प्रतिनिधिसभा विघटनविरूद्ध सर्वोच्चमा आज पनि सुनुवाइ जारी
Published:
by .काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज पनि सर्वोच्च अदालतमा बहस हुँदैछ । प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक रहेको भनी परेका १३ रिट निवेदनमाथि निरन्तर सुनुवाइ जारी भएको छ । सर्वोच्चको संवैधानिक इजलासमा आज पनि रिट निवेदकका तर्फबाट नै कानून व्यवसायीहरूले बहस गर्दै छन् ।
शुक्रबार पनि रिट निवेदकका तर्फबाट बहस भएको थियो । बसह नसकिएपछि सुनवाइ हेर्दाहेर्दैमा राखेको थियो । शुक्रबारको सुनुवाइमा अधिवक्ता राजुप्रसाद चापागाईं, कोपिल प्रसाद अधिकारी, सुलोचना धिताल, उमेश प्रसादलगायतले रिट निवेदकहरूका तर्फबाट बहस गरेका थिए । आजको सुनुवाइमा पनि रिट निवेदकहरूकै वकिलले बहस गर्नेछन् ।
उक्त मुद्दामा दर्ता भएका १३ वटा रिटमध्ये शुक्रबारसम्म ५ वटा रिट निवेदनको सुनुवाइ सकिएको छ । अहिले सम्मका बहसमा कानुन व्यवसायीहरुले प्रतिनिधिसभा विघटन पूर्णतः असंवैधानिक कदम भएकाले त्यसलाई सर्वोच्च अदालतले खारेज गर्नुपर्ने र संसद पुनर्स्थापित हुनुपर्ने तर्क गरेका छन् । साथै बहस प्रधानमन्त्रीको विशेषाधिकारमा समेत केन्द्रित भएको थियो, जसअनुसार संसद विघटनको अधिकार नेपालको संविधानले प्रधानमन्त्रीलाई नदिएको तर्क उनीहरूले गरेका छन् ।
Comments