Sajhamanch Archive

शरीर स्वस्थ राख्न कस्तो खाना खाने ?

Published: in टिप्स/जानकारी, विचार/ब्लग, स्वास्थ्य, by .

संसारका हरेक मानिसहरु स्वस्थ र निरोगी भएर जीवन जिउन चाहन्छन् । स्वस्थ र निरोगी हुन हामी अनेकौं प्रयासहरु पनि गर्ने गछौं । तर हामीलाई स्वास्थ्य समस्याले सताई नै रहेको हुन्छ । हामीले हाम्रो स्वास्थ्यलाई कस्तो बनाउने, कस्तो खाने कुराहरुलाई स्वीकार गर्ने अनि कस्तोलाई अस्वीकार गर्ने भन्ने कुरा हामी आफैमा भर पर्छ ।

हामी खाने कुराहरु त खान्छौं तर हाम्रो स्वास्थ्यको लागि चाहिने नभई जिब्रोको स्वाद मेट्नको लागि मात्र खाने गर्छौं । हाम्रो शरीरलाई निरोगी राख्न, फुर्तिलो राख्न एवम् सक्रिय राख्ने प्रमुख भूमिका हामीले खाने खानाको नै हुन्छ ।

हामीले खाने कुरामा ध्यान दिन सक्यो भने खाना नै हाम्रो औषधि हुन्छ र हामीलाई तन्दुरुस्त बनाउन मद्दत गर्छ । तसर्थ, हामीले खाने खानाको सम्बन्ध जिब्रोसँग नभई हाम्रो शरीरसँग हुन्छ । त्यसैले जिब्रोले मागेको स्वादको लागि नभई हाम्रो शरीरलाई चाहिने खाना खानु आवश्यक हुन्छ ।

यसैगरी खाना सही र सन्तुलित ढंगले खानुपर्छ । खानालाई सही तरिकाबाट खान जानिएन भने त्यही खाना रोगको कारण बन्न सक्छ । व्यस्त जीवनशैली, खानपानमा ध्यान नदिनुजस्ता कारणले गर्दा पछिल्लो समय विभिन्न रोगको सिकार बन्दै हाम्रो स्वास्थ्यमा जटिलता बढ्दै गएको हो ।

कुन समयमा कति खाने ?

हामीले बिहानदेखि बेलुकासम्म चार चरणमा खानु आवश्यक हुन्छ । बिहानको खानामा ७०० क्यालोरी, दोस्रो चरणमा ६०० क्यालोरी, तेस्रो चरणमा ४०० क्यालोरी र बेलुकाको खानामा ३०० क्यालोरी समावेश गर्नु पर्दछ । बिहानको नास्ता हलुका, त्यसपछि पर्याप्त र खदिलो अनि क्रमशः खानाको मात्रा घटाउँदै जानुपर्छ । एउटा स्वस्थ मानिसको लागि दैनिक १८ सयदेखि २२ सयसम्मको क्यालोरी जरुरी हुने पोषणविदहरुको सुझाव हुन्छ । सोमात्रामा क्यालोरी हामीले खाने स्वस्थ खानामा पाइन्छ ।

कस्तो खाना खाने ?

सन्तुलित भोजन गर्नेः हामीले खाने खानामा अन्न, दाल, गेडागुडी, दूध, फलफूल, माछामासु, सलादको प्रयोग गर्ने, तरकारी, घिउ र गुलियो खाद्यवस्तु मिलाएर खाँदा सन्तुलित आहार प्राप्त हुन्छ । शरीरलाई चाहिने क्यालोरीका लागि सन्तुलित भोजन आवश्यक छ । हामीले हाम्रो शरीरको उचाई, तौल, उमेर र स्वास्थ्य अवस्थालाई ध्यान दिएर आवश्यकमात्रामा सन्तुलित भोजन गर्नेपर्छ ।

पर्याप्त पानी पिउनेः खाना सँगसँगै शरीरलाई स्वस्थ राख्न प्रशस्त मात्रामा पानी पिउनु पर्छ । विशेष गरी शरीरमा भएको अनावश्यक तत्वलाई फाल्न, पौष्टिक तत्व शरीरको विभिन्न भागमा पुर्याउन र पानीले शरीरका सम्पूर्ण अङ्गहरुलाई सफा राख्न सहयोग गर्छ । पर्याप्त मात्रामा पानी पिउनाले छालामा चमक बढ्ने, शरीरमा शक्ति कायम राख्न मद्दत पुग्छ । एक तन्दुरुस्त मानिसको लागि हरेक दिन ३ देखि ४ लिटरसम्म पानी पिउनु आवश्यक हुन्छ ।

पौष्टिक तत्व खानेः हामीले खाने खानामा आवश्यक मात्रामा पौष्टिक तत्व हुनु जरुरी छ । प्रोटिन, भिटामिन, फाइबर, खनिज तत्व, आयोडिन, फ्लोरिन आदि सबै तत्वहरुलाई समावेश गर्नु पर्दछ ।

ताजा खानेकुराको प्रयोगः हामीले ताजा खानेकुराको प्रयोग गर्नु आवश्यक हुन्छ । ताजा साग सब्जीको प्रयोग गर्नुपर्दछ । सम्भव भएसम्म घरमै पकाएको पोषिलो खानेकुरा खाने गर्नुपर्छ । विशेष गरी जाडोको समयमा तातो सुप गुन्द्रुक, भटमास आदि खानु हाम्रो शरीरको लागि लाभदायिक हुन्छ ।

पछिल्लो समयमा विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरस संक्रमणको कारण हामीले स्वस्थकर खाना खानु जरुरी छ । शरीरमा रोगसँग लड्न, रोग प्रतिरोधात्मक क्षमता बृृिद्ध गर्न र अन्य रोगहरु शरीरमा लाग्न नदिनका लागि पनि स्वस्थ र पोषिलो खानेकुरा खानु हाम्रो शरीरका लागि प्रभावकारी हुन्छ ।

तसर्थ, सन्तुलित, पोषिलो, ताजा एवम् सुपाच्य खानेकुराहरुको मात्र प्रयोग गरौं । सकेसम्म आफ्नै घरमा पकाएको ताजा खानेकुराको सेवन गरौं ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *