Sajhamanch Archive

प्रधानमन्त्री कप क्रिकेटमा आज पुलिस र लुम्बिनी तथा एपीएफ र गण्डकी प्रदेश भिड्दै

Published: (Updated: ) in खेलकुद by .

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा बुधबार भएको खेलमा सुदूरपश्चिमलाई ९ विकेटले पराजित गर्दै पुलिसले पहिलो जित हात पारेको छ । पुलिसले त्यही लयलाई निरन्तरता दिन पनि खोजी रहेको  छ । पहिलो खेलमै बागमती प्रदेशसँग पराजित भएकोले पुलिसलाई सेमिफाइनल पुग्न बाँकी खेलहरुमा उत्कृष्ट प्रदर्शनसहित जित आवश्यक रहेको हो ।

कृष्ण कार्कीको कप्तानीमा रहेको लुम्बिनीले भने पहिलो खेलमा प्रदेश २ लाई पराजित गर्दै विजयी सुरुवात गरेको थियो । प्रतियोगितामा लुम्बिनीको यो दोस्रो खेल हुनेछ । कप्तान कार्कीले पहिलो खेल जितेपछि यस पटक आफ्नो टिम विगतमा भन्दा राम्रो रहेको बताएका थिए । उनले एक पटकमा एक खेललाई मात्र ध्यान राखेर खेल्दै जाने बताएका थिए ।

समूह ‘बी’ मा दुवैको समान २ अंक छ । पुलिसले दुई खेल खेल्दा लुम्बिनीले एक खेल खेलेको छ । यस्तै समूह ‘ए’ मा रहेका विभागीय टोली एपीएफ र गण्डकी प्रदेशबीचको खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ । आफ्नो पहिलो खेलमा प्रदेश १ लाई पराजित गरेको एपीएफ लगातार जित हात पार्ने योजनामा छ । शरद भेषवाकरको कप्तानीमा रहेको एपीएफमा अनुभवी र युवा खेलाडीहरुको मिश्रण रहेको छ ।

उता गण्डकीले भने समूहमा तीन वटा खेल खेलिसक्दा एक खेल मात्र जितेको छ । समूह चरणमा गण्डकीको यो अन्तिम खेल हुनेछ । पहिलो खेलमा आर्मीसँग पराजित भएको गण्डकीले दोस्रो खेलमा प्रदेश १ लाई हराएको थियो । तेस्रो खेलमा भने गण्डकी कर्णाली प्रदेशसँग पराजित भएको थियो ।

एपीएफसँग पराजित भएमा गण्डकीको यात्रा समूह चरणबाटै समाप्त हुनेछ । यसअघि नै लगातार तीन खेल हार्दै प्रदेश १ एक खेल अगावै समूह चरणबाटै बाहिरिसकेको छ । गण्डकीले एपीएफलाई पराजित गरेको खण्डमा पनि ४ खेलबाट ४ अंक मात्र हुनेछ र सेमिफाइनलका लागि सो अंक पर्याप्त नहुन सक्छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *