विज्ञापन बोर्डलाई प्रभावकारी बनाउन सञ्चारमन्त्री गुरुङको निर्देशन
Published:
by .काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले विज्ञापन बोर्डलाई प्रभावकारी ढंगले काम गर्न निर्देशन गरेका छन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले विज्ञापन सम्बन्धी अर्बौंको बजेट सदुपयोग हुनेगरी प्रभावकारी ढंगले काम गर्न बोर्डलाई निर्देशन गरेका हुन् ।
आज सिंहदरबारमा आयोजित बोर्डको चौंथो पूूर्ण बैठकमा बोल्दै मन्त्री गुरुङले बोर्डको कामलाई प्रभावकारी बनाउन विज्ञहरुसँग आवश्यक छलफल गरी रणनीतिक योजना बनाउन ढिलाई गर्न नहुनेतर्फ पनि सचेत गराएका छन् ।
‘विज्ञापन बोर्डलाई प्रभावकारी बनाउन सरकारवालाहरुसँग थप सुझाव आवश्यक लिन ढिलाई गर्नुहुन्न, विज्ञहरुसँग, सरोकारवाला निकायसँग परामर्श गरेर बोर्डको रणनीतिक योजना तत्काल बनाऔं’ मन्त्री गुरुङको भनाई उधृत गर्दै उनका प्रेस संयोजक सन्तोष खड्काले जनाएका छन् ।
मन्त्री गुरुङले बोर्डको औचित्य पुष्टि हुने गरी काम गर्न गठित कार्यदललाई पौष मसान्त भित्र कार्ययोजना बनाएर आफ्नो कामलाई गतिदिन पनि आग्रह गरे । बोर्ड बैठकले विज्ञापन सम्बन्धी राष्ट्रिय नीति बनाउने निर्णय गरेको छ । राष्ट्रिय नीति बनाउँदा सरोकारवाला निकायसँग बृहत छलफल गर्न बोर्डलाई मन्त्री गुरुङको निर्देशन थियो ।
सरकारी विज्ञापन व्यवस्थापन गर्ने उद्देश्यका साथ मन्त्री गुरुङ आएपछि पहिलो पटक विज्ञापन बोर्ड गठन गरिएको हो । मन्त्री गुरुङले बोर्डले ऐन, नियम र कानूनको परिधि भित्र रहेर जिम्मेवार ढंगले काम गर्ने विश्वास पनि व्यक्त गरे । बैठकमा मन्त्रालयका सचिव हरिप्रसाद बस्याल लगायतको उपस्थिति थियो ।
Comments