बुधबारदेखि प्रदेश १ मा पनि कोरोनाविरूद्ध खोप लगाइने
Published:
by .विराटनगर । हालसम्म ३० हजार १ सय २१ जना संक्रमित फेला परिसकेको र ४ सय ६५ जनाको ज्यान लिइसकेको प्रदेश १ मा कोरोना संक्रमणविरुद्ध बुधबारदेखि खोप लगाउन सुरु गरिने भएको छ। तर, पहिलो चरणमा सर्वसाधारणले यो मौका नपाउने भएका छन्।
स्वास्थ्यकर्मी, प्रहरी, शव व्यवस्थापन र फोहोर व्यवस्थापनमा खटिएकाहरु गरी पहिलो चरणमा ३५ हजार ५ सय हाराहारीलाई खोप लगाउने तयारी भएको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ।
सबै ठूला सरकारी अस्पतालहरुबाट एकै दिन खोप लगाउन सुरु हुने सामाजिक विकास मन्त्रालयको अस्पताल विकास महाशाखा प्रमुख सागर प्रसाईंले जानकारी दिएका छन् ।
‘खोप आज प्रदेशमा आइपुग्दैछ’ प्रसाईंले भने, ‘अब भोलिसम्म सबै अस्पतालमा पुर्याइनेछ। पर्सीदेखि खोप सुरु हुनेछ।’उनकाअनुसार प्रदेश सरकार, स्थानीय तहहरुबाट अग्रभागमा खटिनेहरुको लगत संकलन भएको छ।
वैशाख ५ गते उदयपुरको भुल्केमा पहिलोपटक १२ जना भारतीयलाई संक्रमण देखिएको कोरोनाले प्रदेश १ लाई साउन ८ पछि आक्रान्त पारेको थियो।
प्रदेश राजधानी विराटनगर यसको सबैभन्दा ठूलो मारमा परेको थियो।
Comments