कृषि थोक बजारमा निर्वाचनबाट नयाँ नेतृत्व चयनः कमल पौडेल बने अध्यक्ष
Published:
by .बिर्तामोड । झापाको बिर्तामोडस्थित कृषिथोक बजार ब्यवस्थापन समितिको निर्वाचन शनिबार सम्पन्न भएको छ । लामो समयदेखि नेतृत्वविहीन समितिले शनिबार निर्वाचनको माध्यमबाट आगामी तीन वर्षे कार्यकालका लागि कमल पौडेलको अध्यक्षतामा ९ सदस्यीय कृषिथोक बजार ब्यवस्थापन समिति चयन भएको छ ।
कृषिथोक उपज बजार ब्यवस्थापन समितिको चुनाव सोसियोमेट्रिक पद्धतिमा सम्पन्न भएको हो । जसमा मतदाताले आफू बाहेक जो कोहीलाई भोट हाल्न पाउने ब्यवस्था हुन्छ । पुष २४ गते पहिलोचरण कृषकतर्फको चुनाव सम्पन्न भएको थियो । जसमा झापाका ८ वटा स्थानीय तहका ५–५ जना गरी कूल ४० जना मतदाता रहेका थिए । जसमा ३९ मत खसेको मध्ये २ मत बदर भएको थियो ।
चुनावबाट ३ जना कृषक प्रतिनिधि छनौट भएका थिए । बिर्तामोडका कमल पौडेल, कनकाई नगरपालिकाका हरि सिलवाल र अर्जुनधाराका वृन्दा लुइटेल विजयी भएका हुन् । ब्यापारीतर्फ २५६ मत मध्ये २४३ मत खसेको थियो भने ४ मत वदर भएको थियो । ब्यापारी तर्फको दोश्रो चरणको चुनावबाट ब्यापारी प्रतिनिधि खगेन्द्र महताले ९५ मत, ज्योति चुँडाल (पार्वती) १४१, धर्मप्रसाद बराल, ८६ मत ल्याएर छनौट भएका थिए । निर्वाचित प्रतिनिधि मध्येबाट सञ्चालक समितिको अध्यक्ष हुने ब्यवस्था अनुरुप कमल पौडेल सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित भए ।
बजार सञ्चालक समितिमा कृषक र ब्यापारीतर्फका ६ जना, सम्बन्धित वडाका अध्यक्ष, कृषि ज्ञान केन्द्र झापाका कृषि अर्थविज्ञ १ जना पदेन सदस्य र जिल्ला समन्वय समिति वाट मनोनित उपभोक्तातर्फवाट १ जना सदस्य गरी कूल ९ सदस्यीय सञ्चालक समिति रहने प्रमुख निर्वाचन अधिकृत वीरेन्द्र पराजुलीले जानकारी दिए ।
कृषि उपज बिक्री वितरणका लागि बनाइएको बजार भित्र कृषि उपजमात्र नभई अन्य सामग्रीका ब्यापारीहरुले अड्डा जमाएका छन् । सरसफाईदेखि कृषकले उत्पालन गरेको उपज थोक बिक्रीका निमित्त निर्माण गरिएको कृषक चौतारीमा समेत राम्रै चलखेल हुने गरेको बताइएको छ ।
Comments