ऐतिहासिक फुस्रेबजारको महिमा झल्काउन धरानमा मूर्ति स्थापना
Published:
by .धरान । करिब ५ दशकअघिसम्म धरान १३ स्थित फुस्रो बजार तथा चोक पूर्वी पहाडी जिल्लाको प्रमुख व्यापारीक केन्द्र थियो। यहाँ धनकुटा, भोजपुर, संखुवासभा, तेह्रथुमलगायत जिल्लाका मानिसहरु ढाकरमा सामान बोकेर व्यापार गर्न झर्थे। तराईका व्यापारीहरु पनि आउने गरेका थिए।
तीसको दशकमा धरान–धनकुटा कोशी राजमार्ग अमरहाट हुँदै खुलेपछि भने फुस्रे बजार सेलायो। राजमार्ग बनेसँगै व्यापार पनि सर्यो भने फुस्रे सुनसान बन्यो। धरानका पछिल्लो पुस्ता फुस्रे बजारको इतिहाससँग अनभिज्ञ छन्। त्यति मात्र होइन, फुस्रेको रौनक हराएपछि बसाई सरेर जानेहरु पनि भए। ऐतिहासिक महत्व बोकेको उक्त फुस्रो चोक एवं बजारको पुरानो गरिमा फर्काउन अहिले स्थानीयबासी एवं वडा सरकार जुटेका छन्।
उपमहानगरपालिकाले विनियोजन गरेको बजेटबाट १३ नम्बर वडा कार्यालयले फुस्रेको ऐतिहासिकता झल्काउने कलात्मक मूर्तिहरु बनाएर चोकमा स्थापना गरेको छ। ती मूर्तिहरुलाई फुस्रे चोकस्थित ज्येष्ठ नागरिक विश्रामलायमा राखिएको छ। मंगलबार ती मूर्तिहरुको प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले अनावरण गरेका छन्। कलात्मक मूर्तिहरुसँगै विभिन्न प्रकारका मौलिक सामग्रीहरु पनि संकलन गरेर राखिएका छन्। चोकमा धरानको जलाधार क्षेत्रको झल्काउने क्रंक्रिट मोडल पनि सभामुख भण्डारीले उद्घाटन गरेका थिए।
फुस्रेको ऐतिहासिकता झल्कने मूर्तिहरु स्थापना गरिएपछि स्थानीयबासी हर्षित भएका छन्। फुस्रे अब पुरानै लयमा फर्किने उनीहरुको अपेक्षा छ। स्थानीय एवं पूर्वप्रअ ८० वर्षीय कुमारमान श्रेष्ठ भन्छन्,‘एक समयको गुल्जार फुस्रे बजार सुनसान थियो। फुस्रे कस्तो थियो, किन फुस्रे भयो भन्ने बिर्सिसकेको थियो। यहाँको इतिहास झल्काउने काम भएको छ, ज्यादै खुशी छौं।’
पछिल्लो समय फुस्रे क्षेत्र धरानको पर्यटकीय गन्तव्य पनि बनिरहेको छ। सर्दु किनारमा रहेको फुस्रेमा सर्दु खोलामाथि फ्लावर ब्रिज बनेको छ भने वीपी स्मृति पार्क र रक गार्डेन पनि निर्माण भइरहेको छ। उक्त पार्कमा दैनिक ५, ६ सय आन्तरिक पर्यटकहरु आउने गरेको स्थानीयबासी एवं नवयुग संस्थाका अध्यक्ष महेन्द्र प्रधान बताउँछन्। ‘यहाँको इतिहास झल्काउने यी मूर्तिहरुले पनि पर्यटनलाई थप टेवा पुग्नेछ भन्ने अपेक्षा छ,’उनले भने।
वडाध्यक्ष नेत्र काफ्लेका अनुसार १५ लाख बजेटबाट मूर्ति, मौलिक सामग्रीलगायत निर्माण गरिएको हो। फुस्रे चोक तथा बजारको इतिहासलाई जिवित बनाउन लगानी गरिएको उनले बताए। ‘यहाँ ऐतिहासिक पुस्तकालय पनि छ, त्यसलाई पनि हामी नयाँ बनाउछौं,’उनले भने। सोही वडाबासी प्रदेश सभामुख भण्डारीले फुस्रेको इतिहास झल्काउदै पर्यटकीय केन्द्र बनाउन लागिपरेको भन्दै स्थानीयबासीको प्रसंसा गरे। मेयर तिलक राईले पनि फुस्रेको गौरव फर्काउन सबै एकजुट भएर लाग्न आग्रह गरेका छन् ।
नागरिक दैनिक
Comments