिँ नगरपालिकामा निवेदन दिइसकेकाले त्यहाँबाट अनुमति आएपछि कक्षा सञ्चालन गरिने जानकारी गराए । कक्षा ११ को वार्षिक परीक्षा पनि कतिपय विद्यालयहरुमा सञ्चालन भइसकेको र कतिपयमा भइरहेको पाइएको छ ।
कोरोनाको संक्रमण बढेसँगै स्कूल तथा कलेजहरु सञ्चालनमा आएका हुन् । १५ दिनदेखि स्कूलहरु सञ्चालन भइरहेको तर विद्यार्थी तथा शिक्षकहरुमा कोभिडको कुनै संक्रमण नदेखिएको अर्जुनधारा ५ स्थित श्री समाजसेवी प्राथमिक विद्यालयका प्रधानाध्यापक सिता अधिकारीले बताएकी छन् । शिक्षक तथा विद्यार्थीहरुलाई विद्यालयमा उपस्थित हुँदा विशेष सतर्कता अपनाउने गरिएको प्रधानाध्यापक अधिकारीले जानकारी दिइन् ।
Comments