Sajhamanch Archive

अवचेतनभित्रको एउटा पात्र बारे समीक्षात्मक टिप्पणी

Published: (Updated: ) in साहित्य, by .

गत माघ १० गते बिर्तामोडमा एउटा भव्य समारोहका बीच झापाका तीनजना साहित्य सर्जकका तीनवटा कृतिहरु एकसाथ विमोचन गरियो । प्रगतिशील लेखक संघ झापाले आयोजना गरेको उक्त कार्यक्रममा संघका जिल्ला अध्यक्ष राजेन्द्र संग्रौलाको संक्रमण, निवृत्त प्राध्यापक प्रेमप्रसाद भट्टराईको बोझे इन्स्पेक्टर र प्राज्ञ यज्ञराज प्रसाईको अवचेतनभित्रको एउटा पात्र कृतिको विमोचन गरिएको थियो । उक्त कृतिहरुबारे कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका निवृत्त सहप्राध्यापक चूडामणि वाशिष्ठले संक्षिप्त समीक्षा प्रस्तुत गर्नुभएको थियो । यो स्तम्भमा ती तीनवटै कृतिको समीक्षा क्रमशः प्रकाशन गरिने छ ।

अवचेतनभित्रको एउटा पात्र संग्रहका कथाहरुको ढाँचा गुरुप्रसाद मैनालीको जस्तो जस्तै छ । गाउँले परिवेश, घरभित्रका समस्या, देशको समाजको आँखा नपुगेको ओझेल परेको अध्यारो ठाउँका अशिक्षित असचेत, दुःख पाएका, अन्यायमा परेका, हेपिएका, ठगिएका, लुटिएका मान्छेलाई पात्रको रुपमा टपक्क टिपिएको छ । ती पात्र जसले आफू अन्यायमा परेकै थाहा पाएका छैनन् ।

न्याय पाउन के गर्नुपर्छ त्यो पनि बुझेको छैनन् । त्यस किसिमका पात्रहरुको विगत वर्तमान भविष्य केलाउँदै दु खान्त अवसानसम्मको शब्दचित्र यस संग्रहका कथाहरुमा उतारिएको छ । यस्ता पात्रहरुलाई सचेत बनाएर अन्याय अत्याचारका विरुद्ध ज्यान छोडेर बिरालो झम्टाई जाइलाग्नु पथ्र्थो तर त्यसो चाहिँ हुन सकेको छैन ।

हाम्रो देशमा राजनीतिका तन्त्रै तन्त्रहरुको खात लागिसक्यो, तर कुनै तन्त्र कामयावी हुन सकेन । राजनीतिक आशा निराशामा परिणत भइसकेको छ । अहिले आएर लुटतन्त्र सबैभन्दा जब्वर भएर देखा पर्यो । चुनावमा मतदान गर्ने जनता माछो माछो भ्यागुतो भए । डन, गुण्डा, चङ्खे चतुरे, विचौलिया, तस्कर, दलाल, माफियाहरुकै पेवा बने राजनीतिका सबै तन्त्रहरु भन्ने गुनासो र आक्रोस प्रसाइका कथाहरुमा आएका छन् ।

विसंगति विकृतिहरुलाई शासकहरुले समाप्त पार्नु पथ्र्यो तर यसले शासकहरुलाई समाप्त गर्न लाग्दैछ । सधैं सधैंको आपसी राजनीतिको रडाको खिचातानी तमासा गाईजात्राले गर्दा देशमा विदेशी चलखेल बढेर गयो । जनता निराश भए । देश चलाउने नेता प्रशासक प्राविधिक विकाउ चरित्रका बने ।

वीर शहीदहरुलाई पनि यिनले बिर्सिए । देशले नोकरचाकर र दलाल मात्रै जन्माउन थाल्यो परिणाम स्वरुप तल्लो वर्गका जनताको जीवन तहस नहस भयो । सर्वसाधारण जनताले धेरै दुःख पाए भन्ने गुनासो र आक्रोस नै यस पुस्तकको सारवस्तु हो । यत्रोविधि विसंगतिको डङ्गुर विकृतिको पहाडलाई कसरी उपचार हुन्छ भन्ने सुझाव चाहिँ कथामा आएको छै्रन ।

राजतन्त्र हटेपनि राजाहरु हटेका छैनन् । प्रत्येक दल वा पार्टीहरुमा नयाँ नयाँ राजाहरुको बढोत्तरी भइरहेको छ । सोचमा सामन्ती वचनमा सर्वहारा जस्ता नवधनाढ्यहरुको दोहोरो चरित्रले देश आजित र आक्रान्त बनेको छ । यस चरित्रका मान्छेको अपराधीहरुसँग साँठगाठ छ भन्दै यिनै जोकहरुको चरित्रको भण्डाफोर उनका कथाहरुले गरेका छन् ।

मुठ्ठीभर मान्छेले देश लुटेर बाँकी सबैलाई कंगाल बनाउने गणतान्त्रिक नेपालको आर्थिक दुरावस्था, बेरोजगारी युवाहरु विदेशिनु पर्ने विवशता, विदेशिक रोजगारीबाट उत्पन्न पारिवारिक मनोमालिन्य, परिवारको विघटन, भत्किएका घरहरु, बालक छोराछोरीहरुको रुग्ण मनोविज्ञानको वास्ता नगरी रेमिटेन्सका भाषण डुक्रिँदै जगर ठड्याउने जुरो फुलाउनेहरुलाई प्रसाईंका कथाहरुले नाङ्गेझार पारेका छन् ।

परिवर्तनका नाउँमा नेपाली क्रान्तिले गरेको त्याग तपस्या वलिदान निष्ठा धोकेवाज कमाण्डरका कारण निष्फल भयो । जनयुद्ध प्रतिक्रान्ति र आत्मसमर्पणमा टुङ्गिएको छ । राजनीति, धर्म, जातजाति, भूगोल, थरगोत्र आदि नाउँमा विखण्डनको बाढी चलेको छ । सत्यलाई असत्यले सल्काएको, न्यायलाई अन्यायले चबाएको दृश्य जनता टुलुटुलु हेरिरहेका छन् भन्ने आक्रोशयुक्त गुनासो कथाकारले गर्नु भएको छ ।

धर्मका नाउँमा साम्प्रदायिक दङ्गा गर्ने, धर्मलाई नै भँजाएर खाने, धर्मको खोल ओडेका आडम्बरी ढोंगीहरुको चरित्र नङ्ग्याउँदै दोहोलो काड्ने काम पनि उहाँका कथाहरुले गरेका छन् । अवचेतन भित्रको एउटा पात्र पुस्तकमा बलात्कृत नारीहरुका कथा र आँशु, गरिबीले डढेका पिसोल्टिएका निर्धनहरुका करुण दरुण व्यथा, सासू र सौताका दूव्र्यवहारले नारकीय जीवन बिताउनु परेका नारीहरुको दसा, सामाजिक पारिवारिक अन्यायजस्ता कुरा देखाइएको छ ।

राजनीतिका चतुरेहरुले सुकुम्बासी बसेको पर्ती जग्गा आफ्नो नाउँमा पारेर सिंङ्गासिंङ्गै गाउँ विस्थापित हुनु परेको विडम्वना आदिजस्ता फटाइँ धूत्र्याइँबाट उत्पन्न रोदन क्रन्दनमा कथाकार ज्यादै संवेदनशील बनेर प्रस्तुत हुनु भएको छ । निर्धनहरुका छाप्रा झुप्रामा त्यहाँको अभाव, गरिबी, रोग, भोक, अशिक्षालाई सुन्न बुझ्न वामपन्थी सरकार नपुगेकोमा कथाकारले रोष प्रकट गर्नु भएको छ । शहीद परिवार बेवारिसे भएको छ । द्वन्द्वकालमा लुटिएका पैसा कहाँ छ ? त्यसको उपयोग कसले गर्दैछ भन्ने प्रश्न कथाकारले गर्नु भएको छ ।

यस कथा संग्रहमा अवचेतन भित्रको एउटा यस्तो पात्र छ, त्यसले कथाकारलाई बेचैन बनाएको छ । काठमाडौं गोकर्णको खोंचमा मानसिक पराजय स्वीकार्दै फाल हानेका व्यङ्ग्यकार भैरव अर्याल कथाकारका सपनामा आउँछन् । कथाकार भैरव अर्याललाई भन्नु हुन्छ– यो बेलामा भैरव भइदिएको भए– अहिलेको यौन दुराचार, माफियाहरुको चङ्गुल, विदेशीहरुको चलखेल, आसक्ति बाडी, स्वार्थको सिसताकेर हिंड्ने नेता इत्यादि विषयवस्तुलाई साँधेर खाँदेर कति मिठा व्यङ्ग्यवाण प्रक्षेपण हुन्थे होला भन्ने कल्पना कथाकारको छ । आफ्नै घरगाउँ वरिपरिको परिवेश, महेन्द्र राजमार्ग, जोरसिमल भित्र पटिको सुकुम्बासी बस्तीको आञ्चलिकता कथामा उत्रिएको छ ।

कथामा भाषा सरल सहज छ । कथाकारले कुनै नाम दिएर पात्र उपस्थित गरे पनि उहाँँ स्वयम् नै हो भन्ने स्पष्ट हुन्छ । कथाहरु पुरानै परम्परित ढाँचामै छन् । वर्तमान राजनीतिप्रति असन्तोष आक्रोश जताततै पढ्न पाइन्छ । नेपालमा अहिलेको अवस्था नै रहिरहने हो भने यो देश सिरिया, अफगानिस्थान, सुडानजस्तै बन्न धेरै पखिर्नु पर्दैन भन्ने कथाकारको निष्कर्ष आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *