कमलको टुकुरे बस्तीमा हात्तीको बथान, छ वटा घर भत्काएर क्षति
Published:
by .(सांकेतिक तस्वीर)
कमल । झापाको कमल गाउँपालिका वडा नं. ५ मा पर्ने टुकुरे बस्तीमा गएराति २ बजेदेखि जंगली हात्तीको बथानले बितण्डा मच्चाएको छ । बस्तीमा पाँच/छ वटा हात्तीको बथान नै पसेर त्यहाँका कम्तीमा पाँच/छ वटा जति घर भत्काएको वडाध्यष डम्बर निरौलाले जनाएका छन् ।
स्थानीय बासिन्दाहरु जंगली हात्तीबाट जोगिन घर छाडेर भागेका छन् । वडाध्यक्ष निरौलाका अनुसार उत्तरी चुरे क्षेत्रबाट प्रवेश गरेको हात्तीको समूहले एकाएक घर भत्काउन थालेपछि त्यहाँ भागाभाग मच्चिएको थियो । सर्वसाधारणले हात्तीका कारण मध्यरातदेखि नै बस्न नसकिने अवस्था भएको बताउँदै प्रहरीमा खबर गरेपछि अहिले त्यहाँ ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको वडाध्यक्ष निरौलाले जनाएका छन् ।
दमकबाट गएको जनपथ प्रहरी र लखनपुरस्थित सशस्त्र प्रहरीको टोली हात्ती धपाउने कार्यमा संयुक्त रुपमा खटिएको जनाइएको छ । प्रहरीले एकसाथ ३/४ वटासम्म गाडीको साइरन बजाएर हात्ती धपाउन खोजे पनि हात्तीको समूह मानववस्ती नजिकबाट भाग्न नखोजेकाले सर्वसाधारणहरु घरमा बस्न सकेका छैनन ।
हात्तीले को कसको घर भत्काएको हो भन्ने बारे विवरण प्राप्त भइसकेको छैन । तर पुषको कठयाङग्रिदो जाडोमा त्यहाँका बालबालिका र बृद्धबृद्धाहरु कष्टपूर्ण रुपमा त्रासमा बस्नु परिरहेको जनाइएको छ ।
Comments