झापामा सुनचाँदी व्यावसायीको नयाँ नेतृत्व आउँदै
Published:
by .बिर्तामोड । नेपाल सुनचाँदी व्यवसायी संघ झापाको दोस्रो जिल्ला अधिवेशन भदौ ७ बिहीबार बिर्तामोडमा गरिने भएको छ ।
प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यमा अधिवेशनको उद्घाटन गरिने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
अधिवेशनको उद्घाटनको अवसरमा समाजसेवी, सुनचाँदी व्यावसायी र गहना बनाउने कालिगढ गरी तीन विधाका एक–एक जनालाई सम्मान पनि गरिने जिल्ला अध्यक्ष रुपदल विश्वकर्मा (राजु धमला)ले जानकारी दिए ।
अधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि २१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने जनाइएको छ ।
सुनचाँदी व्यावसायमा अहिले सबै जातजाति, समुदाय र भूगोलका मानिसहरुको संलग्नता रहेकाले जातीय तथा भौगोलिक विविधता समेतलाई ख्याल गरेर सहमतिमा नै नयाँ नेतृत्व चयन गरिने अधिवेशन आयोजक समितिका संयोजक राजन कालिकोटेले बताए ।
सुनचाँदी व्यावसायीको विधानमा कुन पदमा कति वर्ष रहन पाउने भन्ने किटान नगरिएकाले वर्तमान अध्यक्ष रुपदल विश्वकर्मा (राजु धमला) नै आगामी कार्यकालको लागि सर्वसम्मत अध्यक्ष बन्ने उपस्थितहरुबीच गाईंगुईं सुनिन्थ्यो । यसैगरी वरिष्ठ उपाध्यक्षमा राजकुमार गुप्ता, सचिवमा राजन कालिकोटेलाई अघि सारिने थाहा भएको छ ।
Comments