कालिकापीठमा आजदेखि वार्षिक अनुष्ठान
Published:
by .अर्जुनधारा । अर्जुनधारा नगरपालिका–९ मा रहेको सिद्ध शक्तिपीठ कालिकापीठ कालिस्थानको १७औं वार्षिक अनुष्ठान आजदेखि शुरु भएको छ । पीठको वार्षिक उत्सवको अवसर पारेर तुलसीकृत रामायणको अखण्ड पाठपारायण प्रारम्भ गरिएको हो ।
वार्षिक उत्सवको अवसर पारेर प्रत्येक वर्ष सप्ताहव्यापी पुराण लगाइँदै आएको भए पनि यसवर्ष कोरोना संक्रमणका कारण दुई दिवसीय कार्यक्रम तय गरिएको हो । कालिकापीठ ब्यवस्थापन समितिका अध्यक्ष ज्योतिषाचार्य लक्ष्मीप्रसाद पोखरेलको अध्यक्षतामा पीठमा आयोजित संक्षिप्त कार्यक्रमका बीच आचार्य रघुनाथ रिजालले बैदिक मन्त्रोच्चारण गरी कार्यक्रमको उद्घाटन गरेका छन् ।
पूर्वकै प्रसिद्ध र सिद्ध शक्तिपीठको रुपमा स्थापित पीठको पूर्वीय वैदिक सभ्यता र संस्कृतिको संरक्षणका लागि ब्राम्हण बटुकहरुलाई वेदाध्ययन तथा पूर्वीय वैदिक ग्रन्थादिको अध्यापन गराइँदै आएको छ । कालिकापीठले २०६३ सालबाट सञ्चालनमा ल्याएको कालिका संस्कृत विद्यापीठमा ५० जनाभन्दा धेरै बटुकहरु अध्ययनरत रहेको प्राचार्य रिजालले जानकारी दिएका छन् ।
वि.सं. २०३३ सालमा उक्त पीठ परिषरमा आयोजित बृहद आध्यात्मिक भेलामा योगी नरहरिनाथले शक्तिस्वरुपा पराम्बा दुर्गा देवीले राक्षसहरुको बध गर्ने क्रममा कञ्चनजंघा हिमालबाट चालेको पहिलो पाइलो ताप्लेजुङको पाथीभरामा र दोस्रो पाइलो कालिकापीठ कालिस्थानमा परेको शास्त्रीय प्रमाण सार्वजनिक गरेपछि पीठको महत्व बढेर गएको हो ।
पीठको दर्शन तथा पूजा आरधना गर्ने भक्तजनको मनोकांक्षा पूर्ण हुने भएकाले पनि देश–विदेशबाट भक्तजनहरु आउने गरेको बताइन्छ । धार्मिक, आध्यात्मिक र शैक्षिक क्षेत्रका सहयोगी दलमान तामाङ (चैनपुरे बा)-ले ११ कठ्ठा जग्गा दान गरेपछि दानदाताहरुको स्वतस्फूर्त सहयोगबाट ५ करोड बढीका भौतिक संरचनाहरु निर्माण गरिएका छन् ।
दानदाताको सहयोगमा देवीथान, शिवालय, सप्तऋषि आश्रम, नवग्रह मन्दिर तथा त्यहाँ अध्ययनरत बटुकहरुका लागि पाठशाला, पाकशाला, यज्ञशाला, गौशाला आदि निर्माण गरिएको छ । पीठ परिषरमा रहेको अक्षयवृक्ष मुनी २००५ साल अघिदेखि नै पूजा आरधना हुने गरेको थियो । २०५६ /०५७ सालमा ज्योतिषाचार्य लक्ष्मीप्रसाद पोखरेलको अध्यक्षतामा पीठ ब्यवस्थापन समिति गठन भएपछि भौतिक निर्माणादि कार्यले तिब्रता पाएको हो ।
Comments