Sajhamanch Archive

संसद्‍मा पार्टीभित्रको झगडा लैजान थालेपछि विघटनको अप्रिय निर्णय : मन्त्री ज्ञवाली

Published: in राजनीति by .

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संसद्‍मा पार्टीभित्रको झगडा लैजान खोजेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको अप्रिय कदम चालेको बताएका छन् ।
सरकारका काम कारबाहीको फैसला जनताले गर्न पाउनुपर्ने बताउँदै मन्त्री ज्ञवालीले सर्वोच्च अदालतमा पुगेको प्रतिनिधिसभा विघटनको मुद्दाबारेको फैसला जनताले गर्नुपर्ने धारणा राखे ।

प्रधानमन्त्रीलाई काम गर्न पार्टीभित्रैबाट नदिँदा प्रतिनिधिसभा विघटन गर्नुपर्ने अवस्था आएको मन्त्री ज्ञवालीले बताएका छन् । अध्यक्ष तथा प्रधानमन्त्री निकट विद्यार्थीहरूको भेलामा आइतबार मन्त्री ज्ञवालीले पार्टीभित्रको झगडा संसद्‍मा लैजान खोजेपछि प्रधानमन्त्रीले अप्रिय कदम चाल्नुपरेको बताए ।

पार्टीभित्रको झगडा ठिकै थियो तर त्यो संसद्‍मा जानु पर्थेन । पार्टीभित्रको विवादलाई लगेर संसदमा पोख्ने काम गरियो । प्रधानमन्त्रीकहाँ निवेदन दिन्छौं, बाटो र बिजुली माग्नका लागि हस्ताक्षर गर्नुस् भनेर सांसदहरूको हस्ताक्षरलाई दुरुपयोग गरियो ज्ञवालीले भने ।

पुष्पकमल दाहाल र माधवकुमार नेपालले पार्टी आन्दोलनलाई गलत बाटोमा लैजाने र मुलुकलाई पनि धरापमा पार्न खोजेपछि प्रधानमन्त्री ओलीले आन्दोलनलाई गलत बाटोमा जान दिनुहुन्न भन्दै तुलनात्मक अप्रिय निर्णय गरेको
ज्ञवालीले बताए ।

दाहालले मुलुकभित्रको राजनीतिक गतिविधिमा बाह्य मुलुकहरूको हस्तक्षेपका लागि आग्रह गरेको मन्त्री ज्ञवालीको भनाइ थियो । उनले कान्तिपुर टिभीको फायरसाइडमा दाहालको अन्तर्वार्तालाई उल्लेख गर्दै बाहिरी मुलुकहरूको हस्तक्षेपलाई निम्तो दिएको धारणा राखे ।

फलानो देश किन बोल्दैन, समर्थन चाहियो । देशभित्रको घरझगडामा बाह्य हस्तक्षेप निम्त्याउने प्रयत्न हुँदैछ, ज्ञवालीले भने ।

पार्टीमा नेताहरूले प्रधानमन्त्रीलाई काम गर्न नदिएको तथा मुलुकमा भएका राम्रा कामको प्रसंशा नगरेकाले पनि संसद विघटन गर्नुपरेको ज्ञवालीको भनाइ थियो ।

प्रधानमन्त्रीले चालेको कदम जनादेशअनुसार सही भएको उनको भनाइ थियो । जनताले आफूलाई बुझाएको नासो जनतालाई नै फिर्ता गर्नका लागि कदम चालिएको बताए । उनले भने, प्रधानमन्त्रीले यो जनादेश जनताबाट पाएको हो । उनले यो नासो बुझाउने पनि जनतासमक्ष नै हो । त्यै भएर मैले नराम्रो गरेको भए जनताले मलाई दण्डित गर्नेछन् भनेर अहिलेको कदम चालेको ज्ञवालीले बताए ।

कान्तिपुर दैनिक

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *