शुक्रबारबाट ‘खतरनाक क्यारेङग्याङ’को सुटिङ सुरु हुने
Published: (Updated: )
by .झापा । कोभिड १९ को खोप नेपाल भित्रिएसँंगै चलचित्रकर्मी पुनः जुर्मुराएका छन् । करिब १० महिनादेखि ठप्प भएको नेपाली चलचित्र उद्योग पुनः उठ्ने प्रयासमा जुटेको हो ।
शुक्रबारबाट झापा लगायत पूर्वी जिल्लाहरुमा नेपाली चलचित्र ‘खतरनाक क्यारेङग्याङ’ सुटिङ हुने भएको छ । बिर्तामोडका हिमाली लिङदेनको निर्देशनमा चलचित्र बन्ने भएको हो । उनी प्रथम लिम्बु महिला निर्देशक पनि हुन् ।
एसएस इन्टरनेश्नल फिल्स प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रका प्रस्तुतकर्ता भुपेन्द्र लिङदेन (मन्त्री) रहेका छन् । सो चलचित्रको कथा, पटकथा, सम्वाद उदय सुब्बाको रहने निर्देशक लिङदेनले बताएकी छन् ।
चलचित्रको मुख्य सहायक निर्देशकमा विश्वराज लिम्बु र अनुराग कट्टेल रहने भएका छन् । विकास चौधरीको संगीत रहने सो चलचित्रमा दुईवटा गीत समावेश गरिने जनाइएको छ ।
राजु किरातीको द्वन्दमा बन्ने चलचित्रमा दिनेश पाख्रिन र ज्ञानु सुब्बाले नृत्य निर्देशक गर्ने चलचित्र निर्देशक लिङदेन बताइन् । अहिलेको नेपाली समाजमा भइरहेका विकृति र विसंगती बिरुद्धमा तयार पारिने चलचित्र एक्सन प्रधान हुने जानकारीसमेत दिइएको छ । यसअघि बनेको ‘क्यारेङग्याङ’ चलचित्र सुपरहिट बने पछि ‘खतरनाक क्यारेङग्याङ’ चलचित्र बन्न लागेको हो ।
उदय सुब्बाको विशेष भूमिका रहेको चलचित्रमा गौरव पहारी, अनुप याक्सो, भुपाल बुढाथोकी, रमा लिम्बु, सन्तु मगर, विश्व मुखिया, जीवन लिम्बु, गजेन्द्र तामाङ, भिष्म ओली, रबिना प्रधान, पुष्प बराल लगायतका कलाकारहरुको अभिनय रहनेछ ।
आधुनिक प्रविधिका उपकरणहरु प्रयोग गरी निर्माण गरिने चलचित्र बनाउन करिब ६० लाख रुपैयाँ खर्च हुने चलचित्रका प्रस्तुतकर्ता भुपेन्द्र लिङदेन (मन्त्री)ले जानकारी दिएका छन् ।
Comments